पानीको फोहोरामा कला 

कमल आचार्य जसले वाटर फाउन्टेनमार्फत घरआँगन सजाउँछन् 

account_box सुजन ओली ,
प्रकाशित: २०७६ साउन १४, मङ्गलबार,११:११:AM  
पानीको फोहोरामा कला 

काठमाडौं । पानीको फोहोराको दृश्य । पानी बगेको कलकल आवाज । त्यसमाथि अझ पानीको थोपाको ध्वनि । तप्तपप्प । यसले कसको मन आह्लादित नबनाउला ? 

अवश्य, जोकसैको मन त्यसैत्यसै रमाउँछ नै । 

घरलाई आकर्षक बनाउन होस् वा त्यहाँ बस्ने व्यक्तिलाई आनन्दित तुल्याउन वाटर फाउन्टेन (पानीको फोहोरा)को सजावट प्रयोगमा आउन थालेको छ । 

नेपालमा वाटर फाउन्टेनमार्फत आफ्नो घर, बगैंचा, आँगन सजावट गर्ने क्रम बढ्दो छ । ठूला पाँचतारे होटल होस् या पार्टी प्यालेस, घर, अफिस जहाँकही अचेल वाटर फाउन्टेनको प्रयोग बढिरहेको छ । 

वाटर फाउन्टेनको विभिन्न अवधारणा बनाएर घरआँगनमा सुन्दरता थप्न खटिरहेका व्यवसायी हुन्, कमल आचार्य ।१७ वर्षदेखि वाटर फाउन्टेन बनाएर सजावटमा काम गरिरहेका आचार्यले सयौं वाटर फाउन्टेन बनाउन आफ्नो आइडिया फुराएका छन् ।  

अफिस वा घरको कुनै छेउबाट निरन्तर बगिरहने पानीले मानिसलाई ऊर्जा प्रदान गर्छ । वाटर फाउन्टेनबाट निस्किने मन्द आवाजले मानिसको मस्तिष्कलाई छुन्छ र काममा समेत त्यसको सकारात्मक प्रभाव पर्ने आचार्य बताउँछन् । 

हेरिटेज नेपाल नामक कम्पनी खोलेर उनले हरेक कम्पनी, संस्था वा व्यक्तिको घरमा वाटर फाउन्टेन बनाइरहेका छन् । वास्तुअनुसार पनि आवश्यक ठहरिने भएपछि पछिल्लो समय वाटर फाउन्टेनको माग एकदमै बढ्दै गएको उनको बुझाइ छ । 

राष्ट्रपति कार्यालय, सिंहदरबार, रानीपोखरी, चन्द्रागिरि र प्लाटिनम होटलमा वाटर फाउन्टेन बनाइसकेका छन् । यद्यपि, रानीपोखरीलाई भूकम्पले भत्काएपछि वाटर फाउन्टेन ध्वस्त भएको छ ।  

केही वर्षअघिसम्म आर्थिक रुपमा सम्पन्न व्यक्ति तथा संस्थाले मात्रै वाटर फाउन्टेन बनाउने गर्थे । तर अहिले परिस्थिति बदलिएको छ । अहिले हरेक मान्छेले सानोदेखि ठूलोसम्म वाटर फाउन्टेन बनाउन केही रकम खर्चिन्छन् । 

‘मान्छेले घर बनाउँदा नै एउटा निश्चित ठाउँ वाटर फाउन्टेनका लागि छुट्टयाउने गर्छन्,’ हेरिटेज नेपालका प्रबन्ध निर्देशक समेत रहेका आचार्य भन्छन्, ‘अहिले वाटर फाउन्टेन अत्यावश्यक भइसकेको छ ।’ 

घर बनाउँदा जसरी इन्टेरियरलाई एकदमै ख्याल गरिन्छ, त्यसैगरी वाटर फाउन्टेनलाई पनि महत्व दिइने गरेको उनी बताउँछन् । ‘इन्टेरियरभित्रकै एउटा पाटोभित्र पर्छ वाटर फाउन्टेन’ आचार्य भन्छन्, ‘घरभित्र गरिने इन्टेरियरलाई वाटर फाउन्टेनले थप शोभा बढाउँछ ।’ 

पानी, लाइटिङ, पम्प र सफ्टवेयरको कम्मिनेसनबाट वाटर फाउन्टेन बन्छ । ‘देख्दा जति सामान्य लाग्छ, बनाउन त्यति मिहिनेत हुन्छ,’ उनी भन्छन्, ‘वाटर फाउन्टेन भनेको लाइट, सफ्टवेयर, पम्प र पानीको अन्तर्सम्बन्ध हो ।’ 

नेपालमा व्यावसायिक रुपमा वाटर फाउन्टेन बनाउन उनै आचार्यले सुरु गरेका हुन् । ‘हेरिटेज नेपाल खोलेर त्यहीँबाट वाटर फाउन्टेन बनाउन सुरु गरेको १७ वर्ष भयो,’ उनी भन्छन्, ‘अहिले हाम्रो कम्पनीमा १७ जनाभन्दा बढी वाटर फाउन्टेन बनाउने दक्ष जनशक्ति छन्, ती सबै यहीँ उत्पादन भएका हुन् ।’ 

म्युजिकल वाटर फाउन्टेनदेखि नर्मल वाटर फाउन्टेन बनाउनसम्म दख्खल राख्छन्, आचार्य । ग्राहकको बजेट र रोजाइअनुसार वाटर फाउन्टेन बनाइरहेका छन् उनले । उच्च घरानादेखि राष्ट्रपति कार्यालयसम्ममा आचार्यले बनाएको वाटर फाउन्टेन देख्न सकिन्छ । 

नेपालमा सामूहिक तथा व्यक्तिगत आवास निर्माण हुन थाल्नु, नेपालीहरुले विदेशमा वाटर फाउन्टेन देखेपछि त्यसको सिको गरेको आचार्यको बुझाइ छ । नेपालका हरेक कर्पोरेट हाउस, तारे होटललगायतका राखिएको वाटर फाउन्टेन देखेर पनि नयाँ घर बनाउने हरेकले वाटर फाउन्टेनका लागि स्पेस राख्ने गरेका छन् । 

आचार्यले वाटर फाउन्टेन बनाउने तालिम लिन सुरुमा एक जना कर्मचारीलाई आफ्नै खर्चमा भारत पठाएका थिए । उनी तालिम लिएर नेपाल फर्किएपछि अन्य समकक्षीलाई उनैले वाटर फाउन्टेन बनाउन सिकाएका हुन् । आज आचार्यसँग १७ जना दक्ष जनशक्ति छन् । 

वाटर फाउन्टेन बनाउनेसँग राम्रो सीप भएन भने लगानीकर्ताको लगानी डुब्ने खतरा हुन्छ । वाटर फाउन्टेन राख्ने व्यक्तिले बनाउने व्यक्ति वा कम्पनीको अनुभवबारे राम्रोसँग बुझ्न आचार्य सुझाउँछन् । 

कस्तो कम्पनीमार्फत वाटर फाउन्टेन बनाइरहेको छु, कस्ताकस्ता सामग्री प्रयोग भइरहेका छन् ? यस्ता विषयमा वाटर फाउन्टेन राख्ने व्यक्तिले विशेष ख्याल गर्नुपर्छ । अहिले बजारमा ८ सय रुपैयाँमा पनि वाटर फाउन्टेन बनाइरहेका छन् । त्यति सस्तोमा वाटर फाउन्टेन बन्न सम्भव नहुने आचार्य बताउँछन् । 

‘सस्तो बन्दो रहेछ भनेर धेरै मान्छेको लगानी डुबेको छ,’ उनी भन्छन्, ‘अलिकति महँगो हुँदैमा त्यसलाई छाडेर सस्तोमा जादा फसिन सक्छ । त्यसमा ग्राहक आफै सचेत हुनुपर्छ ।’  

 

सुजन ओली

क्यापिटल नेपालका संवाददाता हुन् । 

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अर्थतन्त्र बाट थप

Top