काठमाडौं। अमेरिका र चीनबीचको पछिल्लो व्यापार वार्ता शनिबार मलेसियाको राजधानी क्वालालम्पुरमा सुरु भएको छ।
अमेरिकी अर्थ मन्त्रालयका प्रवक्ता र बेइजिङको सरकारी मिडियाले उक्त वार्ताको पुष्टि गरेका छन्। यो वार्ता आगामी हप्ता दक्षिण कोरियामा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको बहुप्रतिक्षित भेटको पूर्वतयारी स्वरूप प्रारम्भ गरिएको बताइएको छ।
बेइजिङको वाणिज्य मन्त्रालयका अनुसार उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डल मलेसियामा सोमबारसम्म रहने छ।
एएफपीका संवाददाताहरूले हे लिफेङ र उनको टोलीलाई विश्वकै दोस्रो अग्लो भवन ‘मर्डेका ११८’ मा प्रवेश गर्दै देखेका थिए। उनीहरू पत्रकारसँग कुनै टिप्पणी नगरी भवनको लबी हुँदै माथिल्लो तलातर्फ गएका थिए।
अमेरिकी प्रतिनिधि मण्डलले भने छुट्टै प्रवेशद्वार प्रयोग गरेको थियो। भवनका कर्मचारीका अनुसार दुई देशका प्रतिनिधि ९२औँ तलामा औपचारिक बैठकमा सहभागी छन्।
विश्वका दुई ठूला अर्थतन्त्र पछिल्ला वर्षहरूमा चलेको प्रतिशोधात्मक कर युद्धबाट थप हानि बेहोर्नु नपरोस् भनेर सहमतिको खोजीमा छन्। राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीबीचको भेट आगामी बिहीबार दक्षिण कोरियामा आयोजना हुने एसिया-प्यासिफिक आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा हुने अपेक्षा गरिएको छ।
राष्ट्रपति ट्रम्पले केही दिनअघि उक्त बैठक रद्द गर्न सक्ने चेतावनी दिए पनि उनले पुनः चीनसँग ‘राम्रो सम्झौता’ गर्न चाहने र व्यापार युद्ध अन्त्य गर्ने आशा प्रकट गरेका थिए।
अमेरिकी अर्थ मन्त्रालयका प्रवक्ताले शनिबार वार्ता औपचारिक रूपमा प्रारम्भ भएको पुष्टि गरे। चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पनि दुई देशका प्रतिनिधि मण्डलबीच ‘बैठक भएको’ उल्लेख गरेको छ।
यसैबीच, बेइजिङले हालै आफ्नो दुर्लभ पृथ्वी (खनिज तत्व) उद्योगमा व्यापक नियन्त्रण लगाउने निर्णय गरेपछि वासिङ्टनले त्यसको प्रतिकारमा चीनबाट आयात हुने सामानमा १०० प्रतिशतसम्म कर लगाउने धम्की दिएको थियो।
दुवै देशले एकअर्काका जहाजमा आगमन शुल्क लगाउन थालेका छन्। अमेरिकी ‘धारा ३०१’ अनुसन्धानले उक्त उद्योगमा चीनको प्रभुत्व अनुचित भएको निष्कर्ष निकालेपछि तनाव झनै बढेको हो।