काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्यान, बैङ्क खातामार्फत तलब भुक्तानी, मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस)लगायतका अहिलेका नियमहरु केही समयका लागि लागू गर्न के कस्तो तयारी गर्नुपर्छ कार्यदलमार्फत सम्बोधन गरिने बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीसँग अर्थमन्त्रालयमा आयोजित अन्तरक्रियामा बोल्दै अर्थमन्त्री खतिवडाले अहिलेका प्रावधानहरु एकै पटक आएकाले समस्या जस्तो देखिएको भन्दै यी प्रावधानहरु लागू गर्न मन्त्रालयले परीक्षण तथा प्रवर्द्र्धनको समय राखेको बताए ।
यसका लागि समय थप गर्न मन्त्रालय सकारात्मक समेत रहेको भनाइ राख्दै अर्थमन्त्री खतिवडाले प्यान दर्ता गरी बैङ्कमार्फत तलब भुक्तानी गर्ने व्यवस्था र मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस)लगायतका व्यवस्था तीन महिनाका लागि पुरानैमा काम गर्न सकिने बताए ।
नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएका साना तथा घरेलु उद्योगहरुको प्रवर्द्र्घनमा सरकार लागेको भन्दै उनले यस्ता उद्योगहरुको उत्पादन लागत घटाउन प्रविधि सहयोग गर्न सरकार सहकार्य गर्न तयार रहेको बताए । तत्काल प्यान दर्ता गरी बैङ्कमार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागू गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन महासङ्घको आग्रहलाई सम्बोधन गर्दै उनले प्यान, मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस)लगायतका अहिलेका नियमहरु केही समयका लागि लागु गर्न के कस्तो तयारी गर्नुपर्छ कार्यदलमार्फत सम्बोधन गरिने बताएका हुन् ।
महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले तत्काल प्यान दर्ता गरी बैङ्कमार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागू गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन आग्रह गरेका थिए । आर्थिक वर्ष २०७६/७७ देखि निजी क्षेत्रमा काम गर्ने सबै कर्मचारी र मजदुरलाई समेत अनिवार्य प्यान दर्ता गरी बैङ्कमार्फत तलब भुक्तानी गर्ने व्यवस्था लघु, घरेलु तथा साना उद्योगमा तत्काल लागू गर्ने अवस्था तत्काल नरहेको उनले बताए ।
सामजिक सुरक्षा कोषको व्यवस्था पनि पहिले ठूला र मझौला उद्योगमा लागू गरी त्यसको व्यावहारिक अनुभवबाट मात्र क्रमशः लघु, घरेलु तथा साना उद्योगमा लागू गर्न श्रम मन्त्रालय र निजि क्षेत्रबीच मौखिक सहमति भएको पुष्ठभूमिमा यस्ता उद्योगमा काम गर्ने कर्मचारी र मजदुरलाई प्यान दर्ता गर्न ६ महिना अवधि उपलब्ध गराउन महासङ्घका अध्यक्ष गिरीको आग्रह थियो ।