×

नबिलसँग एनसीसी बैंक गाभिने तरखरमा, ५० प्रतिशत दिन नबिल तयार

images

काठमाडौं । नबिल बैंकसँग नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक पनि गाभिने (मर्ज) सम्भावना बढेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मेगा बैंक गाभ्ने सहमति गरेको केही दिनमै ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडू (बीओके) ले मर्ज हुने सहमति गरेका थिए । त्यसलगत्तै नबिलले एनसीसीलाई दिने विषयमा छलफल गरेको थियो । 

एनसीसीले नबिलको १०० बराबर ६० मागेको थियो । तर, नबिलले ४५ को प्रस्ताव गरेको थियो । अहिले नबिल ५ माथि बढेर ५० दिन सहमत भइसकेको एनसीसीका एक उच्च अधिकारीले बताए । 

उद्योगपति विनोद चौधरीले नबिलका हुने वाला प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानालाई ५० मा एनसीसी आउने भए पक्का गर्न भनिसकेका छन् । एनसीसी पनि नबिलमै जान इच्छुक देखिएको छ । 

नबिलले एनबी बैंकलाई गाभेपछि देशकै ठूलो बैंक बनेको थियो । तर, नेपाल इन्भेष्टमेन्ट र मेगा मर्ज भएपछि नबिल दोस्रोमा झरेको थियो । ग्लोबल र बीओके मर्ज गर्ने सहमति भएसँगै नबिल तेस्रो स्थानमा पुग्ने भएपछि एनसीसीलाई ५० दिएर भए पनि गाभ्न चौधरी इच्छुक देखिएका हुन् । 

एनसीसी पनि नबिलसँगै जान उत्सुक छ । तर, सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) को बारेमा निरन्तर नेगोसिएसन भइरहेको छ । चौधरीले नबिललाई देशकै ठूलो बैंक बनाउने उद्देश्यले लिएका छन् ।

उसै पनि एनसीसीप्रति चौधरीको मोह पहिल्यै देखिको हो । उनले एनबीभन्दा पहिला पनि एनसीसीमै आँखा लगाएका थिए । तर, केही लगानीकर्ताले अड्चन थापेकाले चौधरीले एनबीलाई लिएका थिए । 

एनसीसीका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानले मर्जका विषयमा विभिन्न बैंकहरुसँग छलफल चलिरहेको बताए । जसले राम्रो मूल्य दिन्छ उसैसँग मर्जमा जाने उनको भनाई छ । “बैंकको नेटवर्थ १८६ रुपैयाँ भएको अवस्थामा हाम्रो राम्रो मूल्यको दाबी हुन्छ” उनले भने ।

एनसीसीको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ छ । 

आइतबार​ ५ असार २०७९ १०:३५ AM मा प्रकाशित

प्रतिक्रिया