काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले महँगा गाडि चढ्ने व्यक्तिको नाम खोज्न थालेको छ । महँगा गाडी खरिद गर्नेको नाम विभागले विभिन्न अटो व्यवसायीसँग मागेको हो ।
केही समय अघि वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई तलब, सुविधा र व्यक्तिगत सम्पत्तिको विषयमा आवश्यक सोधपूछ गरेको विभागले अहिले महँगा गाडी खरिद गर्नेहरुको नामावली तयार गर्न लागेको हो ।
विभाग स्रोतका अनुसार कस्ता कस्ता व्यक्तिले कति मूल्यका गाडि चढ्ने गरेका छन्, तिनको नाम खोजी गर्न लागिएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् मातहतमा गएपछि आक्रामक बनेको विभागले मेनपावर व्यवसायी, निर्माण व्यवसायी, बैङ्कर, परामर्श कम्पनी, सरकारी कर्मचारीमाथि शुक्ष्म निगरानी गरिरहेको छ ।
महँगा गाडी चढ्नेहरुले कुन तवरबाट आम्दानी गरेको, त्यो आम्दानीबाट राज्यलाई कर तिरे÷नतिरेकोलगायत विषयमा छानविन गर्न नामावली सङ्कलन गर्न लागिएको विभागले जनाएको छ ।
विभाग स्रोतका अनुसार १ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने गाडी चढ्नेको नामावली सङ्कलन गर्न लागिएको हो । ‘महँगा गाडी बेच्ने अटोमोबाइल व्यवसायीलाई विभागले त्यस्ता व्यक्तिको नाम पठाउन निर्देशन दिएको छ,’ विभागका एक अधिकारीले भने, ‘केही अटो व्यवसायीले पठाइसकेका छन्, भने केहीले पठाउने तयारीमा छन् ।’
नेपालमा अकुत सम्पत्तिको मुद्दा पेचिलो बन्दै गएपछि विभागले सक्रियता बढाएको हो । अर्थ मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमातहत ल्याइएको यो विभागले कसुरमाथि अनुसन्धान अगाडि बढाइरहेको छ ।
एकातिर राष्ट्र बैङ्कमार्फत विभिन्न बैङ्कहरुसँग सम्पूर्ण ऋणीहरुको विवरण लिने र अटो व्यवसायीसँग गाडी खरिद गर्नेको नाम एकसाथ मागेको छ ।
दुई ओटा विवरणलाई एक आपसमा बाझेर हेर्ने र कुन व्यक्तिले कसरी सम्पत्ति आर्जन गरेको भन्ने पत्ता लाग्ने विभागले जनाएको छ । अटोमोवाईल व्यवसायीसँग महँँगा गाडी चढ्नेको नाम लिने र राष्ट्र बैङ्कमार्फत बैङ्कलाई भनेर उनीहरुको आर्थिक विवरण लिने काम भइरहेको विभागले जनाएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग कानुन कार्यान्वयन गर्ने निकाय भएको र यसले राज्यका विभिन्न निकायमा प्राप्त सूचनाका आधारमा अनुसन्धान गरेर मुद्दा दायर गर्ने विभागले जनाएको छ ।
त्यस्ता सूचना उपलब्ध गराउने एउटा प्रमुख निकाय राष्ट्र बैंकको वित्तीय जानकारी इकाई हो । उसले जति धेरै गुणस्तरीय सूचना पठाउँछ, सोही अनुसार अनुसन्धान सुरु हुने विभागले जनाएको छ ।