काठमाडौं । नेपालको पानी (स्प्रीङ वाटर) निर्यात गर्नका लागि दुईवटा कम्पनीले रुचि देखाएका छन् । स्वदेशमा खेर गइरहेको पानीलाई प्रशोधन गरी पिउन योग्य बनाएर निर्यात गर्न दुई कम्पनी इच्छुक भएका हुन् ।
एक स्वदेशी र अर्को विदेशी कम्पनीले ‘स्प्रीङ वाटर’ निर्यातका लागि इच्छा देखाएकाले उनीहरुसँग छलफल भइरहेको र केही कुराहरु अघि बढिसकेको उद्योग राज्यमन्त्री मोतीलाल दुगडले क्यापिटल नेपाललाई जानकारी दिए ।
तर, कुन-कुन कम्पनी हुन भन्ने बारेमा केही दिनमै जानकारी हुने उनले बताए । ‘ती कम्पनीहरु अहिले उद्योग मन्त्रालयको सम्पर्कमै छन् । एक स्वदेशी र अर्को भारतीय कम्पनीले ‘स्प्रीङ वाटर’ निर्यात गर्ने गरी रुचि देखाएका छन् । त्यसका लागि ती कम्पनीसँग कुराकानी भइरहेको र केही कुरा अगाडि बढिरहेको छ’ उनले भने, ‘कम्पनी कुन–कुन हुन अहिले नै नखुलाइ हालौं । केही दिनपिछ थाहा पाइहाल्नुहुन्छ ।’
एक कम्पनीले भारतमा निर्यात गर्ने र अर्को कम्पनीले यूएईका लागि निर्यात गर्ने राज्यमन्त्री दुगडले बताए । दुईवटा कम्पनीले मिले स्प्रीङ वाटर निर्यात गर्न सहकार्य गर्ने गरी कुराकानी भइरहेको उनको भनाइ छ । नेपाल स्प्रीङ वाटर निर्यातको ठूलो सम्भावना भए पनि लगानी बढी लाग्ने हुँदा धेरै कम्पनीले यसमा हात नहालेको उनको बुझाई छ । अहिले कतारसहित अन्य धेरै देशहरुबाट पनि नेपालको पानी लिनका लागि प्रस्ताव आइरहेको उनको भनाइ छ ।
स्प्रीङ वाटर उत्पादन गर्ने लगानीकर्ता स्वदेशमै खोज्ने कि विदेशबाट ल्याउने भन्ने अन्योलता पनि देखिन्छ । किनभने नेपालमा ठूला नदीमा अथाह पानी खेर गइरहेको छ । दुगडले आगामी एक महिनाभित्र ती कम्पनीले कति लगानी र कुन मोडालिटीमा प्रक्रिया अघि बढाउँछन् भन्ने कुरा टुंगिने बताए ।
यसअघि खानेपानी मन्त्री बिना मगरले नेपालको पानी कतार निर्यात गर्ने योजना अनुरुप ती कम्पनीले उद्योग मन्त्रालयसँग समन्वय र स्वीकृति लिनुपर्छ । अहिलेसम्म खानेपानी मन्त्रालयले पानी निर्यातका लागि समन्वयका काम गरेको प्रवक्ता रितेश शाक्यले बताए ।
पानी निर्यात गर्न कम्पनी दर्ता भइ आउनुपर्ने हुन्छ । कम्पनी ऐन अन्तर्गत दर्ता भएर आएका जुनसुकै कम्पनीले नेपालको पानी विदेश निर्यात गर्न सक्छन् ।