काठमाडौं । एकाएक देखिएको राजनीतिक सरगर्मीलाई चिर्दै अघि बढेको सेयर बजारले मंगलबार नयाँ रेकर्ड राखेको छ । कारोबार रकम र समग्र सूचक वृद्धिको रेकर्ड नभएर दैनिक सूचकको वृद्धिमा रेकर्ड राखेको हो ।
गत साताको मंगरबारदेखि घट्न थालेको बजारले यो साताको पहिलो दिन आइतबार करिब ९७ अंकले बजार घटेको थियो । केही दिनदेखि मुलुकमा देखिएको राजनीतिक सरगर्मीलाई चिर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै बजारमा उच्च गिरावट आएको थियो । राजनीतिक अस्थिरतालाई बाहना बनाएर बजार अझै घट्ने हो कि भन्ने आशंकालाई सोमबारको कारोबारले भने चिर्दै उकालो यात्रा तय गरेको बजारले मंगलबार सूचक वृद्धिका आधारमा उच्च अंक कायम गरेको हो ।
तथापि, कारोबार बन्द हुँदा ९५.४६ ले बढेर २०६१.४१ अंकमा चढेको छ । मंगलबार कारोबार रकममा पनि उल्लेखिय सुधार भएको छ । मंगलबार ६ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । राजनीतिक सरगर्मी उत्कर्षमा पुग्नुअघि अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डलाई कमिसन घटाउन दिएको निर्देशन कार्यान्वयन हुने बिहानैदेखि हल्ला फैलिँदा त्यसको असर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा परेको हो ।
आजै बस्ने बोर्डको सञ्चालक समितिले कमिसन घटाउने निर्णय लिने र कमिसनको दर एकल विन्दू ०.२५ देखि ०.३ भित्र रहने हल्ला चलेको छ । यसले लगानीकर्ताहरुमा सकारात्मक सञ्चार गरेको छ । त्यति मात्रै होइन्, सोमबार नबिल बैंकले ३५.२६ प्रतिशत लाभांश घोषणा गरेर बजारलाई नै तरङ्गित बनाएको छ ।
त्यसैको असर नबिल बैंकको १२३ रुपैयाँ (१० प्रतिशत) ले बढेर प्रतिकित्ता १३५४ रुपैयाँमा कारोबार भएको छ । नबिलको वृद्धिसँगै मंगलबार बैंकिङ समूहमा रहेका एनआईसी एसिया, नेपाल क्रेडिट एण्ड कमर्स, प्रभुलगायतको मूल्य उच्च वृद्धि भएको छ ।
यद्यपि, राष्ट्रिय बिमा कम्पनीको साधारण सेयर र सस्थापक सेयरको मूल्यमा पनि १० प्रतिशतले नै वृद्धि भएको छ । उच्च कारोबार हुने १० कम्पनीमध्ये मंगलबार ४ वटा बैंकिङ सूमहका छन् । सबैभन्दा बढी कारोबार भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको छ । समूहगत सूचकहरु सबै बढे पनि नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड इडी मार्दी हाइड्रो पावरको भने १० प्रतिशतले नै सेयर मूल्य घटेको छ ।
बजारमा १६ कम्पनीको मूल्यमा गिरावट आएको छ । १२ कम्पनीको मूल्य सर्किट लागेको छ । मंगलबारको कारोबार हेर्दा बुधबार बजारले पुरानो रेकर्ड उच्च २०७१ लाई छाडेर अघि बढ्ने देखिन्छ । यद्यपि, दैनिक कारोबारमा भने यस अघि नै २१०० अंक छोएर बजार फर्किएको थियो ।
मंगलबार वाणिज्य बैंक समूह उचालिएकाले त्यसको प्रभाव बुधबार पनि देखिने सम्भावना छ । तर, धितोपत्र बोर्डले ब्रोकर कमिसन सम्बन्धी निर्णय नगरी पर्ख र हेरको अवस्था रहे बजारमा करेक्सन आउने सम्भावना पनि उत्तिकै छ ।
याे पनि पढ्नुस् ।
राजनीतिक सरगर्मीलाई चिर्दै अघि बढ्यो बजार, लगानीकर्ताहरु अझै सचेत हुनुपर्ने