काठमाडौं । पेट्रोल, डिजेल तथा हवाई इन्धनको अत्यधिक मूल्य बढाएर नाफा कमाएको आरोप खेपिरहेको नेपाल आयल निगम (एनओसी) ले फर्नेक्स आयलमा पनि त्यही गर्न लागेको छ ।
हालसम्म व्यावसायिक योजना बनाएर, क्षमता वृद्धि गरेर नाफा कमाउनभन्दा पनि आयल निगमले तेलको अत्यधिक मूल्य लिएर नाफा बटुलिरहेको थियो । अब त्यसैगरी फर्नेक्स आयलमा पनि नाफा बटुल्ने हिसावले निगमले यस्तो गर्न लागेको उद्योगीले बताएका छन् ।
अहिलेसम्म एनओसीले दिएको ‘नो अब्जेक्सन लेटर’का भरमा उद्योगी आफंैले फर्नेक्स आयल एलसी खोलेर झिकाइरहेका थिए । नो अब्जेक्सन लेटर दिँदा निगमलाई केही फाइदा नभएकाले एनओसीले अब उप्रान्त त्यस्तो पत्र नदिने र आफूसँगै फर्नेक्स आयल किन्न बाध्य पार्न लागेको हो ।
आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले अब उद्योगीलाई फर्नेक्स आयल आयातका लागि नो अब्जेक्सन लेटर नदिने बताए । जसरी ग्यास उद्योगीले निगमको सिफारिसमा ग्यास ल्याएर बेचिरहेका छन्, सोही मोडालिटीमा फर्नेक्स आयल बेच्ने तयारीमा निगम लागेको उनले प्रस्ट्याए ।
‘अब उद्योगीले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई बिलिङ गर्दैनन्, । उनीहरूले निगमसमक्ष बिलिङ गर्छन् । निगमले आईओसीलाई भुक्तानी गर्छ,’ उनले भने, ‘हिजोका दिनसम्म एनओसीले नो अब्जेक्सन लेटर दिन्थ्यो । उद्योगीले सोहीअनुसार तेल ल्याउँथे । त्यसमा निगमको केही चासो थिएन । अब निगमसँगै किन्नुपर्छ ।’
निगमलाई पेट्रोल, डिजेल, हवाई इन्धन बेचेर अधिक नाफा कमाउँदा पनि पुगेन । अब फर्नेक्स आयलबाट पनि नाफा लिन खोजेको उद्योगीले आरोप लगाएका छन् ।
जुन भोल्यूममा फर्नेक्स आयलको कारोबार भइरहेको छ । त्यसबाट १० प्रतिशत कमिसन लिन निगमले यस्तो गरेको उद्योगीहरूले बताएका छन् । सबै काम उद्योगी आफैंले गर्ने हो । आईओसीलाई तिर्ने पैसा निगमलाई बुझाउनुपर्ने भएको छ । निगमलाई पैसा बुझाएबापत १० प्रतिशत कमिसन लिनेछ ।
अहिले उद्योगीले आईओसीबाट सिधै फर्नेक्स आयल झिकाउँदा ६० रुपैयाँ पर्छ । अब निगमसँग उद्योगीले ६७ रुपैयाँमा फर्नेक्स आयल किन्नुपर्ने बाध्यता भएको उद्योगीले बताएका छन् ।
‘सबै व्यवस्था हामीले गर्नुपर्ने । निगमको नाममा विलिङ गरेबापत १० प्रतिशत कमिसन दिनुपर्ने ?’ एक उद्योगीले प्रश्न गरे ‘ट्रान्सपोटेसन लगायतको व्यवस्थापनको जिम्मेवारी उद्योग स्वयम्को हो । निगमलाई बिल बुझाएबापत प्रतिलिटरमा ७ रुपैयाँ बढी पैसा बुझाउनुपर्ने भयो ।’
फर्नेक्स आयल औद्योगिक प्रयोगका लागि आउँछ । यो व्यवस्थाले उत्पादन लागत बढाउने र उद्योगलाई प्रतिस्पर्धी हुनबाट रोक्ने काममा निगम लागेको उद्योगीहरूले आरोप लगाएका छन् । यति महँगोमा फर्नेक्स आयल किनेर कसरी उद्योगको उत्पादन प्रतिस्पर्धी बन्न सक्छ ? ती उद्योगीले प्रश्न गरे ।
निगमका प्रवन्ध निर्देशक पौडेलले नाफा लिनभन्दा पनि व्यापार विविधिकरण गर्न लागेको बताए । ‘हामीबाट फर्नेक्स आयल किन्दा उद्योगीलाई महँगो पर्दैन । अझ उद्योगीहरूले किनेको भन्दा एक रुपैयाँ सस्तोमै फर्नेक्स आयल उपलब्ध गराउँछौं,’ उनले भने ‘अन्तर्राष्ट्रिय बजारमा मूल्यमा हुने घटबढलाई हामी रोक्न सक्दैनौं । त्यसबाहेक मूल्य कुनै हालतमा बढ्दैन ।’
उनका अनुसार निगमले बल्कमा कारोबार गर्ने भएकाले आईओसीले दिने मूल्य अन्यलाई दिनेभन्दा धेरै सस्तो हुन्छ । त्यसैगरी, आईओसीबाट फर्नेक्स आयल लिँदाको हकमा मात्रै हामीबाट लिनुपर्छ भनेको हो । भारतमा अन्य कम्पनीले पनि फर्नेक्स आयल बेच्छन् । उनीहरूबाट कुनै उद्योगीले लिन चाहेमा एनओसीले नरोक्ने बताए ।