काठमाडौं । ढुवानी व्यवसाय र यातायात क्षेत्रमा देखिएको समस्या अध्ययन गर्न सरकारले ९ सदस्यीय कार्यदल गठन गरेको छ ।
सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव सहित सरोकारवाला सम्मिलित बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन भएको छ ।
कार्यदलको सदस्यहरुमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानून मन्त्रालय, गोकर्ण पराजुली, ट्रक यातायात व्यवसायी महासंघका राजेन्द्र श्रेष्ठ, यातायात व्यवस्था विभागका सचिव बन्धुप्रसाद बास्तोला गरी १/१ सदस्य छन् । गठित कार्यदलले ३० दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्नुपर्ने छ ।
कार्यदलले आफ्नो कार्यविधि आफै निर्धारण गर्न र आवश्यकता अनुसार सरोकारवालालाई आमन्त्रण गर्न सक्नेछ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी, पूर्वाधार सचिव देवेन्द्र कार्की लगायत यातायात व्यवसायी महासंघका सदस्य तथा सरोकारवालाको सहभागिता थियो ।
बैठकले राष्ट्रिय रुट परमिट दिने व्यवस्था यातायात व्यवस्था विभागले मिलाउने निर्णय भएको छ । त्यस्तै ढुवानी व्यवसायलाइ नियमित र सुचारु गर्ने बिषयमा सहमति भएको जनाइएको छ ।