काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसका कारण देशको आर्थिक वृद्धिदर २ प्रतिशतसम्म घट्न सक्ने बताएका छन । कोरोना नियन्त्रणका लागि लिएका कदमका कारण आर्थिक वृद्धिमा असर पर्ने उनले बताएका हुन ।
हालको अवस्था हेर्दा १ देखि २ प्रतिशतसम्म आर्थिक वृद्धि घट्ने देखिएको बताउदै उनले भने ‘छोटै अवधिमा सङ्क्रमणको जोखिम सकियो भने १ प्रतिशत घट्ने देखिन्छ । लामै भयो भने २ प्रतिशतसम्म यो आर्थिक वर्षमा असर पर्न सक्ला ।’
‘यो त प्रारम्भिक अनुमान मात्र हो । सबै कुरा अहिले नै प्रक्षेपण गर्न कठिन छ’ उनले राससलाई भने ‘यो सङ्क्रमणको जोखिम कहिलेसम्म रहन्छ ? विश्वव्यापी रुपमा कोरोनाको ग्राफ उभों जाँदैछ ।’
लकडाउन गरेको र सीमा बन्दको अवधिसम्म हेर्ने हो भने चैत महिना लगभग गएको अर्थमन्त्री खतिवडाले बताए । विकास निर्माणको धेरै काम हुने फागुन, चैत, वैशाख र जेठ महिना खेर जाने अवस्था आएकाले लिएको आर्थिक वृद्धि लक्ष्य पुरा नहुने देखिएको उनको भनाइ छ ।
यसैगरी फेब्रुअरी र मार्च पर्यटकको सिजन पनि खेर गयो । तेस्रो वैदेशिक रोजगारमा जानेहरुको अवस्था पनि अन्त्य भएको छ । ‘यी सबै असरहरु समग्र अर्थतन्त्रमा परेकाले हामीले जुन आर्थिक वृद्धिको लक्ष्य राखेका छौँ, त्यसमा त पुगिँदैन, स्वभाविक हो । तर, कति कम हुन्छ भन्ने कुराको हामी आँकलन गर्दैछौं’ उनले भने ।
सरकारले चालु आर्थिक वर्षमा साढे ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामा राजश्व र खर्च घट्ने संशोधित अनुमान गरे पनि आर्थिक वृद्धिको लक्ष्यमा भने संशोधन गरिएको छैन । राजश्व र खर्चको संशोधित लक्ष्यले साढे ८ प्रतिशत आर्थिक वृद्धि हुने देखिएको थिएन ।
कोरोना कहरले मुलुक लकडाउनमा गएपछि यो झनै संभव देखिएन । विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले यसअघि नेपालको आर्थिक विस्तार ५ प्रतिशतसम्म हुने अनुमान सार्वजनिक गरेका थिए ।
यस्तै छिमेकी मुलुक कोरोनाले गर्दा भारतको पनि आर्थिक विस्तार खुम्चिएर साढे २ प्रशितमा सीमित रहने अनुमान गरिएको छ । भारतले ५.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । भारतमा कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले नेपालमा पनि जोखिम बढेको उनको भनाई छ ।
कोरोनाका कारण जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट ल्याउन कुनै समस्या नपर्ने अर्थमन्त्री खतिवडाले स्पष्टपारे । बजेटको तयारी भइरहेको र विभिन्न सिनारियोमा काम गरिरहेका उनले बताए ।
‘चालु वर्षको कोरोनाको सङ्क्रमणको जोखिम छिट्टै सक्कियो भने एउटा सिनारियो हुन्छ‘ अर्थमन्त्रीले भने ‘यो लम्बियो भने अर्को सिनारियो हुन्छ ।’
बजेटका आधारभूत सिलिङहरु प्रत्येक मन्त्रालयलाई दिने कुरा भइरहेको उनले सुनाए । उनका अनुसार मुख्यमुख्य कार्यक्रम छलफलमा रहेका छन ।
मन्त्रालयले पनि बजेटसम्बन्धी छलफल गर्दैछन् । अहिले लकडाउनको अवधि भरी हामीले भेटघाट गरेर बजेटसम्बन्धी छलफल नएको उनले स्पष्टपारे ।
राष्ट्रिय योजना आयोगले पनि बजेट छलफललाई पनि पर सारिसकेको छ । मन्त्रालयगत हुने बजेट छलफललाई पनि पर सारिएको छ । लकडाउनको अवधि सकिने बित्तिकै प्रक्रिया अघि बढ्ने अर्थमन्त्रीको भनाई छ ।
योजना आयोगले बजेटका प्राथमिकतामा परिवर्तनका गर्ने भएको छ । यस्तै बजेटको सीमा पनि घटाउने तयारी गरेको छ । योजना आयोगले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट सीमा दिएको छ ।