काठमाडौं । पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य आज स्थानीय बजारमा अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले वृद्धि भएको छ । छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ७१ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला एक हजार २०० रुपैयाँका दरले वृद्धि भएको छ । स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ७२ हजार २०० रुपैयाँ पुगेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोवार भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ । यसअघि प्रतितोला ५÷१० रुपैयाँका दरले वृद्धि हुँदै आएको चाँदीको मूल्यमा आज प्रतितोला २० रुपैयाँ वृद्धि भएको छ । स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला ८५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ८३० रुपैयाँमा खरीदबिक्री भएको थियो ।
गत साउनको शुरुआतदेखि नै सुनको मूल्य उकालो लाग्न थालेको थियो । साउन महीनामा सुनको मूल्य प्रतितोला सात हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको थियो । भदौ महिना लागेपछि पनि दुई पटक सुनको मूल्य वृद्धि भएको छ । भदौमा छापावला र तेजाबी सुन प्रतितोला एक हजार ५०० रुपैयाँले वृद्धि भएको छ ।
साउन १ गते छापावाला सुन प्रतितोला ६४ हजार ५०० रुपैयाँ, तेजाबी सुन ६४ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भएको थियो । साउन ३१ र ३२ गते छापावाला सुन प्रतितोला ७१ हजार ५०० रुपैयाँ, तेजाबी सुन ७१ हजार २०० रुपैयाँ तथा चाँदी प्रतितोला ८४० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५२८.५० अमेरिकी डलर पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । अमेरिकी डलरको मूल्य बढेसँगै सूनको मूल्य पनि वृद्धि हुन सघाउ पुगेको हो । चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ ।
सुनको मूल्य वृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०÷२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय मुस्किलले १० किलो पनि बिक्री हुन नसकेको महसङ्घले जनाएको छ । अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ ।
याे पनि पढ्नुहाेस् ः