काठमाडौं । सिर्सिया सुख्खा बन्दरगाहले बढी शुल्क लिएको भन्ने गुनासो आएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफ्ना कर्मचारीलाई अध्ययनका लागि वीरगन्जस्थित सुख्खा बन्दरगाह पठाएको छ ।
बन्दरगाह सञ्चालकले बढी शुल्क लिएको, सामान हटाउने समय कम दिएको भन्ने गुनासो बढेपछि मन्त्रालयले आजै वीरगन्जमा कर्मचारी पठाएको मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले जानकारी दिए ।
बन्दरगाह सञ्चालक प्रिन्स्टाइन मेगा कम्पनीले सम्झौता अनुरुप शुल्क लिए नलिएको विषयमा अध्ययन गर्न कर्मचारी पठाएको उनको भनाइ छ । सिर्सिया सुख्खा बन्दरगाह सञ्चालकले मनपरी शुल्क उठाउन थालेको गुनासो बढेकाे पछि कर्मचारीलाइ वीरगन्ज नै पठाइएकाे हाे ।
त्यहाँ भएकाे वास्तविकता र सम्झाैता हेर्ने र बढी लिएकाे भए साेही अनुसार सरकार अघि बढने मन्त्रालयकाे तयारी छ ।
पुरानोको तुलनामा नयाँ सञ्चालक प्रिन्स्टाइन मेगा कम्पनीले शुल्क बढाएको भन्ने उद्योगी/व्यवसायीले गुनासो गरेपछि सम्झौता अनुरुप लिए/नलिएको हेर्नका लागि कर्मचारी पठाइएकाे सचिव अर्यालले बताए ।
‘सञ्चालकले कुनकुन क्षेत्रमा कस्तो लिएकाे छ, निर्धारण गरेअनुरूप छ कि छैन । उताबाट रिपाेर्ट नअाउँदासम्म केही भन्न सकिन्न । त्यही भएर मन्त्रालयका कर्मचारी पठाएका हाैं’ अर्याल क्यापिटल नेपालसंग भने, ‘सायद, बुधबारसम्म रिपाेर्ट लिएर कर्मचारी आइपुग्ला । त्यसपछि मात्रै के गर्ने भन्ने थाहा हुन्छ ।’
उद्योगीका अनुसार नयाँ सञ्चालकले कारोबार गर्न नसक्ने व्यवस्था लागू गरेर आयातकर्तासँग शुल्क असुल्न थालेको बताएका छन् । ‘पुरानो कम्पनीको तुलनामा प्रिन्स्टाइनले सबै शुल्क पनि बढाएको छ ।
त्यसैगरी सामान लैजाने समय पनि घटाएको छ,’ उद्योगी शशिकान्त अग्रवालले भने, ‘सुख्खा बन्दरगाहले जुन समय दिएको छ, त्यो अवधिभित्र सामान लैजान सम्भव नै हुँदैन ।’
उद्योगीका अनुसार बीसीएन अन्र्तगत आउने सामानमा एउटा शुल्क र आइरनअन्तर्गत अर्को शुल्क निर्धारण गरिएको छ । सुख्खा बन्दरगाह स्रोतका अनुसार हिमालयन टर्मिनलले बीसीएन आउने सामानको टर्मिनल शुल्कबापत प्रतिटन १३३ रुपैयाँ ३४ पैसा, वेयरहाउस शुल्क ८७ रुपैयाँ १० पैसा, प्रवेश शुल्क ४१० पैसा, फ्री टाइम एक प्लस ५ दिन उपलब्ध गराएको थियो ।
तर, नयाँ कम्पनी प्रिस्टनले सुख्खा बन्दरगाहको ठेक्का पाउने बित्तिकै टर्मिनल शुल्क १४४ रुपैयाँ ३० पैसा पुर्याएको छ । त्यसैगरी, वेयरहाउस शुल्क ९४ रुपैयाँ ९२ पैसा, प्रवेश शुल्क ४५१ रुपैयाँ २३ पैसा, फ्री टाइम १ प्लस २ दिन दिइएको छ ।
त्यसैगरी हिमालयन टर्मिनलले सुख्खा बन्दरगाह सञ्चालन गर्दा आइरनअन्तर्गत आउने सामानको टर्मिनल शुल्कबापत ३४४ रुपैयाँ, फ्री टाइम एक प्लस ३ दिन दिएको थियो । तर, प्रिन्स्टाइनले टर्मिनल शुल्क पनि बढाएर ३७७ रुपैयाँ ३ पैसा पुर्याएको छ भने फ्री टाइम पनि एक दिन मात्रै दिएको छ ।
उद्योगी व्यवसायीले एक दिनमा कुनै हालतमा सामान बन्दरगाहबाट हटाउन नसकिने बताइरहेको छ । सरकारले यस विषयमा भएको के हो भनेर आवश्यक अध्ययन पनि सुरु गरेको अर्यालले बताए ।
यो पनि पढ्नुस
सुख्खा बन्दरगाहका ठेकेदारले मनलाग्दी उठाउन थाले शुल्क, २४ घण्टाभित्र सामान नहटाए डेमोरेज चार्ज