काठमाडौं । काठमाडौंबासीको ड्रिम पोजेक्टको रुपमा रहेको मेलम्ची आयोजनाको खानेपानी उपत्यकामा आउने विषयमा मन्त्री र सचिवको कुरा बाझिएको छ । खानेपानी मन्त्री बिना मगरले २०७७ साउन भित्रै मेलम्ची उपत्यकामा आइसक्ने दाबी गरेकी थिइन ।
तर, संसदको विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी सचिव माधव बेल्बासेले पानी परिक्षण, पाइप बिच्छ्याएर उपत्यका बासीका धारामा झर्न एक वर्ष लाग्ने बताएका छन् । यो सँगै मेलम्चीको थप एक बर्ष ढिला भएको छ ।
समितिको बैठकमा भने खानेपानी मन्त्री बिना मगरले ठ्याक्क मिति तोकिनन् । तर, उनले पनि सचिव र आयोजना प्रमुखले भनेकै डिजाइनअनुसार मेलम्चीको पानी वितरण गर्ने लक्ष्य रहेको बताइन् । उनले आयोजनाको भौतिक निर्माणको काम सम्पन्न भएपछि उद्घाटनको मिति तोक्ने जानकारी भने दिइन् ।
आयोजना प्रमुख तिरेशकुमार खत्रीले भने आउँदो पुस मसान्तसम्म मेलम्चीका सम्पूर्ण भौतिक काम सम्पन्न भएर परिक्षण गर्न तयार हुने बताए । पानी परिक्षणका लागि ३ ओटा समिति र कार्ययोजना बनाइरहेको उनले बताए । लकडाउनको समयमा भारतीय ठेकेदार कम्पनी र कामदार आउन नसकेपछि पुनः बुटवल पावर कम्पनीसँग ठेक्का सम्झौता गरी काम अघि बढाइएको उनले बताए ।
यसअघि ४५० कामदारले काम गर्ने गरेकोमा अहिले भने १६६ जना कामदारले मात्रै काम गरिरहेका छन् ।
सांसद जिज्ञासा ‘काठमाडौंबासीले धारामा भाडा लिएर पानी थाप्न कहिले पाउँछन’
बैठकमा बोल्ने सवैजसो सांसदहरुले मेलम्चीको पानी काठमाडौंबासीले धारामै थाप्न कहिले पाउँछन्? कहिले सकिन्छ, वितरणको अवस्था र लागत बारेमा जिज्ञासा राखेको थिए ।सांसद बहादुर सिंह लामाले आयोजनाको लागत कतिमा सम्पन्न हुन्छ ? भनेर प्रश्न गरे ।
उनले मेलम्ची दशैंमा आउने भन्दाभन्दै ३ ओटा दशैं गइसकेकाले अब कहिले आउँछ भनेर प्रश्न गरेका थिए । उनले मेलम्चीलाइ बत्तीको चिम नबनाइ स्वीच खोज्ने गरी काम हुनुपर्ने बताए । ‘बत्तीको चीम भएर भएन् , स्वीच खोज्नुपर्यो । अब पानी झर्नुपर्यो । मिति त उहिल्यैदेखि तोक्दै आएको हो नी ।’ उनले भने ।
सांसद जीपछिरिङ लामाले मेलम्ची निर्माणको ढिलाइले जनतालाइ निराश बनाएको बताए । समिति सदस्य गणेश पहाडीले घरघरमा कहिलेसम्म पानी पुग्छ र पुरानो पाइपबाट पानी परिक्षण गर्दा नधान्ने खतरा रहेको बताए । सांसद आशाकुमारी विकले पनि जनताले मेलम्ची कहिले आउँछ भनेर सोध्दा आफुले जवाफ दिन नसकेको बताइन् । अर्का सांसद रामबहादुर बिष्टले भने ‘मेलम्चीको पानी आउने मिति तोक्दा गम्भीर हुनुपर्यो । अब पनि मिति तोकेर पानी नआए मन्त्रीज्यूले राजीनामा दिन्छु भन्न सक्नुपर्छ ।’
सांसद दिनाकुमारी विकले मेलम्ची आएपछि उपत्यका जलमग्न हुने जोखिम रहेको बताइन् । सांसद रंगमति शाहीले मन्त्री बिना मगरलाइ पावर ठूलो भएर गर्ने साहस देखाएपनि जनतालाइ पानी खुवाउन नसकेको आरोप लगाइन् । ‘मन्त्रीज्युको पावर हेर्दा बाहिरबाट ठूलै देखिन्छ । गर्ने साहस देखाउनु हुन्छ । तर, जनताले पानी खान पाएनन् । धारामा भाडा लिएर कहिले थाप्ने? । जनतालाइ हामीले जवाफ दिन सकेका छैनौं ।’
समिति सभापति कल्याणी खड्काले मन्त्री मगरलाइ बाहिर एउटा र समितिमा अर्को कुरा नगर्न आग्रह गरिन । उनले अझैपनि मेलम्चीबारे बुझ्न नसक्नु ठूलो कमजोरी रहेको बताइन् । उनले यथाशक्य छिटो मेलम्चीको पानी काठमाडौंबासीलाइ वितरण गर्न मन्त्रालयलाइ निर्देशन दिइन् ।