काठमाडौं । मुलुकमा सञ्चालित सिमेन्ट उद्योगहरु एकदिन बन्द हुँदा नेपालको अर्थतन्त्रमा न्यूनतम ५० करोड रुपैयाँ नोक्सान हुने एक अध्ययनले देखाएको छ ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले मुलुक लकडाउन गरेपछि सिमेन्ट उद्योग पूर्ण रुपमा बन्द छन् । ती उद्योग बन्द हुँदा दैनिक रुपमा ५० करोड रुपैयाँ नोक्सान हुने गरेको नेपाल सिमेन्ट उत्पादक संघले गरेको अध्ययनबाट देखिएको हो ।
नेपालमा १ खर्ब ६५ अर्ब रुपैयाँबराबरको सिमेन्टको बजार छ । नेपालमा ३३० दिनलाई ‘वर्किङ डे’ मानिन्छ । १ खर्ब ६५ अर्बलाई ३३० दिनले भाग गर्दा पनि सोझै दिनको ५० करोड रुपैयाँ नोक्सान हुने संघका अध्यक्ष ध्रुब थापाले बताए ।
अहिले नेपालमा ६१ ओटा सिमेन्ट उद्योग सञ्चालित छन् । त्यसमध्ये क्लिङ्र उद्योग २१ ओटा छन् । ग्राइन्डिङ उद्योग ४० ओटा छन् । ती उद्योगको बजार बार्षिक पौने २ खर्ब रुपैयाँ रहेको छ ।
संघका अध्यक्ष थापाका अनुसार सिमेन्ट उद्योग बन्द हुँदा सबैभन्दा बढी पीडित उद्योगी नै छन् । किनभने, विद्युत् खपत नगरे पनि न्यूनतम शुल्क प्राधिकरणलाई तिर्नुपर्छ । बैङ्कको ब्याज पनि बुझाउनै पर्छ । कामदारलाई दिने ज्याला पनि दिनुपर्छ ।
उद्योगी पछि सबैभन्दा ठूलो असर सरकारलाई परेको छ । सरकारले पनि सबैखाले कर गरेर २५ प्रतिशत लिँदै आएको थियो । अब उद्योग बन्द भए पछि राज्यले पाउनुपर्ने कुनै कर लिन पाएन ।
थापाका अनुसार उद्योगीले दैनिक ५० करोड रुपैयाँ बराबरको कारोबार गर्छन् । त्यसमध्ये १५ प्रतिशत नेपाल विद्युत प्राधिकरणलाई, २५ प्रतिशत सरकारलाई ५ प्रतिशत बैङ्कलाई र अर्को २ देखि ३ प्रतिशत कर्मचारी र ढुवानीकर्तालाई बुझाउँदै आएका छन् ।
सिमेन्ट उद्योगीका अनुसार अहिले नेपालमा दैनिक ३० देखि ३५ हजार टन क्लिङ्कर उत्पादन हुन्छ । एक टन क्लिङ्करको मूल्य अहिले ७ हजार ५०० रुपैयाँ छ ।
एक दिन मात्रै उद्योग बन्द हुँदा अर्थतन्त्रमा २२ करोड ५० लाखदेखि २६ करोड २५ लाख रुपैयाँसम्म नोक्सान हुने क्लिङ्कर उद्योग सञ्चालन गर्ने उद्योगीहरु बताउँछन् । दैनिक ५० करोड नोक्सान मध्ये २५ देखि ३० करोड रुपैयाँ त क्लिङ्कर उद्योगको मात्रै छ । अहिले नेपालमा साना ठूला गरेर २१ ओटा उद्योगले क्लिङ्क उत्पादन गरिरहेका छन् ।
त्यसबाहेक अहिले विद्युत्को खपत शुन्य छ । डिलर तथा सवडिलर पूर्ण रुपमा बन्द छन । यसमा त्यसको क्षति उल्लेख गरिएको छैन् । विद्युत् प्राधिकरणले विद्युत् खपत ह्वातै घटेकाले भारतबाट गरिरहेको आयातलाई समेत घटाउने तरखर गरिरहेको छ ।
प्राधिकरणको सबैभन्दा ठूला उपभोक्ता भनेको उद्योगहरु नै हुन् । ती उद्योग मुलुक लकडाउन भएसँगै बन्द भएका छन् । उद्योग बन्द हुने बित्तिकै विद्युत् खपत घट्नु स्वभाविक हो ।
अध्यक्ष थापाले एउटा उद्योग बन्द हुँदा यसले चौतर्फी असर पुग्ने बताए । ‘कतै प्रत्यक्ष रुपमा असर पर्छ भने कतै अप्रत्यक्ष रुपमा ठूलो असर पुगेको हुन्छ,’ उनले भने, ‘देशमा कोरोना भाइरसको महामारी भित्रिन नदिन सरकारले मुलुक लकडाउन गरेको छ ।
त्यसलाई सहयोग गर्न सम्पूर्ण उद्योगीले उद्योग बन्द गरेका छन् । तर, अर्थतन्त्रमा ठूलो असर परिरहेको छ ।
कोरोना भाइरसका कारण मुलुक नै लकडाउनमा परेपछि सरकारले उद्योगी तथा व्यवसायीले बैंक तथा वित्तीय संस्थालाई बुझाउनु पर्ने साँवा र सोको ब्याज एक महिनालाई पछि सारेको छ ।
चैत मसान्तसम्म बुझाउनु पर्नेमा बैशाख मसान्तसम्म पुगेको छ । अर्थ मन्त्रालयले बुधबार नै बैंक तथा वित्तीय संस्थालाई पत्राचार समेत गरेको छ ।