काठमाडौं । चालू आर्थिक वर्षमा नाफा धेरै घट्ने देखिएपछि बैंकहरुले कानूनी छिद्र प्रयोग गरेर अस्वभाविक शुल्क लिन थालेका छन । नेपाल राष्ट्र बैंक निर्देशनलाई गलत ढंगले प्रयोग गरेर बैंकले सामान आयातकर्ताबाट बढी शुल्क लिन थालेको पाइएको हो ।
अहिले अधिकांश बैंकले विदेशबाट सामान मगाउँदा बैंकलाई बुझाउने डकुमेन्टमा कुनै न कुनै गल्ती खोज्ने र त्यसबापत चर्को शुल्क लिन थालेको आयातकर्ताहरुले बताएका छन् ।
‘हामीले भारतबाट सामान मगाउँछौ, त्योसँगै एउटा डकुमेन्ट पनि आएको हुन्छ । त्यो डकुमेन्ट बैंकमा बुझाएपछि त्यहाँ केही न केही गत्ली पत्ता लगाएर आयातकर्तासँग मनोमानी रुपमा शुल्क लिने गरिएको छ, जसलाई ‘डिस्क्रिपेन्सी चार्ज’ भनिन्छ,’ ती आयातकर्ताले क्यापिटल नेपालसँग भने, ‘डिस्क्रिपेन्सी चार्ज अहिले बैंकलाई कमाउने माध्यम भएको छ ।’
सामान्य भन्दा सामान्य गल्ती देखियो भने पनि बैंकले आफूखुसी चार्ज लिन थालेका छन । चाहे मूल्य अभिवृद्धि कर (भ्याट) होस्, चाहे प्याकिङ लिस्ट होस् वा अन्य कुनै डकुमेन्ट होस् । त्यो डकुमेन्टमा सामान्य गल्ती हुन सक्छ । फुलिस्टप वा कमा छुट्न सक्छ । टाइपिङ इरर हुन सक्छ’ ती आयातकर्ताले भने, ‘तर, बैंकले त्यही गल्ती समातेर प्रति शब्द ५०० देखि ४ हजार रुपैयाँसम्म जरिवाना लिइरहेका छन् ।’
आयातकर्ताका अनुसार यसलाई बैंकले कमाउने माध्यम बनाइरहेका छन् । सानोतिनो गल्तीमा पनि बैंकले मनलाग्दी चार्ज गरिरहेका छन् । राष्ट्र बैंकले डकुमेन्टमा गल्ती देखिए चार्ज लिने व्यवस्था गरेको छ । गल्तीको यति शुल्क लिनुपर्छ भन्ने उल्लेख गरेको छैन् । त्यसैको फाइदा उठाउँदै बैंकले मनोमानी रुपमा पैसा लिइरहेको आरोप आयातकर्ताको छ ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बैंकले मनोमानी शुल्क लिन नपाउने बताउँछन । आफ्नो नाफा बढाउन बैंकले डिस्क्रिपेन्सी चार्जका नाममा अस्वभाविक शुल्क लिने छुट छैन्,’ उनले भने, ‘केन्द्रीय बैंकको उद्देश्य त्यसरी बारम्बार डमुकेन्टमा गल्ती नहोस्, भनेर यस्तो व्यवस्था गरिएको हो । बैंकलाई आम्दानी बढाउने स्रोतका रुपमा होइन् ।’
उनका अनुसार केही बैंकले सामान्य गल्तीको पनि शुल्क लिइरहेको गुनासो केन्द्रीय बैंकमा आउने गरेको छ । यस विषयमा के गर्ने भनेर केन्द्रीय बैंकले छलफल अघि बढाइरहेको उनको भनाइ छ ।
आयातकर्ता व्यापारीका अनुसार केन्द्रीय बैंकले कि डकुमेन्टमा देखिने गल्तीको निश्चित रकम तोक्नुपर्यो, होइन भने डिस्क्रिपेन्सी चार्जका नाममा बैंकलाई जथाभावी शुल्क लिन दिनु भएन ।
गल्ती औल्याउँदै शुल्क उठाउन पाउने भएपछि अहिले बैंकहरुले डकुमेन्टहरुमा गल्ती खोज्ने गरेको आरोप व्यवसायीले लगाएका छन् । कतिपय बैंकले डकुमेन्टमा कहाँनिर गल्ती छ भनेर खोज्न कर्मचारी नै छुट्याएको ती व्यवसायीको भनाई छ । ‘फुलिस्टप छैन, कमा छैन भन्दै बैंकले अस्वभाविक रुपमा चार्ज लिइरहेको ती व्यापारीको जिकिर छ ।
यता नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवनकुमार दाहाल अन्तर्राष्ट्रिय अभ्यासअनुसार बैंकहरुले शुल्क लिने गरेको बताउँछन । अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा जेजस्ता अभ्यासहरु छन तिनिहरुलाई नेपाली बैंकले लागु गरेको जथाभावी शुल्क नउठाएको उनले जिकिर गरे ।
जबकि, त्यो डकुमेन्टमा फुलिस्टप वा कमा नहुँदैमा केही फरक पर्दैन । बैंकको गलत अभ्यासका कारण व्यापारीलाई दोहोरो मर्का परिरहेको छ । एकातिर बैंकले अस्वभाविक रुपमा कमाइरहको छ भने हामीलाई सामान पठाउने पाटीले भन्न थालेको छ ‘तिमीहरुको बैंक सामान्य भन्दा सामान्य गल्तिमा अत्यधिक चार्ज गर्न लागेको छ, त्यही भएर सामान पठाउँदैनौ’ ।
सामान पठाउने पाटीले ११ हजारको सामान पठाउँदा बैंकले १ हजार रुपैयाँ डिस्क्रिपेन्सी चार्ज लगाउँछ भन्ने गरेका छन् । त्यही भएर सामान मगाउने पाटीलाई महँगोमा सामान पठाइरहेका छन ।
उपभोक्तालाई पनि महँगो परिरहेको ती आयातकर्ताको भनाई छ । बैंकको कारणले चाहेर पनि सामान पठाउने पाटीसँग नेगोसिएसन गर्न सकेको छैन ।