नेपालको आर्थिक वृद्धि २.९ प्रतिशत हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २५, बुधबार,१२:००:PM  
नेपालको आर्थिक वृद्धि २.९ प्रतिशत हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा २.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले २.७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको केही दिनपछि आईएमएफले नेपालको आर्थिक विस्तार झण्डै ३ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो ।

त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० मा क्रमशः ४.२ र ५.२ प्रतिशत रहने आईएमएफको प्रक्षेपण छ । गत आर्थिक वर्षमा कोभिड–१९ महामारीका कारण नेपाली अर्थतन्त्र १.९९ प्रतिशतले खुम्चिएको केन्द्रीय तथ्याँक विभागले जानकारी दिएको छ । 

आईएमएफले विश्व आर्थिक परिदृश्य (वर्ल्ड इकोनोमिक आउटलुक, २०२१) सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । छिमेकी भारतको अर्थतन्त्र सन् २०२१ मा १२.५ प्रतिशत र चीनको अर्थतन्त्र ८.४ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ ।

सन् २०२० मा भारतीय अर्थतन्त्र ८ प्रतिशतले संकुचन भएको थियो । चीनको अर्थतन्त्रको विस्तार सन् १९९२ यताकै कम २.३ प्रतिशत मात्र भएको छ ।

आईएमएफले विश्व अर्थतन्त्र सन् २०२१ मा ६ प्रतिशत र २०२२ मा ४.४ प्रतिशतले बढ्ने अनुमान गरेको छ । कोभिड–१९ महामारीले सन् २०२० मा विश्व अर्थतन्त्र ३.३ प्रतिशतले संकुचन भएको आइएमएफको संशोधित अनुमान छ ।

सन् २०२० मा आईएमएफका १९० सदस्यमध्ये दुई दर्जनभन्दा कम देशहरूले मात्र धनात्मक आर्थिक वृद्धिदर हासिल गरेका थिए । यता विश्व बैंकले सन् २०२१/०२२ मा ३.९ र ०२२/०२३ मा ५.९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको छ ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top