×

नामसारी भइसकेका गाडीको भुक्तानीमा बैंकको अटेरीः तरलता अभावको बहाना बैंकलाई चल्ने, ऋणीलाई नचल्ने ?

images

काठमाडौं । बैंक र ग्राहकका नाममा नामसारी भइसकेका गाडीको भुक्तानी गर्नसमेत बैंक तथा वित्तीय संस्थाहरुले अटेरी गरिरहेका छन् । 

बैंक तथा वित्तीय संस्थाहरुले डेलिभरी अर्डर (डीओ) दिएपछि उनीहरुका नाममा गाडी नामसारी भइसक्दासमेत बैंकहरुले गाडी बिक्रेताहरुलाई महिनौं दिनसम्म भुक्तानी नगरेको पाइएको छ ।

गाडी बिक्रेताहरुले बैंकलाई नामसारी भइसकेका गाडीको भुक्तानी दिन बारम्बार ताकेता गर्दा उनीहरुले ‘तरलता अभाव भएको तपाईहरुलाईं थाहा छैन’ भन्ने जवाफ पर्काउने गरेका छन् । 

‘डेलिभरी अर्डर आफैं दिने, बैंक तथा ग्राहकको नाममा गाडी नामसारी गर्न उनीहरु नै लगाउने । तर, गाडी नामसारी भइसकेपछि महिनौंसम्म त्यसको भुक्तानी नदिने ?’, नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष ध्रुव थापा भन्छन्, ‘नामसारी भइसकेका गाडीको भुक्तानी माग्दा तरलता अभावको बहाना देखाउँछन् । यदि भुक्तानी दिनै नसकिने अवस्था हो भने डेलिभरी अर्डरको अनुमति किन दिने ?’ 

बैंक तथा वित्तीय संस्थाले महिनाैं नामसारी भइसकेका गाडीको भुक्तानी नदिएको भन्दै केही आयातकर्ता व्यापारीले नेपाल राष्ट्र बैंकमा समेत उजुरी हालेका छन् । राष्ट्र बैंकको नियमअनुसार गाडी नामसारी गरेको ७ देखि १० दिनभित्र बैंकले भुक्तानी गरिसक्नुपर्छ । 

तर, बैंकहले ४० दिनसम्म भुक्तानी नगरेको व्यवसायीहरु बताउँछन् । 

‘हामीले पनि एलसी खोलेर गाडी मगाएका  हुन्छौं । बैंकले नै एलसी खोलिलिएको हुन्छ । एलसी खोलेको दिनदेखि उनीहरु ब्याज लिन्छन् । हामीलाई भुक्तानी गर्नुपर्ने रकम ४०-४० दिनसम्म नदिँदा हाम्रो ब्याज लाग्दैन ?’, थापाले प्रश्न गरे, ‘उनीहरुले मात्रै भोगिरहेका छन् तरलता अभावको समस्या ? ऋणीले तरलता अभाव देखाएर बैंकलाई बुझाउनुपर्ने सावाँ ब्याज बुझाएन भने बैंक चुप लाग्छ ?’ 

अहिले बैंकले बजारमा लगानीयोग्य रकमको अभाव देखाएर कुनै पनि व्यवसायीको रकम भुक्तानी गरेका छैनन् । 

राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले सम्पूर्ण प्रक्रिया पूरा भइसकेपछि बैंकले लामो समयसम्म भुक्तानी रोक्न नहुने बताए । ‘केन्द्रीय बैंकमा पनि यस विषयमा केही गुनासाहरु आएका छन्’, उनले भने, ‘ती गुनासाहरु हेरेर थप कारबाही प्रक्रिया अघि बढाउँछौं ।’ 

गाडी नामसारी भएर बैंक र ग्राहकको नाममा आइसकेपछि बिक्रेतालाई बैंकले भुक्तानी गर्नुपर्ने रकम लामो समयसम्म रोक्नु कानुनविपरीत भएको भट्टको भनाइ छ ।

डेलिभरी अर्डर दिएपछि बैंक र ग्राहक दुवैको नाममा गाडी नामसारी हुन्छ । व्यवसायीका अनुसार सुरुमा बैंकले गाडी नामसारी गर्नमै एकदेखि डेढ महिना ढिला गरिदियो । आवश्यक प्रक्रिया पूरा गरेपछि केन्द्रीय बैंकको नियमअनुसार ७ देखि १० दिनभित्र बैंकले गाडी बेच्नेहरुलाई भुक्तानी गर्नुपर्छ । तर, गाडी नामसारी भइसकेको दुई÷दुई महिनासम्म भुक्तानी नभएको उनीहरु बताउँछन् । 

‘यदि कुनै ऋणीले ऋण लिएर समयमा सावाँ ब्याज भुक्तानी गरेन भने उक्त ऋणीलाई बैंकले पेनाल्टी चार्ज लगाउँछ । तर, उसले ७ दिनभित्र भुक्तानी नगर्दा यसलाई पेनाल्टी चार्ज लाग्दैन ? बैंकले तिर्नुपर्ने पैसा जहिले तिर्दा पनि हुने ? ऋणीलाई तरलता अभाव लाग्दैन । बैंकलाई मात्रै लाग्छ ?’, ती व्यवसायीले प्रश्न गरे । 

‘यदि भुक्तानी गर्न नसक्ने भए किन डेलिभरी अर्डर दिएको ? बैंकको नाममा गाडी नामसारी भइसक्यो । कम्पनीले पनि बैंकबाटै ऋण लिएर गाडीको एलसी खोलेको हुन्छ’, थापाले भने, ‘बैंकले समयमा भुक्तानी नगर्दा उसलाई कुनै पेनाल्टी वा ब्याज नलाग्ने । त्यही काम ऋणीले गर्न पाउँछ ? तरलता अभाव छ भनेर उसले सावाँ ब्याज भुक्तानी नगर्दा बैंकले छाड्छ ?’ 

नेपाल बैकर्स एसोसिएसनका अध्यक्ष अनिल उपाध्यायले बैंकहरुले भुक्तानी आनाकानी गर्न नहुने बताए । ‘बैंक र अटो व्यवसायी दुवै व्यापार गर्न बसेका हुन् । एउटालाई अप्ठ्यारोमा पारेर अर्कोले नाफा कमाउनु हुँदैन’, उनले भने, ‘एक–दुई दिन भन्ने कुरा बेग्लै हो, तर लामो समयसम्म ड्यु राख्नुहुँदैन ।’
 

आइतबार​ १९ असार २०७९ १२:१९ PM मा प्रकाशित

प्रतिक्रिया