काठमाडौं । संसदीय उच्चस्तरीय छानबिन समितिबाट जनार्दन शर्माको कर्तुतलाई वैधानिकता दिएर चोख्याएसँगै उनी नै अर्थमन्त्रीको रुपमा दोस्रो पटक अर्थ मन्त्रालय भित्रिने पक्कापक्की भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसम्म उनैलाई अर्थमन्त्रीमा ल्याउन चाहिरहेका बेला एमालेले समेत उनलाई निर्दोष ठहर्याए पछि शर्मा नै दोस्रो पटक अर्थमन्त्रीको रुपमा फर्किने भएका हुन् ।
जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई प्रवेश गराएर बजेट निर्माण सहभागी गराएको आरोप लागेपछि उनीमाथि संसदीय छानबिन समिति बनेको थियो । सो समितिले शर्मालाई निर्दोष देखाएपछि दोस्रो पटक मन्त्रालय प्रवेशको तयारी भइरहेको छ ।
देउवा र प्रचण्डले जे चाहेका थिए, संसदीय समितिले सोही प्रतिवेदन बनाएपछि देउवालाई दोस्रो पटक उनैलाई अर्थमन्त्रीका रूपमा भित्र्याउन थप सहज भएको कांग्रेसका नेताहरु बताउँछन् ।
तर, शर्मा दोस्रो पटक मन्त्रालय प्रवेश गर्ने हल्ला चलेपछि केही कर्मचारी सरुवा मागेर अन्यत्र जाने तयारीमा छन् । खासगरी, अर्थका अनुभवीहरु आफ्नो करिअरप्रति थप चिन्तित हुँदै अर्थबाट सरुवा लिएर जान लागेका हुन् । ‘बरु आफूहरु जगेडामा बस्न तयार छौं, शर्माको नेतृत्वमा अर्थमा बस्न सकिन्न,’ अर्थका एक अधिकारीले भने, ‘शर्मा राजनीतिक व्यक्ति हुन्, जसरी पनि उम्किन्छन्, हामी सक्दैनौं ।
बरु अहिल्यै सरुवा मागेर अन्यत्र गयो भने भोलिको भविष्य सुरक्षित हुन्छ ।’ अर्थबाट ४ जना सहसचिव, केही अधिकृत सरुवा लिँदै छन् । शर्मा अर्थमन्त्री भएर भित्रिएको एक हप्ताभित्र उनीहरु त्यहाँबाट अन्यत्र गइसक्ने बुझिएको छ ।
अर्थमा अधिकृतदेखि सहसचिवसम्मले सरुवा लिएर अर्थबाट भाग्न खोजिरहेका छन् । सहसचिवहरु नै सरुवा हुने मनस्थितिमा पुगेपछि अर्थसचिव मधुकुमार मरासिनी पनि दोधारमा परेका छन् । अर्थमन्त्री शर्माले राजीनामा दिनु केही समयअघि आफू जनार्दन शर्मा अर्थमा रहुन्जेल नआउने भन्दै बिदामा बसेका मरासिनी भोलिपल्टै अर्थ मन्त्रालय फर्किएका थिए ।
पुनः शर्मा अर्थमा फर्किने भएपछि उनी पनि बस्ने वा नबस्ने दुविधामा रहेको अर्थकै अधिकारीहरु बताउँछन् । बिदामा बस्नुअघि मरासिनीले मुख्यसचिव शंकरदास बैरागीसँग छानबिन समितिलाई सत्य बयान दिने बताएका थिए । तर, पछि छानबिन समितिले उनीसँग बयान लिँदा शर्मालाई जोगाउने गरी बयान दिएका थिए ।
समितिलाई सबै सत्य कुरा बताउने भनेर बिदामा बसेका मरासिनी देउवाको आग्रहपछि पुनः अर्थमै फर्किएका थिए । देउवाले पनि अन्य कर्मचारीलाई अर्थको जिम्मेवारी दिँदा शर्माका सबै कर्तुत बाहिर जाने भएकाले उनैलाई मन्त्रालय फर्काएका थिए ।
नयाँलाई अर्थमन्त्रीको जिम्मेवारी दिँदा पनि शर्माविरुद्ध प्रमाणहरु जुट्न सहज हुने भएकाले देउवा नै अर्थको जिम्मेवारी अरुलाई दिएका थिएनन् । देउवाले अर्थ आफैंसँग राख्ने भएको भोलिपल्टै शर्माले अर्थका उच्च अधिकारीलाई फोन गरेर छानबिन सकिने बित्तिकै आफू पुनः अर्थमन्त्रीका रूपमा भित्रिने र त्यसैअनुरुप बाहिर बोल्न कर्मचारीलाई भनेका थिए ।
अर्थमन्त्री शर्मा नै हुने पहिल्यै निश्चित भएपछि कर्मचारीले पनि भएको प्रमाणसमेत समितिलाई दिएनन् । र, समितिको इच्छा पनि संसदीय समितिबाटै शर्मालाई चोख्याउने मनसाय रहेको नेताहरु बताउँछन् ।
छानबिन समिति गठन भएको पहिलो १० दिनसम्म एमालेबाट सदस्य बनेकाहरु प्रमाण जुटाउन कसिएर लागेका थिए । तर, पछिल्लो थपिएको ७ दिनमा परिस्थितिले नयाँ मोड लिएपछि एमालेले पनि शर्मालाई जोगाउनेतर्फ लागेको बताएको छ ।
पहिलो १० दिनसम्म एमालेबाट प्रतिनिधित्व गर्ने सांसदहरुले अन्य पार्टीका सांसदहरुसँग प्रमाण जुटाउने विषयमा ह्वाट्एपमा कुराकानी गरेका थिए । जेठ १० देखि १४ गते रातिसम्मको फोनको रेकर्ड समेत उतार्ने विषयमा केही सांसदसँग कुराकानी भएको थियो । तर, पछिल्लो ७ दिनमा एमालेसँग शर्माले नेगोसिएन गरेपछि उनी सहजै उम्किएका हुन् ।
देउवा जसरी पनि उनलाई चोख्याउने र अर्थमन्त्रीमै फर्काउन चाहन्थे । त्यसैअनुरुप अर्थ अरूलाई दिएनन् । कर्मचारीलाई शर्माले थर्कारहेका थिए । माओवादी केन्द्र कुनै हालतमा शर्मालाई दोषी नदेखाउने र अर्थमन्त्री शर्मामालाई मनाउने मनसायबाट अघि बढेका थिए । त्यसमा प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीले पनि साथ दिएपछि शर्मालाई दोस्रो पटक अर्थमै फर्किन बाटो खुलेको हो ।
अनधिकृत व्यक्तिलाई प्रवेश गराएर राजस्वको दर आफूअनुकूल बनाउनु जस्तो अक्षम्य अपराधमा समेत एमालेले सघाएर शर्मालाई चोख्याएको एमालेकै सांसदहरु बताउँछन् ।