बीबीसी । जब कोरोना भाइरसको खोप विकास हुन्छ, तत्कालै सबैलाई पुग्ने गरी खोप उपलब्ध भइहाल्दैन। अनुसन्धान संस्था, प्रयोगशाला र औषधि निर्माण कम्पनीहरू अहिले प्रभावकारी खोपको विकास, परीक्षण र उत्पादन गर्न लाग्ने समयको लेखाजोखा गरिरहेका छन्।
विश्वव्यापी रूपमा खोप उपलब्ध होस् भन्ने सुनिश्चित गर्न अभूतपूर्व कदमहरू चालिएका छन् तर धनी देशले अगाडि पाउने र कमजोर देश पछि पर्ने चिन्ता प्रकट भइरहेका छन्। सङ्क्रामक रोगका खोपको विकास, परीक्षण र वितरणका लागि वर्षौँ लाग्छ। अझ त्यसको सफलता पनि सुनिश्चित हुँदैन।
कोरोना भाइरसको हकमा कुन खोप प्रभावकारी हुनसक्छ भनेर दशौँ हजार मानिस सहभागी परीक्षण चलिरहेको छ। त्यसो गर्दा पाँचदेखी १० वर्ष लाग्ने अनुसन्धानदेखि वितरणसम्मको प्रक्रियालाई केही महिनामा झारिएको छ।
यो पनि हेर्नुहोस
‘डिपफ्रिज’मा अर्बौं डलर थप लगानी चाहिने, फाइजरको कोरोना भाइरसको खोप धनीलाई मात्रै
लगानीकर्ता र उत्पादकले प्रभावकारी खोप तयार पार्न अर्बौँ डलर खर्च गरिरहेका छन्। रुसले स्पुत्निक भी खोपले बिरामीहरूको रोगप्रतिरोधी प्रतिक्रिया उत्पन्न गराएको भन्दै अन्तिम चरणको परीक्षण जारी रहँदै सर्वसाधारणलाई खोप उपलब्ध गराएको छ।
चीनले आफूले खोप विकासमा सफलता पाएको र त्यो खोप देशको सेनालाई दिइएको जनाएको छ। दुवै खोप विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले भनेको तेश्रो चरणको परीक्षण सूचीमा छैनन् र उनीहरूको द्रुत विकासलाई लिएर आशङ्काहरू खडा भएका छन्।
परीक्षणमा अघि रहेका भनिएको केही खोपले यसै वर्षको अन्त्यसम्म अनुमति पाउने भनिएको छ। तर डब्लूएचओले सन् २०२१ को मध्यअघि बृहत् रूपमा खोप लगाउने काम अघि नबढ्ने बताएको छ।
फिजर र बायोएनटेकले प्रारम्भिक विश्लेषणले आफूहरूले बनाएको खोपले ९० प्रतिशतभन्दा बढी मानिसहरूलाई कोभिड १९ बाट जोगाउने बताउँदै नोभेम्बरको अन्त्यमा खोपको प्रयोगका लागि आपत्कालीन अनुमति माग्दै निवेदन दिने बताएका छन्।
फिजरले यस वर्षको अन्त्यसम्म ५ करोड मात्रा र अर्को वर्षको अन्त्यसम्म १ अर्ब ३० करोड मात्रा खोप बनाउने बताएको छ। अक्सफर्ड विश्वविद्यालयले विकास गरेर अनुसन्धानकै चरणमा रहेको खोप उत्पादनको अनुमति ब्रिटेनको औषधि उत्पादक एष्ट्राजेनेकाले लिएको छ।
उसले विश्वव्यापी उत्पादन क्षमता विस्तार गर्दै परीक्षण सफल भए विश्वलाई २ अर्ब र यूकेलाई १० करोड खोप आपूर्ति गर्ने बताएको छ। अरू दर्जनौँ औषधि उत्पादक कम्पनी पनि प्रतिस्पर्धामा छन्।
खासमा सरदर १० प्रतिशत खोप परीक्षण सफल हुने भएपनि विश्वव्यापी चासो, गठबन्धन र साझा उद्देश्यका कारण यसपटक अवस्था फरक हुने ठानिएको छ।
केही प्रमाणित नभएका सम्भावित खोप आफ्ना लागि सुनिश्चित गर्न विभिन्न देशका सरकारले सम्झौता गरिरहेका छन्। उदाहरणका लागि यूके सरकारले विभिन्न छ सम्भावित कोरोना भाइरस खोपका लागि सम्झौता गरेको छ तर रकम भने खुलाएको छैन।
अमेरिकाले द्रुत रूपमा सफल खोपलाई हासिल गर्न आफ्नो लगानी परिचालन गरेको छ र ज्यानुअरीसम्म ३० करोड मात्रा खोप प्राप्त गर्ने अपेक्षा गरेको छ।
अग्रमोर्चामा खटिएर खोप वितरण गर्ने संस्था मेदसाँ सं फ्रँतिएले फर्मास्युटिकल कम्पनीहरूसँग यसरी सम्झौता गर्दा धनी देशबाट खोप राष्ट्रवादको खतरनाक प्रवृति निम्तिने बताएको छ।
डब्लूएचओले पनि पैसा तिर्न सक्नेले मात्र नभई सबै देशले खोपमा समान पहुँच पाउनुपर्ने बताएको छ। डब्लूएचओले महमारी नियन्त्रण समूह सेपी र सरकार र सङ्घसंस्थाहरूको खोपको गठबन्धन गाभीसँग मिलेर सबैलाई समान पहुँच दिलाउने प्रयास गरिरहेको छ।
सन् २०२० को अन्त्यसम्ममा २ अर्ब डलर जुटाउने लक्ष्य राखेर संसारभर खोप वितरण गर्न अघि बढाइएको कोभ्यास खोप अभियानमा ९४ वटा धनी देशले सहभागीता जनाइसकेका छन्। डब्लूएचओबाट अलग हुने इच्छा राखेको अमेरिका उक्त अभियानमा छैन।
कोभ्याक्समा श्रोत जुटाएर सहभागीले कम आय भएका अफ्रिका, एशिया र ल्याटीन अमेरिकाका देशहरूमा बराबर हैसियतमा खोपमा पहुँच दिलाउने अपेक्षा गरिएको छ।
यो अभियानले कैयौँ खोप अनुसन्धान र उत्पादनलाई श्रोत जुटाउन मद्दत गरिरहेको छ। कुनै एक खोपको परीक्षण सफल भएपनि सन् २०२१ सम्ममा दुई खर्ब खोपका मात्रा वितरण गर्ने कोभ्याक्सको लक्ष्य छ।
खोपको विकासका लागि अर्बौ डलर लगानी भइरहेको छ भने त्यसको खरिद र वितरणका लागि दशौँ लाख डलर प्रतिबद्धता गरिएको छ। खोपको मूल्य यसको प्रकृति, उत्पादक र माग गरिएको खोपको मात्रामा निर्भर हुने देखिन्छ।
फर्मास्युटीकल कम्पनी मोडेर्नाले सम्भावित खोप प्रतिमात्रा ३२ देखि ३७ डलर सम्भावित खोप बिक्री गर्ने बताएको छ। एस्ट्राजेनेकाले भने महामारीको समयमा केही डलर मूल्यमा त्यसलाई बेच्ने बताइरहेको छ।
परिमाणको हिसाबले संसारको सबैभन्दा ठूलो खोप निर्माता भारतको सिरम इन्स्टिच्यूट अफ इण्डिया एसएसआईले प्रतिखोप तीन डलर बिक्री गर्ने बताइरहेको छ। सुरुमा सीमित आपूर्ति हुने हुँदा मृत्यु घटाउन र स्वास्थ्य सेवा जोगाउने विषयले प्राथमिकता पाउने देखिन्छ।
गाभीले मध्यम र कम आय भएका देशलाई सुरुमा उनीहरूको जनसङ्ख्याको तीन प्रतिशतलाई पुग्ने खोप दिने भनेको छ। त्यसले स्वास्थ्यकर्मी र समाजिक स्याहारमा खटिने व्यक्तिहरूलाई समेट्छ।
थप खोप उत्पादन भइरहँदा २० प्रतिशत आपूर्ति गर्ने भनिएको छ जसमा ६५ वर्ष नाघेका व्यक्तिहरू र जोखिममा रहेका समूहहरू प्रथमिकतामा पर्नेछन्।
सबै देशहरूले २० प्रतिशत खोप पाइसकेपछि देश अनुसारको जोखिमको अवस्था र कोभिड १९ को चुनौती हेरेर थप खोप वितरण गरिनेछ। अझै पनि यस विषयमा वार्ता चलिरहेको छ।
चरम महामारी वा अरू हिसाबले पहुँच पाउन नसक्ने शरणार्थीजस्ता वर्गलाई लक्षित गरी सम्भावित खराब अवस्थालाई ध्यान दिएर उपलब्धमध्ये करिब पाँच प्रतिशत खोप अलग्गै राख्ने पनि भनिएको छ।
खोपलाई तापक्रम मिलाएर भण्डारण गर्नुपर्ने र हाल परीक्षणमा रहेका खोपका विभिन्न मापदण्ड रहेकाले चिसो कायम राख्ने उपकरणहरू जुटाउने चुनौती पनि छ।