काठमाडौं । होटल व्यवसाय सञ्चालन गर्दै आएको प्लाजा ग्रुपले लगानीमा विविधिकरण गर्ने भएको छ । काठमाडौंमा तीन वटा होटल सञ्चालन गर्दै आएको सो ग्रुपले कोरोना महामारीपछि अर्गानिक एग्रो फार्म सञ्चालन गर्ने भएको हो ।
सरकारले पर्यटन क्षेत्रलाई हेर्ने दृष्टि नै फरक रहेको भन्दै व्यवसाय धरासायी बन्ने देखेपछि ग्रुपले विकल्पको रुपमा अर्गानिक खेतिलाई प्राथमिकता दिन लागेको छ ।
प्लाजा ग्रुपका सञ्चालक युवराज श्रेष्ठले भने, ‘कोरोनाले सिकाएको महत्वपूर्ण पाठ भनेको कृषिमा आत्मनिर्भर हुनु हो, त्यसैले अर्गानिक एग्रो फार्म सुरु गर्न लागेका हौं ।’
उनले पहिलो चरणमा सिन्धुलीको गोलोन्जोर गाउँपालिका ६ नम्बर वडाकोे देउरालीटारमा १०० रोपनी जग्गामा अर्गानीक फार्म हाउस सञ्चालन गर्न लाागेका हुन् । त्यो मध्ये ५० रोपनीमा ८ सय वटा कागतीका विरुवा यस अघिनै रोपिसकेका छन् । अर्गानिक खेतीका लागि मात्र उनले सुरुवाती चरणमा २० लाख रुपैयाँ लगानी गर्ने भएका छन् ।
होटल व्यवसायसँगै अर्को विकल्पको रुपमा कृषि पेशालाई अगाढी बढाउन लागिएको उनको भनाई छ । होटल मात्र हुँदा विभिन्न समयमा आउने महाविपत्ति र महामारीको बेला समस्या पर्ने भएकोले विकल्पका रुपमा कृषिलाई लिएर अगाडी बढेको उनले प्रष्टपारे ।
होटल क्राउन प्लाजा, होटल प्रिन्स प्लाजा र होटल सिभम् प्लाजा सञ्चालन गर्दै आएका श्रेष्ठले ललितपुरको गोदावरी र चितवनमा रिसोर्ट समेत निर्माण गरिरहेका छन् । चितवनमा रहेको रिसोर्ट बैशाख १ गतेबाट सञ्चालनको तयारी गरिएको थियो । कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) ले ती सबै बन्द छन ।
श्रेष्ठले मात्र हैन, अहिले धेरै होटल व्यवसायीहरुले वैकल्पिक व्यवसायको सोच बनाउन थालेका छन् । नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई प्राथमिकता नदिएपछि निरास बनेका व्यवसायीहरु अहिले बजेटको पर्खाइमा छन् ।
बजेट मार्फत पनि आफुहरुलाई आर्थिक प्याकेजका राहत नल्याए धेरै होटलहरु बन्द हुने र व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था सिर्जना हुन लागेको व्यवसायीहरुको भनाई छ ।
होटल एसोसिएन अफ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले अर्थमन्त्री डा.युवराज खतिवडालाई आगामी बजेटमा पनि होटल क्षेत्रलाई प्राथमिकता नदिए धेरै होटलहरु बन्द हुने र लाखौंको रोजगारी गुम्न सक्ने चेतावनी दिइसकेकी छिन् ।
द्धन्द्धकालमा नेपालका प्रतिष्ठित होटलहरु बन्द भएको स्मरण गराउदै कोरोनाले पनि त्यहि अवस्था सिर्जना हुनबाट सरकारले रोक्नु पर्ने उनीको सुझाव छ ।