×

नबिलको सीईओ बन्ने भएपछि ज्ञानेन्द्र ढुंगानाद्वारा एनबीका कर्मचारीलाई ‘डिमोसन’ को प्रयास 

images

काठमाडौं । निजी क्षेत्रकै पहिलो नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंक मर्जको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मर्ज प्रक्रिया अघि बढेसँगै एनबीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानालाई पनि नबिल बैंकमा सीईओे बनाउने प्रक्रिया अघि बढाइएको छ ।  

नबिलका सीईओ अनिलकेशरी शाहको ४ वर्षे कार्यकाल असारको पहिलो साता सकिने भएपछि अनिलको ठाउँमा ढुंगानालाई ल्याउन लागिएको हो । नबिलले शाहलाई अर्को कार्यकालका लागि दोहोर्याउने संकेत नदिएपछि शाह पनि धेरै वर्ष कार्यकारी तहमा रहेर काम गरिसकेकाले अब कार्यकारी पद लिन नचाहेको बताउन थालेका छन् । 

शाहको कार्यकाल सकिएर ढुंगाना नभित्रिएसम्मको अवधिमा नबिलका सुजित शाक्यले निमित्त सीईओको जिम्मेवारी सम्हाल्नेछन् । 

नबिल र एनबी बैंकको मर्जर कमिटी सदस्यसमेत रहेका ढुंगानाले गत पुसमा एनबीबाट अवकाश पाएका थिए । एनबीमा अहिले भूपेन्द्र पाण्डेले कायममुकायम सीईओको जिम्मेवारी सम्हालिरहेका छन् । तर, सीईओ नभए पनि ढुंगाना नियमित कार्यालय मात्रै गएका छैनन्, सीईओकै क्याबिनमा बसेर मर्जरका लागि काम गरिरहेका छन् । 

ढुंगानाले गत साता नै मर्जपछि बनेको एकीकृत बैंकको रणनीति र व्यावसायिक योजनाका बारेमा नबिलका मुख्य लगानीकर्ता विनोद चौधरीसहित सञ्चालक समिति (बोर्ड) र उच्च व्यवस्थापकहरुलाई ‘बिफ्रिङ’ गरिसकेका छन् । 

ढुंगानालाई असार १७ गते सीईओको रुपमा भित्राउने नबिल व्यवस्थापनको तयारी छ । 

ढुंगाना सीईओ भएपछि नबिलमा ४ जना नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहने छन् । नबिलमै रहेका डिसीईओ शाक्य, मनोज ज्ञवाली, विनय रेग्मीसँगै एनबीका वरिष्ठ डीसीईओ भूपेन्द्र पाण्डे पनि मर्जपछि डीसीईओ बन्ने छन् । तर, योग्यताक्रम निर्धारण भने अझै भइसकेको छैन । 

ढुंगाना सीईओ बन्ने भएपछि नबिलका उच्च केही व्यवस्थापकहरुमा असन्तुष्टि देखिएको छ । एनबीमा ढुंगानाको कार्यशैली, संस्थागत सुशासनप्रतिको जिम्मेवारीबोधको अभाव र अपारदर्शी ऋण प्रवाहका कारण नबिलका उच्च व्यवस्थापकहरु सीईओ स्वीकार्न अन्कनाइरहेका छन् । 

यसले मर्जरपछिको नबिलमा ‘टिमअप’ गर्न कठिन हुने बुझाइ दुवै बैंकका व्यवस्थापकहरुको छ ।

त्यसो त ढुंगानाले आफू सीईओ हुन एनबीमा कार्यरत कर्मचारीको एक पद घटुवा गराउने रणनीति बनाएको कर्मचारीहरुको आरोप छ । जसले गर्दा एनबीका कर्मचारीहरु आन्दोलित पनि भए । तर, समान हैसियत र समान तहका कर्मचारीहरुलाई ‘डिमोसन’ गरी अर्को बैंकमा लैजान खोज्नु कानुनी रुपमा पनि सान्दर्भिक हुँदैन । नबिलमा सीईओ बन्ने निश्चित भएकै कारण ढुंगानाले एनबीको सीईओ छोडे पनि नियमित बैंकमा आएर कर्मचारीलाई निर्देशन दिने र आफूले भनेको नमान्ने कर्मचारीहरुलाई धम्कीसमेत दिने गरेको आरोप एनबीका कर्मचारीहरुको छ । 

ढुंगानाले नबिलको सीईओ हुने बाटो खुलाउन एनबीको फोर्स लोनलाई पनि नयाँ लोन दिन लगाएर क्लिन स्टायटस देखाउने गरि कर्मचारीलाई प्रेसर दिने काम ढुंगानाले गरिरहेका छन् । जुन राष्ट बैंकको निर्देशन विपरित रहेको आरोप कर्मचारीहरुको छ । एनबी बैंकमा ‘ग्यारेन्टी बिजनेस’ को आकार ठूलो भएको र त्यसको व्यवस्थापनका लागि एक वर्ष भए पनि ढुंगानालाई सीईओ दिनुपर्ने दबाबमा नबिल रहेको धेरैको बुझाइ छ । 

एनबी बैंक कर्मचारी युनियनका अध्यक्ष योगेश श्रेष्ठले कर्मचारी समायोजनमा सुविधा र पद नघट्ने विषयमा व्यवस्थापनलाई ध्यानाकर्षण गराइएको बताए । 

‘एनबीका कर्मचारीको एक पद घटुवा हुने मौखिक कुरा सुन्यौं, जुन मान्य हुँदैन । थप प्रष्टता र प्रतिबद्धताका लागि सञ्चालक समिति र व्यवस्थापनसमक्ष कुरा राखिसकेका छौं’, श्रेष्ठले भने । 
 

मङ्गलबार २७ बैशाख २०७९ ०२:१७ PM मा प्रकाशित

प्रतिक्रिया