काठमाडौं । कोरोना महामारी र यसले सिर्जना गरेको लकडाउन र यसपछिको निषेधाज्ञाले समस्या आएको भन्दै उद्योगी व्यवसायीहरुले सरकारसंग थप सहुलित मागेका छन ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीले आइतबार अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी थप सहुलियत दिन माग गरेका हुन् ।
सो अवसरमा उद्योग व्यवसायी प्रतिनिधिमण्डलले ऋणको ब्याज र बिजुलीमा छुटका साथै कर्मचारीको तलव आधा व्योहर्न सरकारलाई अनुरोध गरेको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए ।
उनले ५० लाख रुपैयाँसम्म ऋणीको ब्याजमा ५० प्रतिशत र बिजुली महशुलमा २० प्रतिशत छुट दिन माग गरेको जानकारी दिए । यसका साथै व्यवसायिक प्रतिष्ठानमा कार्यरत कर्मचारीको ५० प्रतिशत तलव व्योहर्न आग्रह समेत आग्रह गरिएको वरिष्ठ उपाध्यक्ष गोल्छाले जानकारी दिए ।
प्रधानमन्त्री र उद्योगी व्यवसायीको बैठक पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको रोहवरमा भएको थियो । उद्योगी व्यवसायीहरुले धमाधम सहुलियत मागेपछि पूर्वअर्थमन्त्री डा. खतिवडाले सरकारले मागेको जति छुट दिन्छ, तपाइँहरु बढी कर तिर्नुहुन्छ ? भनेर प्रश्न गरेका थिए । उनले राज्यबाट बढी सुविधा लिनेले कर पनि बढी तिर्नुपर्ने तर्क गरेका थिए ।
अर्थको समेत कार्यभार सम्हालेका दिन प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीलाई निवासमा भेट्न बोलाएका थिए ।
सो अवसरमा महासंघकी अध्यक्ष भवानी राणाले आर्थिक क्रियाकलापलाई खुकुलो बनाउन सुझाव दिएकी थिइन ।
उनीले बन्दबन्दी (लकडाउन) गरेर मात्र कोरोना नियन्त्रणमा आउन नसक्ने देखिएको जानकारी प्रधानमन्त्रीलाई गराएकी थिइन । पुर्नकर्जा कोष बढाएर २ खर्ब रुपैयाँ पुर्याउन, साना तथा मझौला व्यवसायीलाई ब्याजमा ५० प्रतिशत छुट दिन राणाले माग गरिन ।
महासंघले परिस्थिती सहज नहुँदासम्म विद्युतको डिमाण्ड शुल्क छुटलाई निरन्तरता दिनुपर्ने माग गरेको छ ।
महासंघले बैंकको ब्याज ३ वर्षसम्म ७ प्रतिशत नबढ्ने गरेर स्थिर राख्नुपर्ने तथा सावाँ तथा सोको ब्याज ३ वर्षसम्म तिर्ने समय पुनरसंरचना गर्नुपर्ने माग राखेको छ ।