काठमाडौं । एनआईसी एसिया बैंकले एक घण्टाभित्र कर्जा तिर्न ताकेता गरेपछि ऋणीले बैंकको केन्द्रीय कार्यालयमा घेराउ गरेका छन् ।
बैंकले ऋणीलाई एक घण्टाभित्र ऋण तिर्न दबाब दिएपछि उनीहरुले केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका हुन् । नियमसंगत लिएको ऋण पनि बैंकले तिर्न ताकेता गरेकाले बैंकको केन्द्रीय कार्यालय घेराउ गर्न गएको एक ऋणीले क्यापिटल नेपाललाई बताए ।
नियमअनुसार बैंकका ब्याज तिरेको छ । साँवा पनि समयमै बुझाइको छ । तर, बैंकमा राखिएको धितो आकर्षक ठाउँको रहेको र सोही धितो हडप्ने नियतले एक घण्टाभित्र ऋण तिर्न दबाब दिएको ती ऋणीको भनाइ छ ।
बैंकले सुरुमा सस्तो ब्याजमा ऋण दिने तर, बीचमै तिर्न ताकेता गरेको उजुरी केन्द्रीय बैंकमा दिँदा पनि नियामकले कुनै चासो नदिएको ती अधिकारीको भनाइ छ ।
केन्द्रीय बैंकले ऋणीलाई कालोसूचीमा नराख्न निर्देशन जारी गरे पनि एनआईसी एसियाले धमाधम ऋणीको नाम पत्रिकामा प्रकाशित गरिरहेकाे छ । कोभिडबाट थलिएका व्यवसायीलाई राहत दिनको सट्टा पत्रिकामा सूचना निकालेर सम्पत्ति हडप्न बैंक लागिपरेको ऋणीहरु बताउँछन् ।
एनआईसी एसिया बैंकले पछिल्ला केही दिनयता ऋणीलाई अनावश्यक दबाब दिएर ऋण तिर्न ताकेता गरिरहेको छ । नियमसंगत ऋणको ब्याज तथा साँवा भुक्तानी गर्दा पनि बैंकले नछाडेको ऋणीको भनाई छ । समय अगावै ऋण तिर्न भनेपछि व्यवसायीले नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एसोसियनमा उजुरी दिँदैछन् ।
यस विषयमा बुझ्न सम्पर्क गर्दा बैंकका सूचना अधिकृत अर्जुनराज खनियाँले मोवाइल उठाएनन् ।