काठमाडौं । पहिलो पटक नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपाल सरकार तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र मेरिटाइम गेटवे इन्डियाद्वारा संयुक्तरूपमा आयोजित पारवहन सहजीकरण सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको सम्बन्धलाई प्रगाढ बनाउन सम्मेलनले थप सहयोग पुग्ने अपेक्षा गरे । उनले पाइपलाइनमार्फत भारतबाट नेपालसम्म पेट्रोलियम पदार्थ आउन लागेको उल्लेख गर्दै थप अन्य क्षेत्रमा पनि आवश्यक सहकार्य गर्न अनुरोध गरेका छन् । लगानीकर्ताको सहजीकरणका लागि ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन’ लगायतका ऐन कार्यान्वयनमा रहेको र लगानीकर्ताको सहजीकरणका लागि एकल बिन्दु सेवा केन्द्रसमेत सञ्चालनमा आइसकेको जानकारी दिँदै भने, “हामी भारतलगायत संसारभरका लगानीकर्तालाई लगानीका लागि आग्रह गदछु ’ ।
सडक सञ्जालको विस्तारमा प्रमुख प्राथमिकता दिइएको, रेलमार्ग, जल यातायातका लागिसमेत काम भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्सार परीक्षणमा समेत थप सहजीकरण गरी विद्युतीय प्रणाली लागू भएको बताए । सरकारले भन्सार प्रणालीलाई थप व्यवस्थित र विद्युतीय बनाएको छ । उद्योगी तथा व्यवसायीलाई पनि सहजरुपमा व्यापार तथा वाणिज्यका लागि मार्गप्रशस्त गरिएको छ ’उनले भने ।
नेपालको चुलिँदो व्यापार घाटा घटाउनका लागि पनि यातायात सञ्जालको विस्तारलाई सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले विविआइएन, सार्क, बिम्स्टेक जस्ता क्षेत्रीय तथा उपक्षेत्रीय सङ्गठनमार्फत पनि प्रयास गरिरहेको बताए ।
कृषि, पर्यटन, भौतिक पूर्वाधार, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखी लगानीसमेत बढाएको र विदेशी लगानीकर्तालाई सोही क्षेत्रमा लगानीका लागि आग्रह गरेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले व्यापारिक र व्यावसायिक वातावरणलाई सदुपयोग गर्नसमेत आग्रह गरे ।
वर्षाको समयमा खेर गएको विद्युत भारत निर्यात गर्न शुरु गरिएको तथ्य पेश गर्दै प्रधानमन्त्रीले ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनलगायत अन्य विभिन्न सात वटा बिन्दुबाट विद्युत आयात तथा निर्यात गर्न सकिने अवस्थासमेत रहेको बताए । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनलाई ४०० केभीमा स्तरोन्नति गरिने तथा बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइनसमेत आफूहरुको प्राथमिकतामा रहेको प्रधानमन्त्री ओलीको भनाई छ । हवाई सञ्जालको विस्तार तथा विकासमा समेत विशेष प्राथमिकतामा राखेको र भारतका विभिन्न गन्तव्यमा हवाई सञ्जाल जोडिएको बताए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कार्गो तथा लजिस्टिकका क्षेत्रमा देखिएका समस्या समाधानका लागि नेपाल र भारतले संयुक्तरुपमा काम गरिरहेको बताए ।
नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी उद्धघाटन गरेको र केही समयभित्रै विराटनगरमा समेत त्यस्तै चौकी उद्धघाटन हुने क्रममा रहेको भन्दै दुई देशको व्यापार तथा वाणिज्यको क्षेत्रमा नयाँ आयाम शुरु भएको बताए । उनले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण सम्पन्न भई सञ्चालनमा समेत आइसकेको र कार्गो तथा अन्य लजिस्टिकका क्षेत्रमा समेत थप सहजता आएको उल्लेख गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले उद्योगी व्यवसायीलाई सहज बनाउने गरी भन्सार परीक्षण तथा अन्य प्रणालीको विकास गर्नु जरुरी रहेको बताइन । उनले सरकारले सडक सञ्जालको विस्तार, रेलमार्ग तथा जल यातायातलाई समेत प्राथमिकतामा राखेका कारणले पनि आगामी दिनमा थप सहजता आउने विश्वास व्यक्त गरिन् ।
विशेष सचिव एन सिभासैलामले भारत र नेपालबीच व्यापारको दृष्टिकोणले मात्र नभई अत्यन्त पारिवारिक सम्बन्धसमेत रहेकाले आपसी लाभका लागि संयुक्तरूपमा सहकार्य गर्न भारत सरकार तयार रहेको बताए ।