काठमाडौं । लकडाउनका कारण आफ्ना कामदारलाई समेत तलब दिन नसकेर छट्पटीएका व्यवसायीलाई कर तिर्न भन्दै ठूला करदाता कार्यालय र आन्तरिक राजस्व विभागले धामधम फोन गर्न थालेको छ ।
लकडाउन गरेर आर्थिक गतिविधि ठप्प बनाएको सरकारले तीन महिनाको कर एकमुष्ट तिर्न व्यवसायीलाई ठूला करदाता कार्यालय र आन्तरिक राजस्व विभागबाट तारन्तार फोन आउन थालेको एक व्यवसायीले बताए ।
विभागका महानिर्देशकदेखि तल्लो तहका कर्मचारीले समेत निरन्तर फोन गरिरहेका छन् । ‘आफूसँग कर तिर्ने त के कामदारलाई दिनेसम्म पैसा छैन्, सरकारलाई कसरी कर तिनू ?’ ती व्यवसायीले क्यापिटल नेपालसँग भने, ‘कर तिर्न सक्दैनौ, सरकारले जे गर्न सक्छ गरे हुन्छ ।’
‘आर्थिक गतिविधि ठप्प बनाउने, कर्मचारीलाई सम्पूर्ण तलब सुविधा दिनुपर्ने, बैंकको ब्याज पनि तिर्नुपर्ने र सरकारलाई बुझाउनुपर्ने कर पनि जेठ २५ भित्रै बुझाउनुपर्ने ?’ ती व्यवसायीले भने, ‘सरकारले कोरोना भाइसरबाट अर्थतन्त्रमा कुनै असर परेको छैन्, जसरी निर्णय गरेको छ ।’
समयसीमा भित्र कर नतिरे सरकारले जरिवाना लगाउने बताइसकेको छ । तर, व्यवसायीलाई जे गर्न सक्छ, गरे हुन्छ । नेपाल उद्योग वाणिज्य महासंघले असार मसान्तसम्म कर तिर्ने समय पुर्याउन माग गरेको छ । त्यसैगरी, जिल्ला उद्योग वाणिज्य संघले समय सार्न अपिल गरिरहेका छन् । तर, सरकारले समय नसार्ने बताइसकेको छ ।