काठमाडौं । भारतीय लगानीमा निर्माण भइरहेको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनालाई नेपाली दुई बैंकसंग ऋण लगानी सम्झौता हुन लागेको छ ।
आयोजना विकासकर्ता एसजेवीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले नविल र एभरेष्ट बैंकसंग ऋण लगानी सम्झौता गर्न लागेको हो । नेपाली बैंकबाट १४ अर्ब ४० करोड रुपैयाँ अर्थात ९ अर्ब भारु ऋण लिने भएको छ ।
एसजेबीएनले नेपालको नविल र एभरेष्ट बैंकबाट अपुग ऋण (ब्रिज लोन) लिन लागेको हो । आयोजनाको लागत बढ्न सक्ने संभावित अवस्थालाई हेरेर ऋण लिन लागेको हो ।
भारत सरकार स्वामित्वको भारतीय स्टेट बैंक (एसबीआई) का अतिरित्त, पञ्जाब नेसनल बैंक, युनियन बैंक अफ इन्डिया र भारतीय एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकबाट ५३ अर्ब ७३ करोड ६८ लाख भारु अर्थात ८५ अर्ब ९७ करोड ८८ लाख रुपैयाँ ऋण लगानी गर्ने भएका छन । भारतीय र नेपाली बैंकसंग एसजेवीएनले एकसाथ ऋण लगानी सम्झौता गर्ने भएको छ ।
भारुमा ऋण ल्याउन स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा अनुमति मागिएको छ । ऋणको ब्याज साढे ८ प्रतिशत छ । स्वीकृति पाएपछि औपचारिक रुपमा बैंक र आयोजना विकासकर्ता एसजेबीएन र बैंकहरुबीच ऋण लगानी सम्झौता हुने छ ।
एसबीआई त्यहाँको सरकारी बैंक हो । भारुमा ऋण ल्याउन त्यहाँको भारतीय रिजर्व बैंक (आरबीआई) ले अनुमति दिइसकेको छ । हालसम्म आयोजनाको ३० प्रतिशत काम सकिएको छ ।
आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानीमध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । एसजेबीएनले स्वपुँजीबापत २५ अर्ब रुपैयाँ लगानी गरेको छ ।
एसजेबीएनले आउँदो २०७९ असोजसम्म अर्थात सन २०२२ को सेप्टेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको बाँध निर्माण काम सुरु भइसकेको छ । ४ लटमा आयोजनाको काम भइरहेको छ । निर्माण अवधिबाहेक आयोजनाको अवधि २५ वर्ष छ ।
विद्युत उत्पादन संरचना बनाउन एसबीआई र नेपाली बैंकहरुले ऋण लगानी गर्ने छन । प्रसारणलाइन बनाउन पञ्जाब नेसनल बैंसँग ऋण सम्झौता भइसकेको छ । एभरेष्ट बैंकले प्रसारणलाइनमा ३ अर्ब ६० करोड रुपैयाँ अर्थात २ अर्ब २५ करोड भारु अरुण तेस्रोमा ऋण लगानी गर्नेछ । यो प्रसारणलाइनका लागि पञ्जाब नेसनल बैंकसँग पनि ८ अर्ब रुपैयाँ अर्थात ५ अर्ब भारु ऋण लगानी गर्ने सम्झौता भएको छ ।