काठमाडौं । दोस्रो नाकाको रुपमा पहिचान बनाएको रुपन्देहीको बेलहिया (भैरहवा)मा अहिलेसम्म एकीकृत जाँच चौकी (आईसीपी)को निर्माण कार्य सुरु हुन सकेको छैन । ७ वर्षअघि आईसीपी निर्माणका लागि भैरहवा भन्सार कार्यालयले जग्गा अधिग्रहण गरे पनि अहिलेसम्म निर्माणको प्रक्रिया अघि बढेको छैन । भैरहवा भन्सार कार्यालयले आईसीपी निर्माणका लागि ५२ विगाह जग्गा अधिग्रहण गरेर राखेको छ ।
आर्थिक हिसावले वीरगंजपछि भैरहवामा आईसीपी बन्नुपर्ने थियो । तर, भारतीय पक्षले भैरहवामा आईसीपी बनाउन कुनै चासो नदिएकाले अलपत्र परेको हो ।
दोस्रो नाकाको परिचत भैरहवामा वीरगंजपछि आईसीपी बनाउनुपर्नेमा विराटनगर बनाइयो । विराटनगरपछि भैरहवा बनेन्, नेपालगंजमा सुरु गरिएको नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा भैरहवामा उद्योगपति राजेशकुमार अग्रवालले बताए ।
‘अहिलेको सरकारमा अर्थमन्त्री विष्णु पौडेले यही क्षेत्रबाट हुनुहुन्छ । कृषिमन्त्री घनश्याम भुसाल पनि यही क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुन्छ,’ उद्योगी अग्रवालले भने, ‘तर, उहाँहरू कार्यान्वयन गर्ने निकायमा हुँदा पनि भैरहवामा आईसीपीको निर्माणको थालनी हुन सकेन ।’
भैरहवा नाका नेपालका लागि कति महत्वपूर्ण छ भन्ने कुरा नाकाबन्दीका बेला राम्रोसँग महसुस भएको हो । त्यो बेला वीरगंज, विराटनगरलगायतका सबै नाका ठप्प हुँदा देशको आपूर्ति व्यवस्थालाई भैरहवा नाकाले सहज बनाएको थियो । त्यहाँका राजनीति दल, उद्योगी व्यवसायीको पहलमा नाका खुलाएर आपूर्तिलाई सहज बनाए पनि राज्यले एउटा आईसीपी नबनाएको उद्योगीको गुनासो छ ।
पछिल्लो अवस्थामा भैरहवा नेपालको प्रमुख आर्थिक नगरीको रुपमा स्थापित हुँदैछ । वीरगंज, विराटनगरका उद्योगी व्यवसायीले पनि आफ्नो व्यवसायलाई भैरहवातिर सिफ्ट गरिरहेका छन् । तर, सरकारले भैरहवामा आईसीपी बनाउन तदारुकता नदेखाएको उद्योगीहरूको गुनासो छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले नेपाल–भारत सचिवस्तरीय वाणिज्य वार्तामा नेपाल पक्षले यो विषयलाई उठाएको र उनीहरूले आफ्नो तिर जग्गा अधिग्रहणको काम बाँकी रहेकाले केही समय लागेको बताएको जानकारी दिए ।
‘अहिले भारततिर पनि आईसीपी निर्माणका लागि जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको भारतीय पक्षले जानकारी दिएका छन्,’ उनले क्यापिटल नेपालसँग कुराकानी गर्दै भने, ‘त्यो काम सकिने बित्तिकै दुवै तिर एकसाथ आईसीपी निर्माण सुरु हुन्छ ।’
उनका अनुसार भैरहवामा आईसीपी निर्माण कार्य छिट्टै सुरु हुन्छ । आईसीपी दुवै देशतिर चाहिन्छ । भारततिरको जग्गा अधिग्रहण भइरहेको छ । नेपालले पहिल्यै जग्गा अधिग्रहण गरेर राखिसकेको छ । तुरुन्तै भैरहवामा पनि आईसीपी निर्माणको कार्य सुरु गर्ने सहमति भएको उनको भनाइ छ ।
भूपरिवेष्टित मुलुक भएकाले ढुवानी खर्च अत्यधिक छ । ‘चीनले आफ्नो देशबाट रेलबाट युरोपसम्म मालसामान पठाइरहेको छ । हामीले कोलकाताबाट भैरहवासम्म सिधै माल ल्याउन सकेका छैनौं’ उद्योगी अग्रवालले भने, ‘कोलकाताबाट पहिला रक्सौल ल्याउनुपर्छ । त्यहाँबाट वीरगंज ल्याउनुपर्छ । त्यहाँबाट भैरहवा–बुटलव क्षेत्रका उद्योगमा आउँछ । चारपटक माल लोड÷अनलोड हुन्छ ।’
आईसीपीको निर्माण कार्य अलपत्र हुँदा उद्योगी व्यवसायीसमेत निराश छन् । आईसीपी निर्माण भएमा आयात÷निर्यातमा सहज हुने उद्योगी व्यवसायी विश्वास छ ।
उद्योगीहरूले पटक–पटक नेपाल सरकार र भारतीय दूतावासलाई समेत घच्घचयाउँदा छिटै निर्माण हुने आश्वासन बाहेक अन्य केही नभएको बताए । उनले आईसीपी निर्माण नहुँदा मालवाहक गाडी लामो जाममा बस्नुपर्ने हुँदा उद्योगी व्यवसायीलाई मर्कापर्ने गरेको बताए ।