काठमाडौं । अभावलाई अवसरको रूपमा बदल्दै मास्कमा कालोबजारी गर्ने व्यापारीविरुद्ध वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कारबाही सुरु गरेको छ ।
मास्कमा कालोबजारी गरेको समाचार सार्वजनिक भएसँगै विभागले ज्ञानेश्वरस्थित अनुज स्टोर, यू–एण्ड बी स्टोर्स र आरएन स्टोर्सलाई जरिवाना गरेको हो ।विभागका प्रवक्ता शिवराज सेढाईंले ती पसलले उपभोक्ता संरक्षण ऐनविपरीत मास्कको कालोबजारी गरेको पाइएकाले ती पसललाई ५÷५ हजार जविरवाना गरिएको जानकारी दिए ।
ती पसलले मास्क खरिद बिक्री गर्दा बिल बिजक जारी नगरेको र अधिक मूल्यमा बेचेको उपभोक्ताको गुनासोको आधारमा अनुगमन गरेको बताइएको छ ।
यस्तै मूल्य सूची नराखेको र प्याकेटमा कम संख्या राखेको भन्दै भक्तपुरमा रहेको हिमालय लाइफ केयर नामक मास्क उत्पादन उद्योगलाई ५० हजार रुपैयाँ जरिवानासमेत गरिएको छ । सो उद्योगले भने होलसेल मूल्य २ रुपैयाँ ४ पैसामा दिने गरेको पाइएको विभागले जनाएको छ ।
पछिल्लो समय उद्योगीहरूले होलसेल मूल्यमा २५ देखि ५० पैसासम्म वृद्धि गरेको छ । उनीहरूले कच्चापदार्थको मूल्य बढेको बाहना बनाएर अहिले मास्कको मूल्य वृद्धि गराएका छन् । तर, जब बजारमा मास्कको अभाव भयो तब उद्योगीले मूल्य बढाएको पाइन्छ । यसबाट पनि उद्योगीहरूको स्वार्थ रहेको देखिन्छ ।
यति मात्र होइन, बजारमा खुद्रा मूल्यमा समेत अर्को लुट छ । खुद्रा मूल्यमा प्रतिमास्क १० रुपैयाँ लिने गरेका छन्, व्यापारीहरूले । उद्योगीहरूबाट २ रुपैयाँ ५० पैसामा किनेको मास्क खुद्रा बजारमा १० रुपैयाँमा बिक्री गर्दासमेत सरकारी निकाय आँखा चिम्लिएर बसेका छन् ।
अहिलेसम्म यस विषयमा कुनै अनुगमन नहुँदा विक्रेताहरूले खुलेआम उपभोक्ताहरूलाई ठग्दै आएका छन् ।