काठमाडौं । ढुवानीका साधन (ट्रान्सपोर्ट) को अभाव देखाउँदै छिमेकी चीनले ढुवानी भाडा दोब्बरभन्दा बढी बढाएको छ । यसअघि चीनबाट कोलकातासम्म सामान ल्याउँदा २७ सय डलर थियो । तर, अहिले ६ हजार डलर पुर्याइएको व्यापारीहरूले बताएका छन् ।
चीनतर्फका ट्रान्सपोर्ट व्यापारीले थेग्नै नसक्ने गरी कन्टेनरको भाडा बढाएको उनीहरूको भनाइ छ । उतातिरका व्यापारीले ट्रान्सपोर्टको अभाव देखाएर चर्को भाडा लिन थालेका छन् । यसले गर्दा चीनतर्फबाट आउने सामान महँगो हुँदै गएको छ ।
नेपालमा सबैभन्दा बढी लत्ताकपडा आयात चीनबाट हुन्छ । चीनबाट आयात हुने कपडाको मूल्य बढ्ने सम्भावना भएको व्यापारीहरूले बताएका छ । ‘दैनिक उपभोग्य वस्तुको आयात भारतबाट हुन्छ,’ एक व्यापारीले भने, ‘तर, चीनबाट आउने भनेको लत्ताकपडा र अन्य केही आइटमहरू छन् । ती आइटमकको मूल्य बढ्ने अवस्था आएको हो ।’
व्यापारीका अनुसार बिना कारण कन्टेनरको अभाव देखाएर चर्को भाडा लिइरहेको छ । एकातिर चीनले विभिन्न कारण देखाउँदा त्यसतर्फका सम्पूर्ण नाका बन्द गरेको छ । तातोपानी नाका खोल्ने बताएपछि एक दिन पनि नखुलाई चीनले बन्द गरेको छ । रसुवा नाका पनि पूर्णरुपमा सूचारु छैन ।
नेपाली व्यापारीले चीनसँगको व्यापार कोलकाताबाट गरिरहेका छन् । चीनमा कोरोना भाइरस नियन्त्रणमा आइसकेपछि आर्थिक गतिविधि फस्टाएको छ । नेपालको अर्थतन्त्र फस्टाउन पनि चीनको योगदान रहन्छ ।
हरेक सामान चीनबाटै ल्याउनुपर्ने बाध्यता छ । यस्तो अवस्थामा चीनले ढुवानी भाडा दोब्बरभन्दा बढी बढाएको चीनको व्यापारमा सक्रिय रहेका व्यवसायीहरूले बताएका छन् ।
केरुङ नाकाबाट जुत्ता, तयारी पोसाक, ब्ल्यांकेट, थर्मस, हट्केस, राइसकुकरजस्ता वस्तुहरू आउँथे । तर, अहिले नाका छ । ती सबै सामान कोलकाता भएर नेपाल भित्रिन्छन् ।
केरुङ नाका काठमाडौंका लागि नजिक मानिए पनि चीन सरकारले त्यसलाई सञ्चालन गर्न नचाहेकाले नेपाललाई आवश्यक पर्ने सामान कोलकाताबाट ल्याउनुपर्ने बाध्यता छ । यसको लागत पनि बढी परिरहेको व्यापारीहरूले बताएका छन् ।