काठमाडौं । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ मा अवस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा चिनी तयारी गर्नका लागि उखुको अभाव भएको छ । गत पुसको पहिलो सातादेखि सञ्चालनमा आएको चिनी मिलमा आवश्यक मात्रामा उखु आयात नहुँदा मिललाई उखुको अभाव सिर्जना भएको महाप्रबन्धक कृष्णचन्द्र दासले बताए ।
विगतका वर्षमा दैनिक ५०/६० हजार क्वीन्टल र कुनै-कुनै दिन एक लाख क्वीन्टलसम्म उखु क्रसिङ हुने यस मिलमा अहिले उखु अभावमा दैनिक १०/१२ हजार क्वीन्टल मात्रै क्रसिङ हुने गरेको छ । मिलको क्षमताअनुसार उखु प्राप्त नहुँदा उखु क्रसिङ तथा चिनी उत्पादन हुन नसकेको जनाइको छ ।
अहिले चिनी मिलका कर्मचारीले नगद रुपैयाँ लिएर महोत्तरी, धनुषा, सर्लाही जिल्लाको गाउँगाउँमा उखु खरिद गर्न गए पनि किसानले आवश्यक मात्रामा उखु मिललाई प्रदान गरिरहेका छैनन् ।
यता उखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष नरेश सिंहले चिनी उद्योगले उखु उत्पादकलाई उखु लिएबापतको रकम भुक्तानी गर्न दुई/तीन वर्ष लगाउने गरेको, पैसाका लागि आन्दोलन गर्नुपरेको र आफ्नै पैसाका लागि ज्यानसम्म गुमाउनु परेको कारण किसानले पर्याप्त मात्रामा उखु उत्पादन नगर्दा मिललाई उखु अभाव भएको बताए।
मिललाई उधारोमा उखु बिक्री गर्नुको साटो किसानले अहिले गाउँघरमै स्थानीयस्तरमा सख्खर तयार गर्ने क्रसिङ सेन्टरमा नगदमै उखु बिक्री गरिरहेको उनले बताए। उनले भने, ‘यसवर्ष जिल्लामा उखु उत्पादनमा ४० प्रतिशतले कमी आएको छ भने चिनी मिलको रवैया कारण विस्तारै उत्पादनको परिणाम घट्दै जाने निश्चित छ ।’
कुनै बेला ५८ लाख क्वीन्टल उखु क्रसिङ गरेर मुलुककै पहिलो चिनी कारखाना बनेको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजका यार्ड (उखु लिएर आएका गाडी पार्किङ गर्ने ठाउँ) अहिले सुनसान छ भने चिनी मिलले नगदमै पनि उखु पाउन नसक्दा मिललाई उखुको अभाव सिर्जना भएको हो ।
थप
expand_moreकम
expand_less