काठमाडौं । कर्मचारी सञ्चय कोषले प्रस्तावित ४४२ मेगावाटको बेतन कर्णाली अर्धजलाशय आयोजनामा लगानी खाकामा परिवर्तन गर्ने भएको छ । कोभिड–१९ को गम्भीर असर नेपालका बैंक तथा वित्तीय संस्थामा परेर स्वदेशबाट थप लगानी जुटाउन समस्या देखिएपछि सञ्चय कोषले वेतन कर्णालीको लगानीको खाका परिवर्तन गर्न लागेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले पनि बदलिंदो अवस्थामा नेपाल बैंकहरुबाट लगानी जुटाउन समस्या पर्ने भन्दै नयाँ लगानी खोज्न सञ्चय कोषलाई सुझाएको प्रशासक तुलसी गौतमले बताए । आवश्यक परे लगानीको खाकामा परिवर्तन गर्न अर्थमन्त्री खतिवडाले भनेको उनले जानकारी दिए ।
कोषले अहिले एउटा टिम बनाएर लगानीको विषयमा अध्ययन गरिरहेको उनले सुनाए । यसअघि नविल बैंक र नेपाल एसबीआई बैंकले वेतन कर्णालीमा ५० अर्ब रुपैयाँ ऋण लगानी गर्ने विषयमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका थिए ।
नेपाल एसबीआईमा सञ्चय कोष संस्थापक लगानीकर्ता हुनुका साथै सञ्चालक समितिमा एक जना सञ्चालक कोषबाट प्रतिनिधित्व गरेपछि बैंक तथा वित्तीय संस्था ऐन (वाफिया) अनुसार एसबीआईबाट लगानी नहुने अवस्था आएको छ । यस्तै नविलले मात्र लगानी गर्न नसक्ने भएपछि सञ्चय कोषले अहिले नेपाल इन्फास्ट्रक्चर बैंकसंग कुरा अघि बढाएको गौतमले जानकारी दिए ।
इन्फास्ट्रक्चरबाट पनि तत्काल ठुलो लगानी नआउने भएपछि वित्तीय व्यवस्थापनका लागि स्टेट बैंक अफ इन्डिया (एसबीआई) संग पनि छलफल गरेको प्रशासक गौतमको भनाई छ । आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएकाले लगानी जुटाउन विभिन्न मोडालिटीमा छलफल भइरहेको उनले बताए ।
‘आवश्यक परे सञ्चयकर्ताका अतिरित्त कोष आफैले पनि थप लगानी गर्नुपर्ने अवस्था आउन सक्ने संभावना रहेको छ’ उनले भने । डीपीआरको काम एनईए इन्जिनियरिङ कम्पनीले तयार पारिसकेको छ । डीपीआरमा २८ करोड रुपैयाँ खर्च भएको छ । आयोजना सञ्चय कोष, ६ लाख बढी सञ्चयकर्ता र सर्वसाधारणको लगानीमा निर्माण हुने छ ।
आयोजना सञ्चय कोषले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुने छ । सञ्चयकर्ताबाट ८ अर्ब ४० करोड रुपैयाँ लगानी जुटाउने तयारी छ । हालसम्म ६ अर्ब रुपैयाँ हारहारीमा सञ्चयकर्ताबाट लगानी जुटिसकेको छ ।
कोषका सञ्चयकर्ताले पाउने नाफाको ०.५० प्रतिशत आयोजनामा लगानी भइरहेको छ । कुल २३ अर्ब स्वपुँजी (ईक्विटी) मध्ये सञ्चयकर्ताबाट ८ अर्ब ४० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य छ । ५५ अर्ब रुपैयाँ ऋण लगानी हुने छ ।
बेतन कर्णालीमा सञ्चयकर्ताको ४० प्रतिशत सेयर लगानी हुने गरी लगानीसम्बन्धित विनियमावली बनाइसकेको छ । गत आर्थिक वर्ष ०७३÷०७४ देखिको नाफा आयोजनामा लगानी हुने गरी विनियमावली परिवर्तन गरिएको हो ।
बेतन कर्णाली बनाउन ७८ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । आयोजनाबाट वार्षिक २ अर्ब ३१ करोड ८० लाख युनिट बिजुली उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ । काम सुरु भएको ६ वर्षमा आयोजनाको काम सम्पन्न हुनेछ ।
आयोजना सुर्खेतको चौकुना र अछाममा ढकारी गाउँपालिकामा पर्छ । आयोजनाको बाँध ८९ मिटर अग्लो हुने छ । सुरुङ ६.६ किलोमिटर लामो हुनेछ । १४ किलोमिटर लामो पहुँचमार्ग र ५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन बनाउनुपर्ने देखिएको छ ।
पहिला ६८८ मेगावाटमा डिजाइन गरिएकोमा प्राविधिक कारणले बाँध माथि सार्दा आयोजनाको जडित क्षमता कम भएको हो ।