काठमाडौं । जो दैनिक अर्बौ रुपैयाँमा कारोबार गर्छ । जसको बार्षिक कारोबार खर्ब नजिक पुग्छ, जसले आफूलाई देशकै प्रतिष्ठित उद्योगीको रुपमा चित्रित गरिरहेको हुन्छ । त्यही उद्योगी तथा व्यावसायिक घरानाले किसानबाट किनेको उखुको भुक्तानी गर्न हिच्किचाएको छ ।
दैनिक अर्ब कमाउने प्रतिष्ठित व्यावसायिक घराना विशाल ग्रुप, नेपाल विद्युत् प्राधिकरणका अर्बौका ठेक्का हडप्ने राकेश अग्रवाल (आरके अग्रवाल) र मनोज अग्रवालको खराब नियतका कारण अहिले समग्र चिनी उद्योगीको बदनाम भएको छ ।
यिनै तीन जना खराब नियत भएका उद्योगीका कारण किसानसँग सुमधुर सम्बन्ध राखेर उनीहरुले उत्पादन गरेको उखु किनेर समयमै भुक्तानी गर्ने चिनी उद्योगीको शिर निउरिएको छ ।

श्रीराम सुगर मिलमा विशाल ग्रुप र हितेश गोल्छा छन् । आजको दिनमा विशाल ग्रुपको दैनिक कारोबार अर्ब नजिक पुग्छ भने हितेश गोल्छाको कारोबार पनि करोडौंमा छ । तर, उखु किसानको ३६ करोड रुपैयाँ तिर्न आनाकानी गरिरहेका छन् ।
श्रीराम सुगर मिलमा विशाल ग्रुप र हितेश गोल्छाको बराबर हिस्सा छ । त्यही ३६ करोड रुपैयाँ उठाउन उखु किसानहरु काठमाडौं आइपुगेका छन् । किसानहरु आफ्नो श्रमको मूल्य खोज्दै काठमाडौं आएको यो पहिलो पटक होइन । उनीहरु गतवर्ष पनि यही समयमा काठमाडौमा न्याय माग्न आएका थिए ।
तर, सरकारले उनीहरुलाई न्याय दिने बचन मात्रै दियो, न्याय दिएन । त्यही भएर दोस्रो पटक पनि काठमाडौंमा आइपुगेका छन् ।
त्यसैगरी, चिनी उद्योगीको शिर झुकाउन बाध्य बनाउने अर्को व्यवसायी हुन्–राकेश अग्रवाल । अन्नपूर्ण चिनी मिल र इन्दिरा चिनी मिलका सञ्चालक हुन राकेश । गतवर्ष पछि प्रहरी हिरासतमा एक रात बिताएका अग्रवालले अहिलेसम्म किसानको भुक्तानी दिएनन् ।

त्यो बेला प्रहरी खोरबाटै किसानको पैसा तिर्ने लिखित सम्झौता गरेका आरकेले अहिलेसम्म कुनै पनि किसानको एक रुपैयाँ पनि भुक्तानी गरेनन् । नेपाल विद्युत् प्राधिकरणको झण्डै ७ अर्ब रुपैयाँको ठेक्का हत्याएर अलपत्र अवस्थामा छाड्ने व्यक्ति हुन आरके । उनले प्रसारण लाइन र वितरण प्रणाली विस्तारको ठेक्का पाएका छन् ।
उनले पनि किसानको २२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । तर, उनीसँग २२ करोड रुपैयाँ नभएको होइन् । उनको नियत नै खराब हो । अहिले उनी अन्नपूर्ण चिनी मिल बेच्ने दाउमा छन् । सरकारसामू उनले चिनी मिल बेचेर किसानको भुक्तानी गर्ने बताउँदै आएका छन् । तर, उनको चिनी मिल बेच्दा बैंकबाट लिएको ऋण पनि तिर्न पुग्दैन । बैंकले आफ्नो ऋण नउठाई किसानको पैसा भुक्तानी गर्न बाटो खुला गर्दैन ।
प्राधिकरणका हरेक आयोजना अलपत्र पारेर बदनाम कमाएका आरके चिनी मिल बेचेर किसानको भुक्तानी नदिने दाउमा छन् ।
त्यसैगरी, लुम्बिनी चिनी मिलले किसानको भुक्तानी गरेको छैन । लुम्बिनीले ८ करोड रुपैयाँ भुक्तानी तिर्न बाँकी छ ।
लुम्बिनी चिनी मिलका सञ्चालकको पारिवारिक किलचो परेपछि किसानको भुक्तानी रोकिएको थियो । स्वर्गीय मनिष अग्रवालको नाममा रहेको चिनी मिल अंश बण्डापछि उनका दाजु मनोज अग्रवालको भागमा परेको छ । अब सम्पूर्ण दायित्व उनका दाजु मनोजको भागमा परेको छ ।
पारिवारिक किचलोले किसानको भुक्तानी अड्केको र अब छिटै भुक्तानी सुरु गर्ने पारिवारिक स्रोतको भनाइ छ । मनोज अग्रवाल सम्पन्न परिवारका व्यक्ति हुन् ।

कमजोर व्यवस्थापनले डुब्यो श्रीराम
स्वर्गीय दिवाकर गोल्छा नयाँ उद्योग लगाउन जति माहिर थिए, त्यति नै व्यवस्थापनमा कमजोर । उनले जुन जुन ठाउँ उद्योग खोले त्यहाँ कहिल्यै राम्रो व्यवस्थापन गरेनन् । त्यसैको उदारहण हो– श्रीराम सुगर मिल ।
व्यवस्थापकीय कमजोरीकै कारण श्रीराम त्यो हालमा पुगेको हो भने सयौं किसानको दर्दनाक अवस्था आएको हो । श्रीराम सुगर मिलको अवस्था दिन प्रतिदिन बिग्रिँदै गएपछि गोल्छा परिवारले विशाल ग्रुपलाई भित्र्याएका हुन् ।
विशाल ग्रुपको उत्कृष्ट व्यवस्थापन हुन्छ र उद्योगले गति लिन्छ भन्ने दिवाकरको सोच थियो । तर, त्यो भएन । विशाल ग्रुप भित्रिएपछि पनि श्रीरामको व्यवस्थापनमा कुनै सुधार आएन । आज उद्योग बन्द हुन पुग्यो । कयौं किसानले भुक्तानी पाउन सडक आन्दोलनको बाटो रोज्न बाध्य भए ।
किसानमारा उद्योगी
खराब नियत भएकै उद्योगीका कारण सम्पूर्ण उद्योगीको शिर निउरिएको छ भने एकातिर देशमा उखु खेती गर्ने किसान पलायन भएका छन् । किसानको श्रमको मूल्य लिन काठमाडौंमा आइपुगेका छन् । तर, उद्योगीले आफ्नो उद्योग घाटामा गएको देखाएर उम्किने प्रयास गरिरहेका छन् । तर, सरकारले किसानको पैसा नतिर्नेलाई कडा कारबाही गर्नुपर्छ ।

उद्योग मन्त्रीले डाकेको बैठकमा पैसा तिर्न केही भएनन तयार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चिनी उद्योगीलाई सोमबार मन्त्रालयमा छलफलका लागि बोलाएका थिए । किसानको भुक्तानी तत्काल गर्न मन्त्री भट्टले आग्रहलाई आरेक अग्रवाल र विशाल ग्रुप कोही पनि तयार भएनन् ।
‘उखु किसानका कारण सरकारको बदनाम भइरहेको छ । नेकपाको बदनाम भइरहेको छ । तर, पनि उद्योगीहरु भुक्तानी गर्न सहमत भएनन्,’ मन्त्रालयका एक अधिकारीले भने, ‘मन्त्रीज्यूको रोहबरमा भएको बैठकमा समेत उद्योगीले समेत हाकाहाकी पैसा तिर्न नसक्ने बताउँदा पनि मन्त्रीले निरीहता प्रकट गरे ।’
अभिभावक बनेर पैसा उठाइदिन लाग्नुपर्ने सरकार यो मामिलामा बिल्कुल मुकदर्शक भएको छ । आन्दोलन अघि बढ्दै जाँदा यसो मिलाउन खोजेजस्तो गर्छ, तर कति कारणले हो, उद्योगीहरूलाई त्यहीअनुसार उचित दबाब दिन कहिल्यै सक्दैन । लाग्छ, सरकार सञ्चालकहरु किसानभन्दा किसानको रकम नतिर्ने उद्योगीका पक्षमा छन् ।
ब्याजसहित भुक्तानी पाउनुपर्छ–उखु किसान
उखु किसानले भुक्तानी नपाएको पाँच वर्ष बितिसक्यो । उद्योगीले उनीहरुको करोडौं रुपैयाँ र्निब्याजी चलाए । सरकारले उद्योगीसँगबाट ब्याजसहित भुक्तानी दिलाइदिनुपर्ने किसानहरु बताउँछन् । ‘हामीले ब्याजमा ऋण लिएर उखु लगाएका हौं’ उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले ‘त्यो ब्याजसहित सरकारले भुक्तानीको व्यवस्था मिलाइदिनुपर्छ ।’
‘२०७० सालदेखि बेचेको उखुको पैसा दिलाइमाग्न किसानहरू २०७६ वैशाखयता आन्दोलित छन् । मुद्रास्फीतिअनुसारै हिसाब गर्ने हो भने पनि त्यतिबेलाको रकम अहिले निकै बढिसक्यो । फेरि, यहाँको बजार मूल्य राष्ट्र बैंकले घोषणा गर्ने मुद्रास्फीतिअनुसार मात्रै फरक कहाँ हुन्छ र ? त्यसैले पनि, यो किसानमाथिको ठगी मात्र होइन खुल्लमखुला लुट हो । र, उतिबेलाको रकम पनि ‘लौन दिलाइदेऊ’ भनेर जताततै बिन्ती बिसाउनुपर्ने अवस्था उनीहरूमाथि थोपरिएको अत्याचार हो,’ रायले भने ।