काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) लाई चिर्दै सन् २०२१ मा विश्व अर्थतन्त्र साढे ४ प्रतिशतभन्दा माथि उक्लने प्रक्षेपण सार्वजनिक भइरहेको छ । कोरोनाले विश्वको अर्थतन्त्रलाई चौपट पारे पनि विस्तारै आफ्नो लयमा फर्किने अध्ययनहरुले देखाइरहेका छन् ।
आर्थिक सहयोग र विकासका लागि संगठनले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० मा माइनस ४ दशमलव २ प्रतिशतले ह्रास आएको विश्व अर्थतन्त्रमा सन् २०२१ मा ४ दशमलव २ प्रतिशतले नै वृद्धि हुने प्रक्षेपण गरिरहेको छ । उक्त अध्ययनमा छिमेकी मुलुक भारतको अर्थतन्त्र पनि सुधारिने उल्लेख छ । कोरोना भाइरसको उत्पत्ति भएको छिमेकी चीनको अर्थतन्त्रमा पनि सुधार आउन थालेको छ ।
कोभिडलाई चिर्दै विश्व अर्थतन्त्र विस्तारै पुरानै लयमा फर्किने प्रतिवेदनहरु सार्वजनिक भइरहँदा नेपालको अर्थतन्त्रले कुन गति समाउला भन्ने अझै निक्र्यौल भइसकेको छैन ।
कोरोना महामारीबाटै तङ्ग्रिन नसकेको अर्थतन्त्रलाई राजनीतिक अस्थिरताले पुनः थिचेको छ । विश्वका कैयौं मुलुकले अर्थतन्त्रलाई लयमा फर्काउन खर्बौं डलरबराबरको राहत प्याकेज ल्याएका छन् । माग बढाउन राज्यले नगद नै प्रवाह गरेपछि विभिन्न संस्थाले गरेको अध्ययनमा अर्थतन्त्र पुरानै लयमा फर्किने अवस्था देखिएको छ ।
तर, नेपालमा अहिलेसम्म सरकारले माग बढाउनेतर्फ खर्च गरेको छैन् । अर्थतन्त्रलाई चलायमान बनाउन औद्योगिक विकासका लागि कुनै राहतको प्याकेज ल्याउन त परैको कुरा भयो, राजनीतिक स्थायित्वलाई समेत भत्काएर देशलाई अस्थिरतातर्फ धकेलिएको छ ।
केन्द्रीय तथ्यांक विभाग स्रोतका अनुसार नेपालको अर्थतन्त्र अहिले नै माइनस २ प्रतिशत छ । सरकारको दबाबमा विभागले उक्त तथ्यांकलाई सार्वजनिक गरेको छैन । यसअघि सार्वजनिक गरिएको तथ्यांकअनुसार शून्य दशमलव ६ प्रतिशत मात्रै आर्थिक वृद्धि भएको देखाएको छ ।
यस्तो अवस्थामा नेपालको अर्थतन्त्र झन थेचारिने अवस्था आएको अर्थविद्हरु बताउँछन् । उद्योगी÷व्यवसायीको मनोवल उच्च बनाउन, लगानीको वातावरण सुनिश्चित गर्न, कोरोनाबाट थलिएका उद्योगको पुनरुत्थान गर्न सरकारले ठूलो लगानी गर्नुपर्ने बेलामा देशलाई नै अस्थिरतातर्फ धकेलिएको अवस्था छ । यसले गर्दा नेपालको आर्थिक वृद्धि चालू आर्थिक वर्षमा पनि राम्रो नहुने विज्ञहरु बताउँछन् ।
युरोपमा यो वर्षको तेस्रो त्रैमासिक अवधिमा आइपुग्दा अर्थतन्त्रमा सामान्य सुधार आउन थालेको संकेत देखिएको थियो । त्यसैगरी भारत, रसिया र टर्किको उक्त अवधिको आर्थिक वृद्धिदरमा अपेक्षाभन्दा उन्नत स्तरको सुधार आइसकेको देखिएको थियो ।
अमेरिकामा सम्पन्न राष्ट्रपतिको निर्वाचनमार्फत जो बाइडेन विजयी भएपछि त्यहाँ पनि नयाँ उत्साहहरु देखा पर्न थालेको छ । त्यससँगै कोभिड–१९ को विरुद्धमा नयाँ खोपको विकासको सफलताले समग्र क्षेत्रमा सकारात्मक ऊर्जाहरु थपिन थाल्यो । सन् २०२१ का लागि विश्व अर्थतन्त्रको वृद्धिदर पूर्ववत् अनुमान ४ दशमलव ४ प्रतिशतबाट ४ दशमलव ७ प्रतिशतसम्म पुग्ने अपेक्षा गरिएको छ ।
सन् २०२० भर विश्व अर्थतन्त्र संक्रमणग्रस्त रहे पनि सन् २०२१ को आगमनपूर्व सँघारमा धेरै आशलाग्दा सूचनाहरु प्राप्त भइरहेको छ । यस अर्थमा कोभिड–१९ को महामारीबाट विश्व अर्थतन्त्र लामो समय मन्दीमा जानसक्ने अनुमानविपरीत त्यसभन्दा केही छोटो समयमा नै पुनरुत्थान भइसक्ने संकेतहरु देखिन थालेको छ ।
अर्थशास्त्री डा. पोषराज पाण्डेका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को अनुमानअनुसार विश्वको वास्तविक कुल उत्पादन (रियल जीडीपी) सन् २०२१ म ५ दशमलव २ प्रतिशत पुग्नेछ । चीनले प्रकोपका लागि गरेको नियन्त्रणका सख्त उपायहरू माथिको सफलता र भारतले प्रक्षेपण गरेको ८ दशमलव ८ प्रतिशतको वृद्धि नै समग्र वृद्धिदरका आधार हुने देखाइएको छ ।
भारतमा साना तथा मझौला व्यवसायीहरूको संख्यामा आएको व्यापक वृद्धिले आर्थिक वृद्धिदर उत्साहजनक हुने देखिन्छ । मुद्रा कोषले सन् २०२१ मा विश्व अर्थतन्त्रको पुनरुत्थानले तीनओटा चरण पार गर्नेछ । सार्वजनिक स्वास्थ्यमा हुने सुधार, खोपको सफलता र घरेलु उत्पादनमा हुने वृद्धि पहिलो चरणको अवस्था हुने बताइएको छ ।
त्यसैगरी पर्यटकको आवागमन र विप्रेषणको अवस्था पूर्ववत् रूपमा फर्कनु दोस्रो चरणको पुनरुत्थान मानिएको छ । पुँजीको स्वतन्त्र प्रवाह र वित्तीय बजारमा थप लगानीयोग्य पुँजीको उत्सर्जन पुनरुत्थानको अन्तिम अवस्था भनिएको छ । आईएमएफले केही विषयलाई भने पुनरुत्थानका लागि अनिवार्य शर्तका रूपमा विश्लेषण गरेको छ ।
यी सबै तथ्यलाई हेर्दा विश्वको अर्थतन्त्रले गति समातेको देखिएको भए पनि नेपालमा महामारीले थिल्थिलो बनाएको अर्थतन्त्रलाई राजनीतिक अस्थिरताले झनै गाँजेको अर्थविद् पाण्डेको विश्लेषण छ ।