अहिले हामी विषम परिस्थितीमा नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनमा लागेका छौं । कोरोना भाइरस(कोभिड –१९) को कारण विश्वको अर्थतन्त्र नै तहसनहस भइरहेको छ । यस्तो अवस्थामा नेपालमा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि दौडधुप भइरहेको छ ।
अब आउन नयाँ नेतृत्वले नेपालको अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भन्ने चुनौती छ । सबै उद्योगी व्यवसायीहरु कोभिडका कारण थला परेका छन् । लामो समयसम्म भएको लकडाउन र सीमा नाकाहरु बन्दको प्रभावले व्यापार व्यवसायहरु चौपट छ । यस्तो बेलामा धेरै उद्योगी व्यवसायीहरु मारमा परेका छन् ।
सरकारी निकायहरुबाट राहतका प्याकेजहरु नआएको र व्यवसाय सञ्चालनमा समेत समस्यामा परेका त्यस्ता व्यवसायीहरुलाई महासंघको नयाँ नेतृत्वले ती समस्याहरुलाई समधानतर्फ लाग्नु पर्ने बेला आएको छ । व्यवसायीहरुको पीडामा मल्हम लगाउने दृढ अठोटका साथ महासंघको एसोसिएयट तर्फको उपाध्यक्षमा उम्मेद्धवार बनेको छु ।
नेपाली उद्योग व्यवसायमा मेरो ३६ वर्षको अनुभव छ । महासंघमा १५/१६ वर्ष केन्द्रीय सदस्य भएर काम गरिसकेको छु । योसँगै रोजगारदाता परिसंघको उपाध्यक्षसमेत भइसकेको छु । परिषद्को मुख्य काम भनेकै रोजगारदाता र श्रमिकहरूबीचको सम्बन्ध सुधार गर्ने हो ।
यस्तै उद्योग कलकारखानामा आएका समस्याहरूलाई सरकार समक्ष लैजानेदेखि आवश्यक नियम कानुनहरू सरकारसँग समन्वय गरेर परिवर्तन गर्नु हाम्रो प्रमुख भूमिका हो ।
व्यवसायीहरूको उत्पादनलाई कसरी गुणस्तरीय बनाउने र विदेशमा कसरी निर्यात गर्न सकिन्छ भनेर पनि व्यवसायीहरू र सरोकारवाला निकायहरूसँग छलफलसँगै समन्वयकारी भूमिका निर्वाह गर्नेछु ।
अहिले उद्योग व्यवसायहरूमा जति पनि समस्या आएको छ, ती समस्याहरू विशेष गरेर आयकर, बैंकिङलगायतका कारणले हो । कर र बैंकिङ क्षेत्रका कारणले आएका समस्यालाई पनि सरोकारवाला निकायहरूसँग बसेर छलफलमार्फत टुङ्ग्याउनुपर्छ । हामीले अरुलाई दोष दिएर मात्रै हुँदैन ।
यस्ता समस्या समाधानका लागि पनि मेरो राम्रो अनुभव छ । किनभने म आफैं धेरै उद्योगहरूमा आबद्ध छु । धेरै श्रमिकहरूलाई रोजगारी दिएको कारण उद्योगी र श्रमिकको सम्बन्ध कस्तो हुन्छ र त्यहाँका समस्या कसरी सल्टाउने भन्ने राम्रो ज्ञान मसँग छ ।
कुनै पनि उद्योगमा समस्या आउँछ भने त्यसलाई बचाउन र त्यस भित्रका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने काम महासंघको हो । महासंघले आवश्यक समन्वय गर्न हाम्रो समूहको नेतृत्व अब्बल छ ।
निर्वाचन भनेको निश्चित समयका लागि हो । व्यवसायी–व्यवसायीबीच हुने भएकाले यसलाई जितहारपछि बिर्सिएर आफ्नो काम कर्तव्यमा लागिरहनुपर्छ र हामी सबै एक हुनुपर्छ ।
मलाई विश्वास छ, मैले जुन पदका लागि उम्मेदवारी दिएको छु, त्यो पदमा विजयी भएपछि उद्योगी व्यवसायीहरूको मन जित्ने गरी काम गर्नेछु । कहिल्यै मन दुखाउनेतर्फ मेरो नेतृत्व लाग्ने छैन भन्ने प्रतिबद्धता जनाउन चाहन्छु ।
सरकारले बनाउने नीति नियमहरूमा निजी क्षेत्रको सहभागिता बढ्नुपर्छ । विगत केही वर्षदेखि अन्तर्राष्ट्रिय दातृ निकायहरूले दिने विभिन्न परियोजनाहरू घट्दै गएको छ । नेपालको अर्थतन्त्रमा दातृ निकायहरूको भूमिका महत्वपूर्ण हुन्छ । सरकारपछि सबैभन्दा ठूलो सञ्जाल रहेको संस्था महासंघ भएकाले वैदेशिक लगानी जुटाउन निजी क्षेत्रको अहम् भूमिका हुन्छ ।
मैले अहिलेसम्म उद्योग व्यवसायमा बिताएको त्यो अनुभवलाई महासंघको नेतृत्वमा लगाउने छु । निर्वाचनको बेला विभिन्न प्यानलमा छुट्टिए पनि हामी सँबैको उद्धेश्य भनेको महासंघमा रहेर उद्योगी व्यवसायीहरुको हितमा काम गर्ने नै हो ।
त्यसैले अहिले कुनै लोभलाभमा नपरी महासंघको नेतृत्व गर्न सक्ने र अनुभवी व्यक्तिहरुलाई भोट दिएर जिताउन आम मतदाताहरुलाई अनुरोध गर्दछु ।