काठमाडौं । आयकर ऐन २०५८ आइसकेपछि करदातालाई स्वयं कर निर्धारण गर्ने अधिकार दिइयो । यस्ता करदाताको आय विवरणमध्ये केही आय विवरणलाई चार वर्षभित्र फुल अडिट गरिन्छ । यस्ता फुल अडिट गर्ने फाइलमा अनावश्यक तरिकाले खर्च अमान्य गरी कर उठाउने प्रवृत्ति हाबी हुँदै आएको छ ।
पछिल्लो समयमा कसरी बढी कर उठाउने भन्ने नयाँ-नयाँ तरिका अपनाइने गरिएको आरोप व्यवसायीले लगाएका छन् । उदाहरणका लागि सामान उधारोमा बिक्री गरिसकेपश्चात सो रकम समयमा वा तोकिएको भाकामा असुलउपर नभएको हुनसक्छ ।
तर, आन्तरिक राजस्व कार्यालयहरुले यस्ता असुलउपर हुन सकेको रकममा काल्पनिक रुपले ब्याज नोक्सान भएको मानेर त्यसमाथि कर उठाउन लागेको व्यवसायीले गुनासो गरेका छन् ।
फाइल अडिटमा पर्ने बित्तिकै कर अधिकृतले त्यस्तो रकममा ब्याज जोडेर खर्चमा घटाइदिने र त्यसलाई आम्दानी मानी कर लगाउने र सतप्रतिशत जरिवाना समेत तिराउने गरिरहेका छन् ।
उदाहरणका लागि कुनै कम्पनीले बैंकबाट ५० लाख रुपैयाँ ऋण लिएको छ । उसले बजारबाट आफ्नो ५ लाख रुपैयाँ उधारो उठाउन सकेन । तर, व्यवसायीले त्यसको मूल्य अभिृवृद्धि कर (भ्याट) तथा आयकर तिरिसकेको छ ।
तर, त्यो फाइल अडिटमा पर्यो भने कर अधिकृत भन्छन्, ‘५ लाख रुपैयाँ उठाउन सकेनौं । ५ लाख रुपैयाँ उठाएको भए ५० लाख रुपैयाँको ऋण जरुरी थिएन । ४५ लाख रुपैयाँ मात्रै ऋण भए हुन्थ्यो । त्यसैले ५ लाखको जति ब्याज छ, त्यसलाई खर्चबाट घटाउँछु । भनेको अर्थ नाफा बढाउँछु ।’
यसको अर्थ ५ लाख रुपैयाँ उठेको भए तिर्नुपर्ने कुल ऋणको ब्याज बचत हुन्थ्यो । नाफा बढ्थ्यो भनेर कर अधिकृतले करदातामाथि ज्यादति गरिरहेको व्यवसायीको भनाइ छ ।
‘व्यापार गर्दा पैसा डुब्न पनि त सक्छ । कुनै व्यापारीले जानी वा नियतवस् पैसा नलिने गर्दैन’ एक करदाताले क्यापिटल नेपालसंग भने, ‘त्यो पैसा उठेको भए, त्यसको जति ब्याज हुन्छ । त्यो फाइदा हुन्थ्यो र आम्दानी बढ्थ्यो भन्ने अनुमानका आधारमा कर अधिकृतबाट काम भइरहेको हुन्छ ।’
ती करदाताका अनुसार पैसा तिनुपर्ने पार्टीले पैसा दिएको छ कि छैन कर कार्यालय आफैले कन्र्फम गर्दा हुन्छ । दिनुपर्ने पार्टीले दिएर व्यापारीले लुकाएको भए त्यस्ता करदातालाई कानुनी दायरमा ल्याउनुपर्छ । तर, उठ्दै नउठको रकममाथि थप काल्पनिक ब्याज जोडी कर नहुने उनको भनाइ छ ।
‘जुन खर्च भएको छ, त्यो मान्नुपर्छ । यो सम्पूर्ण प्रिन्सिपलको विरुद्धमा कर अधिकृतले कुरा गरिरहेका छन् । त्यसलाई खर्च लेख्दिन, नाफा बढाउँछु भन्नु कतिसम्म जायज कुरा हो’ उनले भने, ‘५ लाख रुपैयाँ बजारबाट उठ्न बाँकी भयो भने ५० हजार रुपैयाँ नाफा थप्ने र त्यसमा सतप्रतिशत जरिवाना लगाउँछु भन्ने पनि कही हुन्छ ?’
आयकर ऐनमा असुलउपर हुन नसक्ने रकमलाई ब्याड डेप्ट लेख्न सक्ने समेत व्यवस्था छ । त्यसलाई ब्याट डेप्ट खर्च लेखेको छैन । किनभने बिलिङ गरिएको पार्टीसँग पैसा उठाउने प्रयास भइरहेको छ । ‘उठाउने कोसिस गर्दा गर्दै पैसा उठेन भने उसको सबै पैसामा ब्याज जोडी खर्चबाट घटाउनु कहाँसम्मको जायज कुरा हो ?’ ती करदाताले भने ।
‘व्यापारीको अर्बौ रुपैयाँ पैसा उठेको छैन । त्यो पैसा नउठेर उद्योगीहरुले ठूलो नोक्सान खपिरहेका छन् । त्यसपछि सो रकमको ब्याज जोडी खर्चबाट घटाउने र त्यसलाई नाफा मानी थप आयकर र जरिवाना लिनु आयकरको बर्खिलाप छ’ ती व्यवसायीले भने ।
आन्तकिर राजस्व कार्यालयहरुले गैरकानुनी तरिकाले कर असुलउपर गर्ने प्रवृत्तिले गर्दा करको परिपालना (ट्याक्सको कम्प्लाइन्स) पूरा गरेका करदाताहरलाई होतोत्साहित बनाएको आरोप लाग्दै आएको छ । जति इमान्दारिताका साथ कर तिर्दा पनि राजस्व कार्यालयले गैरकानुनी तरिकाले कर थपिदिँदा किन कम्प्लाइन्स गर्ने ? भन्ने मानसिकता बढ्दै जान्छ ।
यसलाई कर अधिकृतले भ्रष्टाचार गर्ने हतियारको रुपमा पनि प्रयोग गर्दै आएका छन् । कर अधिकृतहरुले मनलाग्दी रुपमा अमान्य गर्ने र कुरा मिलेको खण्डमा छोडिदिने गरेका छन् । यसलाई अर्थ मन्त्रालयले गम्भीर रुपमा लिनुपर्ने भनाई करदाताको । यता आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदबहादुर कुँबर नियमसम्मत रुपमा कर असुली भएको दावी गर्छन् ।