काठमाडौं । सातको पहिलो दिन सेयर बजार वृद्धिमा ‘ब्रेक’ लागेको छ । आइतबार सेयर बजार १०.४५ अंकले घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ हजार ४९९.९७ अंकमा झरेको छ ।
आइतबार बजार खुल्दा ४२ अंकले बढेको बजार सम्हालिन नसक्दा घट्न पुग्यो । डा. युवराज खतिवडा अर्थमन्त्रीबाट हट्ने निश्चित भएपछि सेयर बजार निरन्तर उकालो लागेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालयको जिम्मेबारी सम्हालेका दिन सेयर बजार ओरालो लागेको छ । बजार घटे पनि आइतबार २ अर्ब ७८ करोड २३ लाख रुपैयाँ बराबरको ७० लाख ३८ हजार ९९० कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
आइतबार नेपाल रि–इन्स्योरेन्स लिमिटेडको सबैभन्दा बढी सेयर किनबेच भएको छ । पछिल्लो समय रि–इन्स्योरेन्सको सेयर बढी कारोबार हुँदै आएको छ ।
आइतबार नेपाल रिको प्रतिकित्ता ८७१ मा ४० करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै नेपाल बैंकको ३०४ रुपैयाँमा ११ करोड ७३ लाख र नेको इन्स्योरेन्स लिमिटेडको ७९० रुपैयाँमा १० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
आइतबार व्यापार र म्युचअल फण्ड बाहेक सबै परिसूचक घटेका छन । बैंक, होटल, जलविद्युत, लघुवित्त, बीमा र उत्पादनमुलकको सेयर मूल्य घटेको छ ।
बजार घटे पनि उन्नती सहकार्य लघुवित्त संस्था लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, जोशी हाइड्रोपावर, राधि विद्युत कम्पनी र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले कमाएका छन ।
