×

जयश्री फुडको व्यापारमा चमक, ९ महिनामा गर्यो २ अर्ब २७ करोडको व्यापार

images

काठमाडौं । निजी लगानीमा सञ्चालित जयश्री फुड प्राइभेट लिमिटेडको व्यापारमा चमक आएको छ । उद्योगले सन् २०२१ मा चामल बेचेर २ अर्ब ८२ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

सन् २०२० मा उद्योगले २ अर्ब ६४ करोड ८० लाख रुपैयाँको खाद्यन्न बिक्री गरेको थियो । यो वृद्धि झण्डै ७ प्रतिशत हो ।  यस्तै सन् २०१९ मा जयश्रीको कारोबार २ अर्ब २४ करोड ४० लाख रुपैयाँ भएको थियो । 

नौ महिनाको अवधिमा उद्योगले २ अर्ब २७ करोड रुपैयाँ व्यापार गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो । कम मूल्य अभिवृद्धि र तीव्र बजार प्रतिस्पर्धाका कारण उद्योगको नाफा मार्जिन मध्यम रहेको छ ।

उद्योगको उत्पादनमा परिवर्तनको कारणले मार्जिन ६५ विन्दु प्रतिशतले घटेर ५.२६ प्रतिशत रहेको छ । तुलनात्मक रूपमा कम मार्जिन भएका कम मूल्यका चामल उत्पादनहरूको मिश्रण र उच्च बिक्री र खुद नाफामा सुधार आएको छ ।

सन २००९ मा नवलपरासीको गैंडाकोटमा स्थापना भएको उद्योगले धानलाई प्रशोधन गरेर चामल उत्पादन गर्दै आएको छ । उद्योगले लङग्रेन, जिरा र सवा राइसको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

उद्योगले भान्साघर र मंगलम ब्राण्डमा चामलको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उद्योगको चामल १ देखि ३० किलोको प्याकमा रहेको छ । 

जयश्री फुडले १ अर्ब रुपैयाँ ऋणको रेटिङ गराएको छ । केयर रेटिङस नेपाल लिमिटेडले जयश्रीको ऋणलाई केयर एनपी ए थ्री रेटिङ दिएको छ । यसबीचमा उद्योगको ऋण बढेर ४६ करोड ६० लाख रुपैयाँ पुगेको छ । सन् २०२० मा ४० करोड ३० लाख रुपैयाँ ऋण थियो । 

उद्योगको सञ्चालकमा पवनकुमार अग्रवाल र सुमन अग्रवाल रहेका छन् । पवन जयश्रीको प्रवन्ध सञ्चालक हुन् । अग्रवालको खाद्य प्रशोधन र व्यापारमा तीन दशकको अनुभव रहेको छ ।

उद्योगको देशभरि ६०० भन्दा बढी साना र ठूला बिक्रेताहरु छन् । भारतीय सीमा नजिक उद्योग भएकाले कच्चावस्तु आयात लागत केही सस्तो हुन गई उद्योगले लाभ पाउने गरेको छ । 


 

आइतबार​ १९ असार २०७९ ०२:३९ PM मा प्रकाशित

प्रतिक्रिया