काठमाडौं। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया)लाई संशोधन गर्न बनेको विधेयक, २०८० हाल प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा छलफलमा छ। विभिन्न क्षेत्रका सम्बन्धित सरोकारवाला तर्फबाट विधेयकमा दफावार छलफल भइरहेको छ।
यसमा सञ्चालकसम्बन्धी व्यवस्था, संस्थापक र पब्लिक सेयरको प्रावधान, सम्बद्ध व्यक्ति र ऋणीको परिभाषा, धितो सुरक्षण, विद्युतीय कारोबार, लेखापरीक्षणका विषय समेटिएका छन्। सबैभन्दा धेरै चासोको विषय बनेको छ, ‘बैंकर र व्यवसायी एउटै व्यक्ति हुन नहुने व्यवस्था’।
विधेयकले कुनै व्यक्ति वा संस्थाले बैंकको चुक्ता पुँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर लिए ती व्यक्तिले वित्तीय प्रणालीबाट ऋण लिन नपाउने प्रावधान प्रस्ताव गरेको छ। यसले व्यवसायीले बैंकमा सेयर राखेर ऋण लिन नपाउने अवस्थाको सृजना गर्छ।
त्यसैले नेपालका बैंकमा १ प्रतिशतभन्दा बढी संस्थापक सेयर स्वामित्व भएका व्यक्ति कति छन्, खोजीको विषय बनेको छ। क्यापिटल नेपालले सबैभन्दा बढी पुँजी बोकेका वाणिज्य बैंकहरूमा व्यक्तिगत संस्थापक सेयरधनीको तथ्यांक संकलन गरी १ प्रतिशतमाथिको सेयर संरचनाबारे अध्ययन गरेको छ।
यसमा कुन वाणिज्य बैंकमा एक प्रतिशत वा सोभन्दा बढी व्यक्तिगत संस्थापक सेयरधनी को–को छन्? उनीहरूमध्ये पनि को बैंकर र को व्यवसायी हुन् भन्नेबारे खोजी गरेकाे छ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ वटामा ८८ जना व्यक्तिगत रुपमा १ प्रतिशत वा सोभन्दा बढी संस्थापक सेयर स्वामित्व रहेका छन्। उनीहरूमध्ये पनि बाफियाले परिभाषित गरेको बैंकर र व्यवसायी पनि एउटै व्यक्ति ८२ जना संस्थापक छन्। उनीहरूलाई बाफियाले बैंकबाट निकालेर व्यवसायी वा व्यवसाय छाेडेर बैंकर मात्रै बनाउन खोजेको हो।
१. एभरेष्ट बैंकः एभरेष्ट बैंकमा कुल ६५.३ प्रतिशत संस्थापक सेयर रहेको छ। जसमा पञ्जाब नेसनल बैंकको २०.०३ प्रतिशतसहित ५ जना व्यक्तिगत संस्थापक सेयरधनी छन्। व्यक्तिगत संस्थापकमा सबैभन्दा धेरै १४.७७ प्रतिशत प्रतिमा श्रेष्ठ, ९.१८ प्रतिशत विष्णुकृष्ण श्रेष्ठ (स्व. बीके श्रेष्ठ), १.८८ प्रतिशत रविकृष्ण श्रेष्ठ, १.८८ प्रतिशत किरणकृष्ण श्रेष्ठ र १.१८ प्रतिशत सन्तदेव श्रेष्ठको रहेको छ।
बैंकमा १ प्रतिशतमाथि संस्थागत सेयर स्वामित्व रहेका उल्लेखित सेयरधनी सबै नेपालको कुनै पनि व्यवसायमा संलग्न रहेको पाइन्दैन। (बैंकका पूर्वअध्यक्ष (विष्णुकृष्ण) बीके श्रेष्ठको निधन भइसकेको छ।
२. माछापुच्छ्र्रे बैंकः बैंकमा १ प्रतिशत वा सोभन्दा बढी ४८.६५ प्रतिशत सेयर स्वामित्व रहेको छ। जसमा १२ जना संस्थापक सेयरधनीको सेयर स्वामित्व १ प्रतिशत वा सोभन्दा बढी रहेको ९ जना व्यक्तिगत संस्थापक छन्। व्यक्तिगततर्फ सबैभन्दा बढी ९.२४ प्रतिशत उपेन्द्र महताे सुडी, ८.१४ प्रतिशत प्रेमकुमार केसी, राम आशीष साहु सुडी ४.२४ प्रतिशत, डा. धर्मराज श्रेष्ठको २.०३ प्रतिशत, कृष्णगोपाल श्रेष्ठको १.७८ प्रतिशत, सुरेन्द्र महताेको १.७१ प्रतिशत, रोशन केसीको १.४८ प्रतिशत, किरण केसीको १.४८ प्रतिशत र प्रकाश केसीको १.२९ प्रतिशत सेयर स्वामित्व छ।
बैंकको उल्लिखित व्यक्तिगत संस्थापक सेयरधनी सबैको नेपालभित्रै कुनै न कुनै व्यापार व्यवसाय रहेको छ। उनीहरू सबै व्यवसायी र बैंकर हुन्।
३. एनआईसी एसिया बैंकः यो बैंकमा १ प्रतिशत वा सोभन्दा बढी संस्थापक सेयर ४५.२३ प्रतिशत रहेको छ। जसमा यस्तो सेयर स्वामित्व भएका १५ जना सेयरधनी नै संस्थापक हुन्। उनीहरुको १ प्रतिशतमाथि ६.१२ प्रतिशत सेयर स्वामित्व रहेको देखिन्छ।
एनआईसीमा सबैभन्दा धेरै अशोक अग्रवालको ६.१२ प्रतिशत, त्रिलोकचन्द्र संघाईको ५.३४ प्रतिशत, रामचन्द्र संघाईको ४.४१ प्रतिशत, सुभाषचन्द्र संघाईको ४.३७ प्रतिशत, लोकमाया गोल्छाको ३.१० प्रतिशत, अनुज अग्रवालको २.८६ प्रतिशत, जयश्री गोल्छाको २.७४ प्रतिशत, जगदीशप्रसाद अग्रवालको २.५३ प्रतिशत, वीरेन्द्रकुमार संघाईको २.०१ प्रतिशत, अक्षय गोल्यानको १.९४ प्रतिशत र तुलसीराम अग्रवालको १.७८ प्रतिशत सेयर स्वामित्व छ।
साथै, मञ्जु अग्रवाल १.७८ प्रतिशत, सचिता अग्रवाल १.७८ प्रतिशत, निकुञ्ज अग्रवालको १.७६ प्रतिशत र गोविन्दलाल संघाईको १.६१ प्रतिशत संस्थापक सेयर स्वामित्व छ। उल्लिखित व्यक्तिहरु एनआईसी एसिया बैंकको संस्थापक सेयरधनीसँगै नेपालभित्रै विभिन्न व्यवसायमा संलग्न छन्।
४. सानिमा बैंकः बाफियामा उल्लेख गरेअनुसार बैंकमा १ प्रतिशत वा सोभन्दा बढी संस्थापक सेयर ४६.२१ प्रतिशत रहेको छ। उल्लिखित सेयर स्वामित्वमा ११ जना संस्थापकको रहेको छ। यीमध्ये ७ जना व्यक्तिगत संस्थापक सेयरधनी हुन्।
सानिमा बैंकमा व्यक्तिगत संस्थापकमा सबैभन्दा बढी अरुणकुमार ओझाको ७.९४ प्रतिशत, टेकराज ओझाको ६.३९ प्रतिशत, जीवननाथ लामिछानेको ५.४४ प्रतिशत, विनयकुमार श्रेष्ठको ४.२७ प्रतिशत, खेमराज लामिछाने ३.४७ प्रतिशत र रामकृष्ण शाहको २.४९ प्रतिशत रहेको छ। उल्लिखित संस्थापक सबै बैंकका सेयरधनी नेपालभित्रै विभिन्न व्यवसायमा संलग्न छन्।
५. लक्ष्मी सनराइज बैंकः १ प्रतिशत वा सोभन्दा बढी संस्थापक सेयर स्वामित्व बैंकमा ४२.३३ प्रतिशत रहेको छ। जसमा १२ जना व्यक्तिगत संस्थापक हुन्। व्यक्तिगत संस्थापकमध्ये सबैभन्दा बढी शारिका खेतानको ४.१७ प्रतिशत, स्नेहा खेतानको ३.९१ प्रतिशत, मोतीलाल दुगडको २.७७ प्रतिशत, मालचन्द दुगडको २.४० प्रतिशत, रतनलाल सघांईको २.३९ प्रतिशत, गोपीकृष्ण सिकारियाको २.३५ प्रतिशत र राजेन्द्रकुमार खेतानको २.३५ प्रतिशत सेयर स्वामित्व रहेको छ।
साथै, बैंकमा श्रवणकुमार गोयलको १.४७ प्रतिशत, सुरेन्द्र दुगडको १.४१ प्रतिशत, विवेक दुगडको १.३३ प्रतिशत, बच्चाराज ताटेडको १.१५ प्रतिशत र कैलाशचन्द्र गोयलको १ प्रतिशत संस्थापक सेयर स्वामित्व छ। उल्लिखित सबै बैंकका संस्थापक नेपालभित्रै विभिन्न व्यवसायमा संलग्न छन्।
६. सिटिजन्स बैंकः बैंकमा एक प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व बैंकमा कुल १६.९७ प्रतिशत रहेको छ। जसमा व्यक्तिगत संस्थापक ११ जना छन्। बैंकका व्यक्तिगत संस्थापकमध्ये उर्मिला पाण्डेको ३.३० प्रतिशत, तारा विष्टको १.५९ प्रतिशत, बिजेन्द्र जोशीको १.३७ प्रतिशत, मनोहरदास मोलको १.३० प्रतिशत, डिगविजय विष्टको १.३० प्रतिशत, पवित्राकुमार कार्की १.२८ प्रतिशत, रविन्द्रमान सिंह प्रधानको १.२८ प्रतिशत, सावित्री शर्माको १.१८ प्रतिशत र रमेश शर्माको १.०२ प्रतिशत सेयर स्वामित्व छ। बैंकका उल्लिखित संस्थापक नेपालभित्रै विभिन्न व्यवसायमा संलग्न रहेका छन्।
७. सिद्धार्थ बैंकः बैंकमा कुल २६.८३ प्रतिशत संस्थागत सेयर १ प्रतिशत वा सोभन्दा बढी छ। उक्त सेयर १५ जना संस्थापकको स्वामित्वमा छ। यीमध्ये १४ जना व्यक्तिगत संस्थापक सेयरधनी रहेका छन्। बैंकमा नरेन्द्रकुमार अग्रवालको २.९५ प्रतिशत, रतनलाल केडियाको २.९५ प्रतिशत, चिरञ्जीलाल अग्रवालको १.८१ प्रतिशत, पवनकुमार अग्रवालको १.७६ प्रतिशत, सुवोध टोडीको १.५५ प्रतिशत, वीरेन्द्रकुमार शाहको १.५४ प्रतिशत सेयर स्वामित्व छ।
यस्तै, अशोककुमार बाहेतीको १.४८ प्रतिशत, नरपतसिंह जैनको १.४५ प्रतिशत, दीननाथ केडियाको १.४१ प्रतिशत, आदित्य केडियाको १.३९ प्रतिशत, तुषार टोडीको १.२८ प्रतिशत र सुरेशकुमार रुंगटाको १.२१ प्रतिशत सेयर स्वामित्व छ। बैंकका उल्लिखित संस्थापक सबै नेपालभित्रै विभिन्न व्यवसायमा संलग्न रहेका छन्।
८. ग्लोबल आईएमई बैंकः ग्लोबलमा १४.४१ प्रतिशत एक वा सोभन्दा बढी प्रतिशत संस्थापक सेयरको हिस्सा रहेको छ। जसमा व्यक्तिगत संस्थापकमा सुमितकुमार अग्रवालको १.८२ प्रतिशत र विष्णुप्रसाद नेउपानेको १.४१ प्रतिशत सेयर स्वामित्व रहेको छ। उनीहरु दुवै व्यवसायीहुन्।
९. प्रभु बैंकः उक्त बैंकमा एक प्रतिशत वा सोभन्दा बढी ३ वटा संस्थापक सेयर १०.२३ प्रतिशत रहेको छ। जसमध्ये व्यक्तिगत संस्थापकमा गौरव अग्रवालको २.७१ प्रतिशत सेयर रहेको छ। बाँकी एसियन लाइफ र कर्मचारी सञ्चय कोषको रहेको छ। गौरव अग्रवाल प्रभु बैंकको संस्थापक सेयरधनीसँगै व्यवसायी हुन्।
१०. प्राइम कमर्सियल बैंकः बैंकमा १ प्रतिशत वा सोभन्दा बढी ७.८७ प्रतिशत संस्थापक सेयर रहेको छ। जसमध्ये व्यक्तिगततर्फ उमेश श्रेष्ठको २.४६ प्रतिशत र विनोदचन्द्र भरालको १.४४ प्रतिशत रहेको छ। उमेश श्रेष्ठ व्यवसायी हुन्। विनोद नेपालभित्र कुनै पनि व्यवसायमा हालसम्म प्रत्यक्ष संलग्न रहेको देखिँदैन।
११. कुमारी बैंकः बैंकमा १ प्रतिशतभन्दा बढी १२.०८ प्रतिशत सेयर रहेको छ। जसमध्ये ३ जना व्यक्तिगत संस्थापक रहेका छन्। बैंकको व्यक्तिगत संस्थापकमा अमिरप्रताप जबराको २.०२ प्रतिशत, जानुकीकुमारी जबरा शाहीको १.३० प्रतिशत र सावित्री गुरुङको १.२० प्रतिशत संस्थापक सेयर स्वामित्व रहेको छ। उनीहरू सबै नेपालभित्रै व्यवसाय गर्ने व्यवसायी हुन्।
१२. एनएमबी बैंकः बैंकमा १ प्रतिशतभन्दा बढी २९.५१ प्रतिशत संस्थापक सेयर रहेको छ। जसमा व्यत्तिगत संस्थापकमा नन्दकिशोर राठीको १.६८ प्रतिशत, धनञ्जयप्रसाद आचार्यको १.५३ प्रतिशत र सुनिलकुमार घोस्लीको १.०४ प्रतिशत सेयर स्वामित्व छ। राठी र घोस्ली बैंकका संस्थापकसँगै व्यवसायी पनि हुन् भने आचार्यको नेपालभित्रै कुनै व्यवसाय रहेको पाइँदैन।
१३. हिमालयन बैंकः उक्त बैंकमा एक प्रतिशत वा सोभन्दा बढी ९ संस्थापक सेयरको हिस्सा ६१.०१ प्रतिशत रहेको छ। उक्त सीमाका ९ जना बैंकका संस्थापकमध्ये ३ जना व्यक्तिगत संस्थापक रहेका छन्। जसमा प्रदीपजंग पाण्डेको १.९८ प्रतिशत, शशिकान्त अग्रवालको १.७१ प्रतिशत र इच्छाराज तामाङको १.३६ प्रतिशत रहेको छ। उनीहरु सबै नेपालभित्रै व्यवसाय गर्ने व्यवसायी हुन्।
१४. कृषि विकास बैंकः सरकारको ५१ प्रतिशत सेयर स्वामित्व रहेको याे बैंकमा १ प्रतिशतभन्दा बढी संस्थापक सेयर कृष्णगोपाल श्रेष्ठको १.३९ प्रतिशत रहेको छ। बैंकका संस्थापकसमेत रहेका श्रेष्ठ व्यवसायी हुन्।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल बैंक, नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक र नेपाल इन्फास्ट्रक्चर बैंकमा १ प्रतिशत वा सोभन्दा बढी संस्थापक सेयर सवामित्व भएका व्यक्तिगत संस्थापक छैनन्। राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको हो।