काठमाडौं । सबैभन्दा बढी ग्यास खपत हुने क्षेत्र होटल, रेष्टुरेन्ट र पार्टी प्यालेसहरु बन्द भएपछि ग्यास विक्रिमा गिरावट आएको छ । कोरोना भाइरसको संक्रमण देखिएसँगै सरकारले गरेको लक डाउनका कारण ती क्षेत्र पूर्ण रुपमा बन्द भएका छन् । त्यस्तै धेरै मानिसहरु गाउँ फर्किएका कारण अहिले काठमाडौंमा ग्यास खपतमा कमि आएको हो ।
विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएसँगै सर्वसाधारणहरुले आवश्यकता भन्दा बढी ग्यास भण्डारण गर्न थालेपछि केहि समय अभाव देखिएको थियो । लक डाउनको पहिलो साता काठमाडौंमा ग्यास अभाव अधिक भएपछि नेपाल आयल निगमले ग्यास उद्योगीहरुसँगको सहकार्यमा केहि समयका लागि आधा सिलिण्डर मात्र बजारमा पठाउने निर्णय गरेको थियो ।
बजारमा आधा सिलिण्डर मात्र ग्यास विक्रि गर्न थालिएपछि साता भरीमै अभावको समस्या कम भएपछि केहि साता पछि निगमले फेरी भरी सिलिण्डर बेच्न निर्देशन दिएको थियो ।
एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले अहिले उपत्यका सहित सबै ठाउँमा ग्यास खपत घटेको बताए । ग्यास खपत कम भएपछि अहिले १४ हजार मेट्रिकटन ग्यास स्टोरेज गरेर राखिएको जानकारी दिए । ‘हाम्रो स्टोरेजको क्षमता ७ हजार मेट्रिकटन हो,’ अध्यक्ष भण्डारीले भने ‘तर अहिले १४ हजार भन्दा बढी जम्मा गरेर राखिएको छ ’ । ग्यास विक्री घटेपछि अहिले विभिन्न उद्योगका २ सय भन्दा बढी ग्यास बुलेटमै राखिएको छ ।
ग्यास विक्रेता संघका अध्यक्ष महेश्वर श्रेष्ठले यस अघि दैनिक २० वटा भन्दा बढी सिलिण्डर विक्रि हुने गरेकोमा अहिले तीन दिनमा ८ वटासम्म विक्रि गरिरहेको जानकारी दिए ।
आधा सिलिण्डर विक्रि गर्दा खाली भएका सिलिण्डर सबै भरिएको र होटल क्षेत्र बन्द हुदा त्यसको प्रत्यक्ष प्रभाव ग्यास विक्रिमा परेको उनको भनाई छ ।
होटल,रेष्टुरेन्ट र पार्टी प्यालेमा २० देखी ३० प्रतिशत ग्यास खपत हुने गरेको संघको भनाई छ । तर,अहिले ती सबै क्षेत्र पूर्ण रुपमा बन्द भएको र काठमाडौं छोडेर लाखौ मानिसहरु उपत्यका बाहिर गएको कारणले पनि ग्यास खपत घटेको संघको ठहर छ ।