×

सिंगो अर्थतन्त्रलाई सेयर बजारसँग तुलना गर्नुहुँदैन-गभर्नर अधिकारी

images

काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले सिंगो अर्थतन्त्रको अवस्थालाई सेयर सग तुलना गर्न नमिल्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङले आयोजनामा गरेको अन्तरक्रियामा बोल्दै अधिकारीले आयात बढेकै कारण समस्या परेको बताउँदै सेयर बजारलाई हरेक विषयमा तुलना गर्न नहुने बताए ।

अनुउत्पादक क्षेत्रमा हुने लगानी रोक्न राष्ट्र बैकको निति निरन्तरता रहेको उनको भनाई छ ।अहिले नेपालको अर्थतन्त्र समस्या उन्मुख रहेकोले सबै जना सचेत रहनु पर्ने बताए । अहिले डलर संचितिमा केही सुधार भएपनि उत्साहजनक हुनुपर्ने बताए ।

कार्यक्रममा अधिकारीले एलसी खोल्दा नगद मार्जिनको नीति लिएपछि व्यवसायीले भन्सारको बाटो छलेर सामान ल्याइरहेको समेत गभर्नर अधिकारीले आशंका व्यक्त गरे ।

‘आजका दिनमा अर्थतन्त्रको अवस्था सकारात्मक छैन । एकै वर्षमा २ /३ अर्ब डलरको रिजर्भ घट्नु गम्भीर विषय हो । सधैँ हामीले यो समस्या झेल्न सक्दैनौँ ,’ गभर्नर अधिकारीले उद्योगी व्यवसायीलाई भने, ‘अहिले नाफा कमाउनेभन्दा पनि अर्थतन्त्र जोगाउने समय हो । सर्तक भएर काम गर्नुपर्ने छ ।’

आर्थिक अवस्था सहज बनाउन केन्द्रीय बैंकले हदै सम्मको इन्टरभेन्सन गरेकाले व्यवसायीबाट समेत संकटको अवस्थामा सहयोग हुनु पर्ने बताए ।

पछिल्लो समय कोरोना महामारीपछि बजारमा माग बढेको अनुपातमा आपूर्ति बढ्न नसक्दा अर्थतन्त्रमा समस्या देखिएको गभर्नर अधिकारीको भनाइ छ ।

‘कोरोनापछि उपभोग अत्याधिक बढेको देखिन्छ । उच्च दरमा माग बढ्दा संसारभर मूल्य बढेको छ’, अधिकारीले भने, ‘जस्तो टर्कीमा औषतमा ७० प्रतिशतले मूल्य बढेको छ । ४० वर्षपछि अमेरिकामा ८ प्रतिशले मूल्य बढेको छ । युरोपमा २५ वर्षपछि ५ प्रतिशतले मुल्य बढेको छ ।’

कोरोना महामारीपछि उपभोग बढेको अनुपातमा उत्पादन नबढ्दा संसारका सबै धनी गरिब देशलाई मूल्यवृद्धी असर गरिरहेको अधिकारीको भनाइ छ ।

आइतबार​ ८ जेठ २०७९ ०४:४० PM मा प्रकाशित

प्रतिक्रिया