काठमाडौं । सडकको दुई किनारामा गुणस्तरहीन कर्बस्टोन प्रयोग भइरहेको पाइएको छ । सुरक्षाको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिने कर्बस्टोनको प्रयोगमा गम्भीर लापरबाही भइरहेको खुलेको हो ।
लागत घटाउन ठेकेदार कम्पनीले माटोको ढिस्कोलाई कर्बस्टोनको रुपमा राखेको पाइएको हो । एसियाली विकास बैंक (एडीबी)को लगानीमा निर्माण भइरहेको भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्डको दुई किनारामा माटोको ढिस्कोलाई कर्बस्टोनको मान्यता दिइएको पाइएको छ ।
‘सडकको दुई किनारामा प्रयोग हुने कर्बस्टोनको महत्व अत्यधिक छ ।
एडीबीले भैरहवाको बुद्धचोकदेखि विमानस्थलसम्मको ६ लेन सडक ३.६ किलोमिटर, विमानस्थलदेखि लुम्बिनीको पर्सा चोकसम्म चार लेन सडक १४.५ किलोमिटर र पर्सा चोकदेखि कपिलवस्तुको तौलिहवासम्म दुई लेन सडक २३ किलोमिटर गरी जम्मा ४१.१ किमी सडक आफ्नै खर्चमा बनाइरहेको छ । तर, ती सडकका कुनै पनि भागमा गुणस्तरीय कर्बस्टोन प्रयोग गरिएको छैन् ।
भारतीय निर्माण कम्पनी गवार कन्स्ट्रक्सन लिमिटेडले सम्झौता गरेर सडक निर्माण कार्य सुरु गरेको हो । गवाँरले कर्बस्टोनसम्म नबनाई सडकको दुबै पेटिमा वाललगाए जसरी मात्रै कर्बस्टोनको रुप बनाएको क्यापिटल नेपालले स्थलगत अध्ययनबाट फेला पारेको थियो ।

ती सडकमा राखिएका कतिपय कर्बस्टोन अहिले नै काम नलाग्ने भइसकेका छन् । सडक पेटीमा ठड्याइएका कर्बस्टोनलाई सामान्य प्रेसर दिएर थिच्ने वित्तिकै फुट्छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले कर्बस्टोनको स्ट्रेन्थ सरकारले तोकेको छ । सोही अनुसारको मात्रै कर्बस्टोन प्रयोग गर्न पाइने बताए । ‘सामान्य प्रेसर दिँदैमा कर्बस्टोन फ्टुने भन्ने हुँदैन्,’ उनले क्यापिटल नेपालसँग भने, ‘सरकारले बनाएको सडकमा त्यस्तो भएको हो भने, हामी हेर्छौ ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत केन्द्रीय ल्याबका प्रमुख शिव नेपालले कर्बस्टोनको स्ट्याण्डर्ड हुने र सोही अनुसारको मात्रै प्रयोग गर्नुपर्ने बताए ।
नेपालका अनुसार कर्बस्टोन बनाउँदा प्रयोग हुने गिटी वालुवा र सिमेन्टको स्पेसिफिकेसन हुन्छ । सरकारले एउटा मापदण्ड बनाएको छ । भैरहवाकै सडकमा के कसरी बनाइएको भन्ने कुरा जानकारी भएन । ‘कंक्रिटको ग्रेड हेरिन्छ । कम्प्रेसिव स्ट्रेन्थ एम २० देखि २५ सम्म हुनुपर्छ । त्यो भनेको २० किलोन्यूटन परमिटर स्क्वायरको स्ट्रेन्थ थेग्नुपर्ने हुन्छ,’ उनले भने, ‘सामान्यतय नेपालका प्रयोग हुने मापदण्ड यही हो ।’

राम्रोसँग कर्बस्टोन बनाइएको छ भने हातले सामान्य प्रेसर दिँदैमा फुट्ने हुँदै नहुने नेपाल बताउँछन् । एम २० भनेको राम्रो भित्र पर्छ । अहिले उद्योग नै खोलेर कर्बस्टोन बनाउन पनि थालिएको नेपालले बताए । धेरै राम्रो राम्रो कर्बस्टोन पनि बनाउने उद्योग आइसकेको उनको भनाइ छ । कतिपय सडकले उद्योगले बनाएको कर्बस्टोन पनि प्रयोग गरेको पाइएको नेपालले बताए । सरकारसँग कंक्रिटको परीक्षण गर्ने मेकानिजम छ । तर, कर्बस्टोन नै परीक्षण गर्ने मेकानिजम नभएको उनको भनाइ छ ।
याे पनि पढ्नुहाेस् : कहिलेसम्म सडकमा माटाेकाे ढिस्काेलाई 'कर्बस्टोन'काे मान्यता दिइरहने ? डीजी भन्छन्, ‘एक महिनाभित्र मापदण्ड ल्याउँछु’