पोखरा । सीपयुक्त दक्ष जनशक्तिबाट मात्रै समृद्धि हासिल हुने गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले बताएकी छन् । महिला चेम्बर अफ कमर्स कास्कीको आयोजना र सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित दुई महिने सिलाइकटाइ तालिमको समापनमा मन्त्री पुनले सीपमा विविधता ल्याएर मुलुकलाई समृद्ध बनाउने अब दक्ष जनशक्तिको खाँचो रहेको औंल्याइन् ।
‘एउटाले जे गर्यो, त्यहीमा मात्रै देखासिकी गर्ने होइन । नयाँ सोच र बजारको मागमा ध्यान दिनुस्,’ उनले भनिन्, ‘राज्यले दक्ष जनशक्ति उत्पादनका लागि धेरै लगानी गरेको छ । अब बजारको मागलाई ध्यान दिएर सीपमा विविधता खोज्नुस् र आत्मनिर्भर बन्नुस् । आफ्नो सीप र श्रममा विश्वास र सम्मान गर्न सके लगानी बाहिरिन पाँउदैन ।’
गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङले क्षणिक सन्तुष्टिका लागि तालिमलाई नलिएर व्यवसायिक बन्ने सोचका साथ तालिम लिनुपर्ने बताइन् । सरकारले देखेको समृद्धिको सपना व्यवहारमा देखाउन सीपयुक्त दक्ष जनशक्ति उत्पादन जरुरी रहेको उनको भनाइ छ ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ७ का अध्यक्ष रामचन्द्र बराल, वडा नं १७ का अध्यक्ष तीर्थराज अधिकारी, महानगर कार्यपालिका सदस्य राधिका शाही योगी, चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष प्रेम भुजेललगायतले एकै व्यक्तिले धेरै तालिम लिने तर व्यवहारमा कम देखिने भन्दै राज्यको रकम सदुपयोग गरेर आत्मनिर्भर बन्नपर्नेमा जोड दिए ।
कार्यक्रममा महिला चेम्बर अफ कमर्सकी अध्यक्ष गीता तिवारीले अझै पनि सिलाइकटाइमा दक्ष जनशक्तिको अभावले भारतबाट कामदार ल्याउनुपर्ने अवस्था रहेकाले त्यसलाई न्यूनीकरण गर्न दक्ष जनशक्तिका लागि तालिम आवश्यक रहेको बताइन् । उपाध्यक्ष सुमन गुरुङले आफ्नो सीपमा विश्वास गरेर काम गर्न सके महिला आत्मनिर्भर हुने धारणा राखे ।
कार्यक्रममा प्रशिक्षक रन्जना श्रेष्ठ, प्रशिक्षार्थी प्यारी गुरुङलगायतले तालिमबारे आफ्नो अनुभव र धारणा राखेका थिए । सीप सिकौं स्वरोजगार बनांै भन्ने नाराका साथ आयोजित उक्त तालिममा २५ जना विपन्न वर्गका महिलालाई तालिम प्रदान गरिएको महिला चेम्बरकी सचिव सांग्रिला मरासिनीले जानकारी दिइन् ।