काठमाडौं । बैङ्क वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतदेखि अध्यक्षसम्मलाई शुक्ष्म निगरानी गरिरहेको सम्पत्ति शुद्धीकरण विभागले औद्योगिक प्रतिष्ठानसँग पनि सम्पूर्ण विवरण माग गरेको छ ।
विभागले आधा दर्जन भन्दा बढी औद्योगिक प्रतिष्ठानका नाममा पत्र काट्दै हालसम्मको सम्पूर्ण विवरण माग गरेको हो । विभागलाई प्रारम्भिक जाँचबुझका सिलसिलामा कम्पनीले हालसम्म चुक्ता गरेको करको विवरण, कर कार्यालयमा पेश गरेको वासलात र नाफा नोक्सान हिसाव विवरण आवश्यक परेकाले उपलब्ध गराउन भन्दै विभागले पत्र पठाएको हो ।
विभागले आफ्नो जाँचबुझ सम्बन्धि कार्यमा सहयोग गर्न अनुरोध सहित जाँचबुझ अधिकृतले एक दर्जनभन्दा औद्योगिक प्रतिष्ठानमा पत्र पठाएका एक उद्योगीले बताए ।
‘विभागलको पत्र हेर्दा उद्योग स्थापना भएदेखि हालसम्मको सम्पूर्ण विवरण उपलब्ध गराउन भनेको देखिन्छ, ‘त्यो कसरी सम्भव हुन्छ ?’ एक उद्योगीले भने, ‘उद्योगी÷व्यवसायीलाई आतङ्कित बनाउने काममा विभाग लागेको छ ।’
सम्पत्ति शुद्धीकरणको नाममा व्यवसायीलाई अनावश्यक ‘टर्चर’ दिने बार्गेनिङको ‘टुल्स्’ बनाउन तर्फ विभाग लागेको उनीहरुको बुझाइ छ । ‘हामीले हरेक हिसाव बैङ्कलाई बुझाएका छौं, त्यसैगरी कर कार्यालयमा पनि हाम्रो सम्पूर्ण जानकारी छ,’ ती उद्योगीले भने, ‘तर, उद्योग उद्योगमा पत्र पठाएर त्रसित पार्न खोजेको देखिन्छ ।’
सरकारसँग जोरी खोज्ने व्यवसायीलाई सिध्याउने वा तर्साउने अस्त्रको रुपमा विभाग प्रयोग भइरहेको सम्बद्ध स्रोतको बुझाइ छ । गैरकानुनी रुपमा धन आर्जन गर्ने, सम्पत्तिको स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्नेमाथि विभागले सुक्ष्म अध्ययन गर्नुपर्ने भए पनि अहिले सरकारको राम्रो नभन्ने उद्योगीलाई निशाना बनाइएको कतिपय उद्योगीहरु बताउँछन् ।
जुन उद्देश्यले विभाग गठन गरिएको हो, त्यसबाट विमूख भएर सरकारले राजनीतिक र प्रशासनिक कार्डका रुपमा प्रयोग गर्न खोजेको केही सरकारी कर्मचारी बताउँछन् ।
विभागले केही समय अघि बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्षलाई सम्पूर्ण विवरण उपलब्ध गराउन भन्दै पत्र काटेको थियो । प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्षहरुले विभागले भनेअनुसारको सम्पूर्ण विवरण पठाइसकेका छन् ।
त्यसपछि विभागले नेपालमा महँगा गाडी चढ्नेको सूची पठाउन व्यवसायीलाई निर्देशन दिएको थियो ।
अहिले हरेक तबरबाट व्यवसायीमाथि आक्रमण भइरहेको छ । बैङ्कबाट ठूला ऋणीको फाइल अध्ययन गर्नेदेखि महँगा गाडी चढ्नेसम्मको सूची तयार पारेर विभाग बसेको छ ।