आफ्नै जगको उचाइ

कुल आचार्य, जसले आफ्नो व्यवसायलाई बेलायत हुँदै युरोपभर फैलाउँदै छन्

account_box प्रकटकुमार शिशिर ,
प्रकाशित: २०७६ साउन १८, शनिबार,०८:३५:AM  
आफ्नै जगको उचाइ

त्यस्तो कुनै मान्यता वा सिद्धान्त छैन होला, जहाँ सफलताको मानक यही नै हो भनेर किटान गर्न सकियोस् । तोक्न सकियोस् । बढी कमाउनु वा उच्च पदमा पुग्नु, कि धेरै पढ्नु वा रफ्तारमा अघि बढ्नु ? सफलता यही नै हो भन्ने पनि छैन । बरू सन्तुष्ट र खुसी रहनु पो सफलताको मानक हो कि ? 

केही सफलता लिगेसीमा सँगै आउँछन् । केही सफलताका लागि ठूलै सङ्घर्ष गर्नुपर्छ । बनिबनाउ जगमा इँटा थपेर अग्लो भएको पिलरको सफलताको खुसी अर्कै होला । तर आफैं जग हालेर अथवा भनौं आफैं इँटा थपेर उठाएको सफलतारुपी पिलरको खुसी त्योभन्दा दोब्बर हुन्छ । अझ बढी पो हुन्छ कि ?  

त्यस्तै आफैं जग हालेर, सफलताको उचाइतर्फ इँटा थप्दै गएका व्यवसायी हुन्, कुल आचार्य । आचार्यको सफलतामा लिगेसी छैन । बरु सङ्घर्षले उनलाई छाडेको छैन । 

पर्वतको विकट गाउँ धाइरिङमा जन्मिएका आचार्य अहिले संसारका नेपालीमाझ चिनिएका छन् । आचार्यले दुई दशकदेखि बेलायतलाई आफ्नो दोस्रो घर बनाएका छन् । बेलायतदेखि नै आफ्नो सम्बन्धको नेटवर्कलाई नेपालीमाझ विश्वव्यापी बनाएका उनी त्यहाँको चर्चित रेस्टुराँ ‘होली काऊ’का सञ्चालक हुुन् । विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का उपाध्यक्ष पनि हुन् । 

धाइरिङदेखि बेलायतसम्मको आचार्यको यात्रा सङ्घर्षमय छ । सामान्य परिवारमा जन्मेका आचार्यले बाल्यकालमा गाउँले दैनिकीमै सङ्घर्ष गर्नुपथ्र्याे । घरको जिम्मेवारी उनमा यति थियो कि १२ वर्षको उमेरमै उनको विवाह भयो । आफै टिनएजमा रहेर खेल्ने उमेरमा उनले घरको ठूलो छोरा र पतिको दोहोरो जिम्मेवारी निर्वाह गरिरहेका थिए । विवाह गरेको दुई वर्ष नपुग्दै उनकी श्रीमतीको मृत्यु भयो । र सानैमा शोकमा परे उनी ।  

भाँडा माझेर सेफ हुने सपना देखेको एउटा तन्नेरीले बेलायतमा आफ्नै पौरखमा रेस्टुराँ सञ्चालनमा ल्याएपछि आचार्यले आफ्नो बुबालाई सम्झिइ, जसले उनलाई मिहिनेत गर्न र परिश्रम गर्न सिकाएका थिए ।

त्यति बेला गाउँमा स्कुल थिएन । २०१८ सालमा उनका बुबा ज्योतिष पण्डित धर्मनाथ उपाध्यायको पहलमा कृष्ण भवन प्राथमिक स्कुल सुरु भएको थियो । त्यही स्कुलमा उनले सात कक्षासम्म पढे । एसएलसी पर्वतकै माझफाँटको स्कुलबाट दिए । र प्रवीणता तह अध्ययनका लागि महेन्द्र बहुमुखी क्याम्पस बागलुङमा गए । अध्ययनलाई अगाडि बढाइरहेका आचार्यको जीवनमा फेरि अर्काे दुःखद घटना घट्यो । उनका बुबाको देहावसान भयो । उनको पढाइ अगाडि बढ्न सकेन । उनी गाउँ फर्किए । गाउँकै स्कुलमा प्राथमिक तहमा पढाउन थाले । 

‘जीवनमा दुःखका पहाड छिचोल्दै अगाडि बढें, एउटा दुःखबाट पार लाग्दै गर्दा अर्काे दुःख आइपथ्र्याे । तर पनि हरेस नखाई अगाडि बाटोमा लागें,’ असारको अन्तिम साता ललितपुरको हिमालय होटलमा आचार्यले विगत सम्झिए । 

आचार्य गाउँमा सहयोगी भावनाका थिए । सामाजिक काममा रुचि राख्थे । त्यसैले गाउँकै केही साथी विदेश जाने गरी काठमाडौं आए । सहयोग गर्नुपर्छ भनेर उनी पनि काठमाडौंतर्फ लागे । केही दिन काठमाडौं बस्दा उनलाई पनि साथीहरुले विदेश जाने प्रस्ताव राखे । साथीहरुलाई विदेश उडाउन काठमाडौं आएका उनी साथीहरुसँगै बेल्जियम पुगे । बेज्जियमबाट लगत्तै उनी जर्मनी गए । 

‘कतिपय योजना आफैंले कोरेका सरल रेखाहरुमा हिँड्दा रहेनछन् । गाउँमा पढाइरहेको मेरा पाइला अचानक विदेशतिर लम्किए,’ उनले भने, ‘खास योजनाबिनै विदेश गए पनि त्यहाँ पुगेपछिको योजना भनेको पैसा कमाउनु नै थियो । त्यसैले स्वाभाविक रुपमा कामको खोजी सुरु भयो । जर्मनी २ वर्ष बसें, न भाषाको ज्ञान, न कुनै सीपको दक्षता, २ वर्ष कठिन समय जर्मनीमा बिताउनुप¥यो ।’ 

त्यसपछि उनी त्यहाँबाट नै बेलायत पुगे । बेलायतमा पनि त्यति सजिलो कहाँ थियो र ? तर उनले बेलायतमा अङ्ग्रेजी बोलिने र आफ्नो भाषा पनि राम्रो हुने भएकाले त्यता जाने योजना बनाएका थिए । 

बेलायतमा पुगेपछि उनलाई गाउँकै दाइहरुले सुपुरमार्केटको काम खोजिदिएका थिए । तलब थियो, हप्ताको २ सय ५० पाउन्ड । सजिलो काम, तलब पनि धेरै तर पनि उनले त्यो काम गरेनन् । उनलाई इच्छा थियो, सेफ बन्ने । 

‘मलाई धेरै तलब भएर पनि त्यो काम गर्ने इच्छा जागेन । आफ्नै सीप हुनुपर्छ, त्यसले भविष्यमा कहिल्यै पनि बेरोजगार बनाउँदैन भन्ने मलाई लागेको थियो, त्यसैले सेफ बन्ने योजना थियो,’ उनले भने । 

२ सय ५० पाउन्डको तलबमा काम नगरी उनी ८० पाउन्ड तलबमा रची रेस्टुराँमा भाँडा माझ्ने काम गर्न थाले । सेफ बन्नका लागि किचेन छिर्ने पहिलो स्टेप नै भाँडा माझ्ने काम थियो । त्यसैले उनले भविष्यमा सेफ हुने योजना बुन्दै भाँडा माझ्न थाले । 

काम भनेपछि मिहिनेतका साथ गर्नुपर्छ भन्ने उनलाई बुबाले सिकाएर गएका थिए । मिहिनेत र परिश्रम उनका दुवै हातमा थिए । कामको रफ्तार बढाउन उनले त्यहाँ तीन महिनाजति काम गरे । अनि अर्काे रेस्टुराँ बम्बई बाइसाइकल क्लबमा पुगे । भा“डा माझ्ने कामबाट उनको प्रमोसन भयो— किचेन हेल्परमा ।

किचेनमा हेल्पर भएपछि सेफलाई नजिकबाट नियाल्ने मौका पनि पाए । बम्बई बाइसाइकलमा उनले ६ वर्ष काम गरे । यहीबीचमा उनी हेड सेफ भइसकेका थिए । रेस्टुराँमा आउने कतिपय ग्राहक उनले बनाएको स्वादमा पल्किसकेका जो थिए । 

रेस्टुराँको खाना र सेफहरुबारे बेलायतको चर्चित पत्रिकामध्येको इभिनिङ स्ट्यान्डर्डले तयार गरेको फिचरमा आचार्यलाई पनि समावेश गरेपछि उनी त्यहाँका स्थानीय र नेपालीमाझ स्थापित भए । पछि सोही पत्रिकाले उनको बारेमा अर्काे समाचार तयार ग¥यो । 

‘नेपालबाट विदेश जाँदा के गर्छु भन्ने योजना थिएन । तर बेलायत पुगेपछि बनाएको योजनाले साकार रुप लिएकोमा म खुसी थिएँ,’ आचार्यले भने, ‘सेफ बन्छु भनेको थिए, बनि त छाडें ।’

काम सिक्न र भविष्य बनाउन चार ओटासम्म काम गर्थे आचार्यले— एउटा फुल काम तीनबजेदेखि ११ बजेसम्म, एउटा १० बजेदेखि २ बजेसम्म, एउटा बिहान ७ देखि ९ सम्म । ‘र हप्तामा दुई दिन छुट्टै काम पनि गर्थें,’ उनले भने, ‘आफूलाई सेटअप गर्न खटिएको थिएँ, आफ्ना लागि टाइम थिएन, छुट्टी त परको कुरा ।’

निरन्तर मिहिनेत, आफ्नै सीप र आइडियाका कारण उनले सन् २००६ मा आफ्नै रेस्टुराँ सुरु गरे । टेकवे रेस्टुराँले राम्रो व्यवसाय गरिरहेको थियो । उनले पनि एक जना अफगानी पार्टनरसँग मिलेर होली काऊ टेकवे रेस्टुराँ सञ्चालनमा ल्याए ।  

त्यही बीचमा उनले बिहे पनि गरे । भाँडा माझेर सेफ हुने सपना देखेको एउटा तन्नेरीले बेलायतमा आफ्नै पौरखमा रेस्टुराँ सञ्चालनमा ल्याएपछि आचार्यले आफ्नो बुबालाई सम्झिइ, जसले उनलाई मिहिनेत गर्न र परिश्रम गर्न सिकाएका थिए । उनको पहिलो रेस्टुराँ स्थापित भयो । ग्राहकको मन जित्दै अगाडि बढ्यो । उनले त्यसका शाखाहरु खोल्नुपर्छ भनेर सोचे ।

पहिलो रेस्टुराँ सञ्चालन भएको ४ वर्षमा होली काऊका ब्रान्च ७ पुगे । होली काऊको आफ्नै फुड र आफ्नै डेलिभरी सेवा छ । आफूले दिने डेलिभरी सेवाबाहेक डेलिभरी नामक प्लेटफर्म कम्पनीमार्फत पनि होली काऊका परिकार ग्राहकसम्म पुग्ने गर्छन् । 

होली काऊ अहिले बेलायतको चर्चित रेस्टुराँमध्ये पर्छ । सेलिब्रेटी, नेता र सञ्चारमाध्यमले यसलाई पछ्याइरहन्छन् । सन् २०१३ मा बेलायतका सर्वदलीय सांसदहरु सम्मिलित टिफिन क्लबले गरेको टिफिन कप अवार्ड्समा होली काऊ नै उत्कृष्ट भएको थियो । बेलायतभरका दक्षिण एसियाली रेस्टुराँबीच सबैभन्दा उत्कृष्टलाई सो अवार्ड प्रदान गरिन्छ । 

होली काऊलाई युरोपभरि फैलाउने आचार्यको योजना छ । परिणामस्वरुप बेलायतबाहिर पोर्चुगलमा पहिलो फ्रेन्चाइज पनि सुरु भइसक्यो । होली काऊको युरोपभरिको ट्रेडमार्क लिएर बसेका छन् उनी ।

कुनै बेला घरभित्र २० रुपैयाँ पनि नहुँदा सानीआमालाई २० रुपैयाँ सापटी मागेर गाउँबाट पढ्न बागलुङ पुगेका आचार्य अहिले ‘मिलेनियर’ बनेका छन् । एक जना चालक, दुई जना फ्रन्ट र तीन जना किचेनमा रहेर सुरु गरिएको होली काऊमा अहिले २ सय जनाले रोजगारी पाएका छन् । सुरुमा उनको रेस्टुराँमा मात्र दुई सय पूरै नेपालीले काम गर्थे । विद्यार्थी भिसामा गएका नेपालीका लागि उनी अभिभावक जस्तै थिए । पछि नियम परिवर्तन भयो र विद्यार्थी घटे । त्यसपछि नेपालीसहित विभिन्न मुलुकका गरी दुई सय जनाले काम गरिरहेका छन् । 

रेस्टुराँबाहेक बेलायतमा रियल इस्टेट बिजनेसमा पनि उनको लगानी छ । आचार्यले आफ्नो लगानीको दायरा अझ फराकिलो बनाउँदै छन् । निरन्तर । 

होली काऊलाई युरोपभरि फैलाउने उनको योजना छ । त्यसैको परिणामस्वरुप बेलायतबाहिर पोर्चुगलमा पहिलो फ्रेन्चाइज पनि सुरु भइसक्यो । होली काऊको युरोपभरिको ट्रेडमार्क लिएर बसेका छन् आचार्य । 

‘अहिले जर्मनी, स्पेन, बेल्जियम र अस्ट्रेलियाबाट पनि फ्रेन्चाइचको कुरा आएको छ,’ उनले भने, ‘मेरो योजना अझै बेलायतका विभिन्न सहरमा फैलाउने छ, त्यसैका लागि तयारी गरिरहेको छु । अलि पछि नेपाल आउने योजना बुनिरहेका छौं । हाम्रो योजना र सिस्टमका लागि यहाँ समय लाग्छ ।’ त्यसैले नेपाल आउन समय लाग्ने देखिएको उनी बताउँछन् । नेपालमा नयाँ तरिकाले प्रवेश गर्ने उनले बताए । 

जन्मभूमि नेपालसँगको व्यावसायिक नाता भने उनले जोडिसकेका छन् । नेपालमा जलविद्युत्, बैङ्किङ, सिमेन्ट, होटललगायतमा साझेदारी गरेर लगानी गरेका आचार्यले पछि आफ्नो सम्पूर्ण लगानी नेपालमै गर्ने योजना बनाएका छन् । 

‘विदेशमा केही समय काम र व्यापार गरेर सङ्कलन गरेको पुँजी र सीपलाई नै नेपाल ल्याउने हो । त्यसैका लागि अहिले आधारहरु तयार भएका छन्,’ उनले भने । कुनै समय नेपालबाट बेलायत जाने नेपाली विद्यार्थीका लागि उनले काम खोजिदिन्थे । आफ्नोमा राख्न मिल्ने राखेपछि आफैं विद्यार्थीका लागि रेस्टुराँमा पुगेर, कार वासमा गएर र डिपार्टमेन्ट स्टोर्स धाएर उनले धेरैलाई काम खोजिदिएका छन् । 

सामाजिक काममा पनि उस्तै तल्लीन आचार्य एनआरएनको अभियानमा सन् २००३ मा लागेका हुन् ।  तर सक्रिय रुपमा सन् २००७ बाट उनी दत्तचित्त छन् । गैरआवासीय नेपाली सङ्घ बेलायतको सदस्य हुँदै अध्यक्ष र गैरआवासीय नेपाली सङ्घको युरोप संयोजकदेखि अहिले उपाध्यक्षमा रहेर सेवा पु¥याइरहेका छन् । 

‘सफलताको दौरानमा धेरैले विगतलाई भुल्ने बानी छ, दुःखलाई केही हदसम्म भुल्ने हो । तर आफ्नो हैसियतलाई कहिल्यै भुल्नुहुँदैन,’ उनी भन्छन् । कुनै बेला गाउँमा उच्च मावि नहुँदा पढ्नका लागि म्याग्दी, बागलुङ पुग्नुपर्ने बाध्यता थियो ।

आचार्यले नै आफ्नो बुबाको पहलमा सुरु भएको प्राथमिक विद्यालयलाई उच्चमावि बनाउनका लागि १४ लाख रुपैयाँ सघाए । अहिले स्कुलको नाम उनका बुबासँगै जोडिएको छ, कृष्ण भवन धर्म उच्च मावि । 
सानैमा विवाह गरेर पत्नीको मृत्युपछि उनैको सम्झनामा धाइरिङ माविमा तीन लाख २२ हजारमा मोना स्मृति पुरस्कारको अक्षयकोष स्थापना गरिदिएका छन् । 

उनको सामाजिक कामले निरन्तरता पाइरहेको छ । स्कुल, बाटो, मन्दिरमा उनले लाखौं रुपैयाँ सहयोग गरेका छन् । बेलायतमा हुने च्यारिटी कार्यक्रममा पनि उनी अगाडि नै पर्छन् ।

भाइबहिनी र श्रीमतीले व्यवसायमा दरिलो साथ दिएपछि उनी गैरआवासीय नेपालीको अभियानमा अहिले रातदिन खटिइरहेका छन् । त्यसैले अहिले उनी बेलायतमा कम र विश्वका विभिन्न मुलुकको भ्रमणमा बढी देखिन्छन् । 

क्यापिटल म्यागजिनबाट 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी जीवनशैली बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');