उपत्यकामा १० हजार ट्याक्सी दर्ता, बाह्र हजार ट्याक्सीमाथि कारबाही !

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २२, बुधबार,१०:०१:AM  
उपत्यकामा १० हजार ट्याक्सी दर्ता, बाह्र हजार ट्याक्सीमाथि कारबाही !

काठमाडौं । ट्राफिक प्रहरीले विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारबाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष २०७५/७६ मा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो ।

महाशाखाले आव २०७४/७५ मा आठ हजार १२० ट्याक्सी चालकलाई कारवाही गरेको थियो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले यात्रुसँग मोलमोलाई गरी बढी भाडा लिने ट्याक्सी चालकलाई कारवाही गरिएको जानकारी दिए । “यात्रु ठग्ने दैनिक ४०/५० चालकलाई कारवाही गर्दै आएका छौँ, उनले भने । 
     
बढी भाडा लिने ट्याक्सी चालकसँग ट्राफिक प्रहरीले तीन हजार जरिवाना गर्ने गरेको छ । त्यस्तै, पाँच पटकभन्दा बढी बढीभाडा लिएर कारवाहीमा पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिश गर्ने गरिएको महाशाखाले जनाएको छ ।     
     
मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने ५०० देखि एक हजार ५०० रुपैयाँसम्म जरिवाना गर्ने गरिएको पन्तले बताए । 

महाशाखाले बढी भाडा लिने ट्याक्सी चालकको कारवाहीका लागि दैनिक ३० देखि ५० ट्राफिक प्रहरी उपत्यकाका विभिन्न स्थानमा खटाउँदै आएको छ ।

ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नं १०३ मा खबर गर्न सबै यात्रुलाई महाशाखाले आग्रह गरेको छ । 

यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजारभन्दा बढी ट्याक्सी सञ्चालनमा रहेका छन् । रासस

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');