×

दसैंको मुखमा २० कम्पनीले गरे लाभांश घोषणा, कसको कति ? 

images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत डेढ दर्जन कम्पनीले दसैंकको मुखमा आएर सेयरधनीलाई लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गर्नेमा चार बिमा, दुई जलविद्युत कम्पनी, एक उत्पादनमूलक र बाँकी १३ सामूहिक लगानी कोष (म्युचुअल फन्ड) छन् । यी कम्पनीहरुले दसैं र तिहारपछि मात्र सेयरधनीहरुलाई लाभांश दिने भएका छन् । 

चार बिमा कम्पनीले आर्थिक वर्ष ०७७/७८ को नाफाबाट लाभांश घोषणा गरेका हुन् । त्यस्तै दुई जलविद्युतसहित १५ कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने बिमा कम्पनीमध्ये सबैभन्दा बढी नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छ । नेसनल लाइफले १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले १५.७८९ प्रतिशत नगद प्रस्ताव गरेको छ । चुक्ता पुँजी बढाउन कम्पनीले सेयरधनीहरुलाई बोनस सेयर दिने प्रस्ताव गरेको हो । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ दशमलव २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसअनुसार १४.५० प्रतिशत बोनस सेयर र ०.७६ प्रतिशत नगद लाभांश दिने भएको छ । यसैगरी  गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७.८३ प्रतिशत लाभांश घोषणा गरेको छ । गुराँसले ७.४४ प्रतिशत बोनस सेयर र ०.३९ प्रतिशत नगद लाभांश दिने भएको छ ।  

यसैगरी नेपाल ल्युब आयल लिमिटेडले ३० प्रतिशत लाभांश घोषणा गरेको छ । जसअनुसार २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव कम्पनीको छ । 

एसियन लाइफ इन्स्योस र गुराँस लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्न सेयर दर्ता पुस्तिका (बुक क्लोज) गरिसकेको छन । नेपाल लाइफ इन्स्योरेन्स र नेसनल लाइफ इन्स्योरेन्सले बुक क्लोज गरेका छैनन् । 

नेप्सेमा सूचीकृत पब्लिक कम्पनीले हरेक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र गत आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

साधारणसभाले लाभांश प्रस्ताव पारित गरेपश्चात कम्पनीले सेयरधनीलाई लाभांश घोषणा वितरण गर्नेछन् । बिमा समितिले बिमा कम्पनीले लाभांश स्वीकृत गरेपछि वार्षिक साधारणसभा पेस हुने छ । सभाले पारित गरेपछि सेयरधनीहरुले लाभांश पाउने छन् । 

गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने अरुण काबेली  पावर लिमिटेडले १० प्रतिशत र सानिमा माइ हाइड्रोपावरले ५.२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । अरुण कावेलीले बोनस सेयर मात्र दिने प्रस्ताव गरेको छ भने सानिमाले नगद लाभांश दिने भएको छ ।  

त्यस्तै १० म्युचुअल फन्डले ४.२ प्रतिशतदेखि अधिकतम ५५ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् । साथै, तीन क्यापिटल कम्पनीले समेत लाभांश प्रस्ताव गरेका छन् । एनआईसी एसिया क्यापिटलले ५५ प्रतिशत, सानिमा क्यापिटलले १५.७८९ प्रतिशत र कुमारी क्यापिटलले ५ प्रतिशत लाभांश घोषणा गरेको छ । 

सानिमा इक्वीटी फन्डले २२ प्रतिशत, सनराइज फस्ट म्युचुअल फन्डले १२ प्रतिशत, एनआईबिएल सहभागिता फन्ड ७.२ प्रतिशत, एनआईबिएल प्रगति फन्डले ४.२ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ योजना–२ ले १० प्रतिशत र सिद्धार्थ इक्वीटी फन्डले ९ प्रतिशत लाभांश घोषणा गरेको छ । 

त्यसैगरी एनएमबी–५० ले २१.०५२ प्रतिशत, एनएमबी हाइब्रिड फन्ड एल–१ ले २१.०५२ प्रतिशत, लक्ष्मी इक्वीटी फन्डले ५ प्रतिशत एनआईसी एसिया क्यापिटलले ५५ प्रतिशत र लक्ष्मी उन्नती कोषले ५ प्रतिशत लाभांश घोषणा गरेका छन् । 

 

बुधबार ५ असोज २०७९ ११:०३ AM मा प्रकाशित

प्रतिक्रिया