काठमाडौं। झट्ट सुन्दा र पढ्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ–नेपालमै बसेर कुनै व्यक्तिले महिनाको ४ लाख कमाउँछन् भन्दा। तर, मिहिनेत गर्नेले त्यसको फल अवश्य पनि राम्रो पाउँछ भन्ने गतिलो उदाहरण बनेका छन्, बागलुङ घर भई हाल नयाँ बजारमा फलफूल व्यवसाय गरिरहेका अग्नि कँडेल।
यति मात्र हैन, लगानी नभएकै कारण आफूले चाहेजस्तो व्यवसाय गर्न नपाएको र रोजगारीका लागि लाखौं रुपैयाँ खर्चिएर विदेश जानेका लागि समेत प्रेरणा–स्रोतको रुपमा कँडेल देखिएका छन्।

व्यवसायमा तीव्र इच्छा र लगनशील भए कुनै पनि काममा सफलता हात पार्न सकिन्छ र त्यसका लागि धैर्य आवश्यक रहेको उनको बुझाइ छ। कुनै पनि काम दिल लगाएर गरिन्छ, त्यो व्यक्तिले सफलताको शिखर चुमेकै हुन्छ’, उनले भने।
१२०० बोकेर २०५८ मा आएका थिए काठमाडौं
गाउँघरमा रहँदा सामाजिक र राजनीतिक काम धेरै गर्दै विभिन्न व्यवसाय सञ्चालन गरेका कँडेल २०५८ मा १ हजार २ सय रुपैयाँ लिएर काठमाडौं छिरेका थिए।
गाउँघरमा रहँदा ५०औं लाख रुपैयाँ धानको व्यापारमा फँसेपछि अब कुनै पनि हालतमा यहाँ बसेर हुँदैन भन्दै १२ सय रुपैयाँसहित काठमाडौं छिरेका कँडेल अहिले सफल व्यवसायी बनिसकेका छन्। उनले यतिबेला फलफूल बिक्रेता मात्र हैन, अरुलाई पनि यो क्षेत्रमा लाग्न उत्प्रेरणासमेत दिँदै आएका छन्।
कँडेलले सुरुमा साइकलमा फलफूल बेचेका थिए। विस्तारै साइकलको व्यापार राम्रो हुँदै गएपछि नयाँ बजारमा सटर लिएर कँडेल फ्रुट्स नामक पसल सञ्चालनमा ल्याए। अहिले नयाँ बजारमा रहेको फलफूल चोकको नामै उनको पसलबाट स्थापित भएको हो।
कँडेलका १६ परिवार बेच्छन् फलफूल
उनले साइकलबाट सटर सरेर व्यवसाय सुरु गरेकै २४ वर्ष भइसक्यो। अहिले उनले घर घडेरी मात्र जोडेका छैनन्, आफ्नो परिवार र आफन्तलाई समेत फलफूल व्यवसायमै आबद्ध गराएका छन्।
‘मैले छोराबुहारी, छोरीज्वाइँ, बहिनीज्वाइँलगायत आफन्त १६ परिवारलाई फलफूल बिक्री व्यवसायमै लगाएको छु,’ कँडेलले भने, ‘अहिले उनीहरु पनि मजस्तै व्यवस्थित भइसकेका छ। ५÷६ वर्षकै बीचमा काठमाडौंमा करोडौंका घरघडेरी जोडिसकेका छन्।’

विदेशमा वर्षौंसम्म काम गरेर पनि ठूलो प्रगति गर्न नसकेका धेरै आफन्तलाई फलफूल बेच्न लगाएरै काठमाडौंमा सफलता मिलेको उनको भनाइ छ।
मासिक कमाइ ४ लाख
कँडेलले अहिले महिनाको ४ लाख रुपैयाँसम्म फलफूल बेचेरै आम्दानी गर्दै आएका छन्। खुद्रा व्यापार गर्दै आएका उनले महिनामा २ देखि ३ लाख रुपैयाँ खुद आम्दानी हुने गरेको बताउँछन्। ‘कहिलेकाहीँ दिनकै १ लाखसम्मको सामान बिक्री हुन्छ,’ कँडेलले भने, ‘३० देखि ५० हजार सामान्य हो। त्यसबाट सबै कटाएर ४ लाख रुपैयाँ चोखो रकम खल्तीमा पस्छ।’
यसरी महिनाको लाखौं कमाइ हुनेमा उनको मात्र हैन। अन्य पसलले पनि सामान्य २ देखि ३ लाख रुपैयाँ आम्दानी गर्दै आएको कँडेल बताउँछन्। सामान्य साइकलमा फलफूल बेच्नेहरुले समेत महिनाको ८० देखि १ लाखभन्दा बढी आम्दानी गर्ने गरेको उनको भनाइ छ।
कँडेलले सुरुमा साइकलमा फलफूल बेचेका थिए। विस्तारै साइकलको व्यापार राम्रो हुँदै गएपछि नयाँ बजारमा सटर लिएर कँडेल फ्रुट्स नामक पसल सञ्चालनमा ल्याए। अहिले नयाँ बजारमा रहेको फलफूल चोकको नामै उनको पसलबाट स्थापित भएको हो।
कामलाई सम्मान गर्न सके जानुपर्दैन विदेश
सानो लगानीमा ठूलो आम्दानी गर्न कामलाई कहिल्यै पनि ठूलो र सानोको रुपमा लिन नहुने कँडेलको सुझाव छ। ‘जब काममा दिल ज्यान दिएर लागिन्छ तब राम्रो आम्दानी मिल्छ,’ कँडेलले भने, ‘लाखौं रुपैयाँ खर्चेर विदेश गएर पसिना बगाउनुभन्दा यही काम गरेर लाखौं रुपैयाँ कमाउन सकिन्छ।’ उनले विदेश जाने युवालाई नेपालमा बस्न र सानै भए पनि उद्यम गर्न सुझाव दिइरहेका हुन्छन्।
सानो लगानीको व्यापार

फलफूलको व्यापार गर्न करोडौं रुपैयाँ चाहिँदैन। ‘हजार रुपैयाँ लगानी गरेर फलफूल किन्दै बेच्दै विस्तारै आफ्नो व्यवसायलाई विस्तार गर्न सकिने भनेकै यही हो’, उनले भने। एउटा सटरमा राखेर राम्रो पसल चलाउन ५ देखि ७ लाख रुपैयाँ भए पुग्ने उनको भनाइ छ।
लाखौं रुपैयाँ खर्चेर विदेशमा गएर महिनाको १ लाख पनि कमाउन नसक्ने स्थितिमा यही त्यहीँ रकम खर्चेर महिनामा लाख रुपैयाँ कमाउन सकिने उनले बताए। कुनै पनि युवाले यो क्षेत्रमा व्यवसाय गर्न चाहे आवश्यक आइडिया र सुझाव दिन तयार रहेको उनी सुनाउँछन्।
फ्रेन्चाइजीको अवधारणा
आफ्नो ज्ञान र विज्ञतालाई एक ठाउँमा मात्र सीमित राख्नुहुन्न भन्ने सोचका साथ कँडेलले ४ जना साथीसँगै मिलेर आउटलेट सुरु गरेका छन्।
मुलुकभर फ्रेन्चाइजी दिएर फलफूल बिक्रीलाई व्यवस्थित गर्ने उद्देश्यका साथ कँडेलसहितको समूहले सोल्टीमोडमा पहिलो आउटलेट फल फ्रुट्स ‘ताजा फलफूल र स्वादको नाम’ नारा दिएर सुरु गरेको छ। फल फ्रुट्स प्रालिमार्फत मुलुकभर यसको आउटलेट सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए।
५ वर्षमा ५० आउटलेट
फल फ्रुट्सलाई पाँच वर्षमा मुलुकभर ५० वटा आउलेटमा विस्तार गर्ने योजना बनाएका छन्, कँडेलले। केहीमा आफ्नै लगानी र केहीलाई फ्रेन्चाइजीका रुपमा सञ्चालन गरिनेछ। न्यूनतम मूल्यमा पसल बनाएर हस्तान्तरण गर्ने र आवश्यक अनुगमन कम्पनीले गर्ने गरी फ्रेन्चाइजी दिइनेछ।
रोजगारी खोजीमा बिदेसिन खोजेका युवालाई प्राथमिकतामा राखेर आउटलेट सञ्चालन तयारी छ। केही लगानी आफ्नो र केही अन्यको साझेदारीमा समेत आउटलेट सञ्चालन गर्न सकिने उनले उल्लेख गरे।
‘जोसँग थोरै पुँजी छ, तिनीहरुसँग साझेदारको रुपमा रहेर काम गर्ने योजना हामीले बनाएका छौं,’ सञ्चालक कँडेलले भने, ‘लगानी नहुनेलाई लगानीसमेत जुटाइदिन्छौं।’ आउटलेट विस्तार हुँदै जाँदा रोजगारीसमेत सिर्जना हुनेछ।
अहिले एउटा आउटलेटमा कम्तीमा पनि ५ जना काम गर्ने चाहिन्छ। यसरी ५०औं वटा आउटलेट सञ्चालन हुँदा ५ जनाको दरले २५० जनालाई रोजगारी दिन सकिने उनको तर्क छ। यस्तै, अबको केही समयभित्रै ई–कमर्समार्फत पनि फलफूल बेच्ने तयारी कम्पनीले गरिरहेको जानकारी उनले दिए।
किसानसँग सहकार्य

सकेसम्म नेपाली उत्पादनलाई नै प्राथमिकता दिने उद्देश्यका साथ किसानसँग सहकार्य गरिरहेको उनले बताए। गाउँगाउँमा रहेका किसानको उत्पादन लिइदिने र थप उत्पादनका लागि आवश्यक प्रोत्साहन गरिरहेको कम्पनीको भनाइ छ।
किसानबाट उत्पादित फलफूललाई प्याकेजिङ, बजारीकरणको जिम्मा लिएर काम गरिरहेको कँडेल सुनाउँछन्। सबै आउटलेटमा पहिलो प्राथमिकता नेपाली उत्पादन ररिरहने उनले बताए।