काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट थलिएका व्यवसायीको जायजेथा हडप्ने नियतले एनआईसी एसिया बैंक अघि बढेको देखिएको छ । कोरोना भाइरसले व्यवसाय नै प्रभावित भइरहेका बेला आफ्ना ऋणीलाई संरक्षणको गर्नुको साट्टो बैंकले उल्टै उनीहरूको सम्पत्ति हडपेर आफ्नो नाममा गर्न लागिपरेको आरोप व्यवसायीको छ ।
विभिन्न आकर्षक प्याकेज सार्वजनिक गरेर ऋणीलाई आफ्नो बैंकमा आकर्षित गर्ने, ऋण दिने र बीचमै ऋणीलाई कर्जा तिर्न दबाब दिने र तिर्न नसक्ने बित्तिकै सम्पत्ति लिलामीमा लैजाने गरेको गुनासहरु आउन थालेका छन् ।
कोरोना भाइसरबाट व्यवसाय नै नराम्ररी प्रभावित हुँदा पनि केही प्रतिष्ठित उद्योगीले आफ्नो सम्पत्ति बेचेर बैंकको ऋण तिरेका छन् । कोरोना भाइरस नियन्त्रण तथा रोकथाक गर्न भन्दै सरकारले लकडाउन (बन्दाबन्दी) गरेपछि व्यवसाय ठप्प भयो ।
यो पनि हेर्नुहोस
एक घण्टाभित्र ऋण तिर्न भनेपछि व्यवसायीले घेरे एनआईसी एसिया बैंक (भिडियोसहित)
व्यवसाय चल्नै नसकेपछि उनीहरूले बैंकबाट लिएको ऋणको ब्याज बुझाउन नसक्ने अवस्था आयो । तर, त्यस्तो अप्ठ्यारो परिस्थितिमा पनि बैंक आफ्ना ऋणीलाई संरक्षण गर्नुको साट्टो उनीहरूको सम्पत्ति लिलामीका लागि सूचना निकाल्न लागेको थाहा पाएपछि आफूसँग भएको सम्पत्ति बेचेर एनआईसी एसियाको ऋण चुक्ता गरेको ती उद्योगीले बताए ।
नियम संगत रूपमा ऋण लिएको हो । नियम संगत नै ऋणको ब्याज तथा सावाँ तिरिरहँदा पनि ऋण तिर्न ताकेता सहितको पत्र पठाउने गरेको छ । कतिपय अवस्थामा त जुन सम्पत्ति धितो राखेर ऋण लिएको छ, त्यसलाई छाडेर तपाईंको घर कुन ठाउँ छ ? त्यो लिलामी गर्नका लागि आउनुपर्यो भन्ने सम्मका फोन आउने गरेको एक व्यवसायीले बताए ।
‘केही दिनअघि एनआईसी एसियाको कार्यालयबाट फोन आयो । बैंकबाट फोन गर्ने मान्छेले तपाईंको घर कुन ठाउँमा छ ? भनेर सोध्यो । मैले किन भनेर जवाफ फर्काए । तपाईंको घर लिलामीका लागि हाम्रो बैंकबाट मान्छे आउँदै छ भन्ने बैंकबाट फोन गर्ने व्यक्तिले जवाफ दिए ।
तर, मैले मेरो घरको ठेगाना दिइन’ एक ऋणीले क्यापिटल नेपालसँग भने, ‘केन्द्रीय बैंकले ऋणीलाई असारसम्म कालोसूचीमा नराख्न निर्देशन जारी गरेको छ । तर, एनआईसी एसियाले गलत नियतबाट सम्पत्ति हडप्ने दाउमा लागेको देखिएको छ ।’
एनआईसी एसियाको यस्ता गतिविधिहरुलाई केन्द्रीय बैंकले पनि मौन रूपमा समर्थन गरेको ती ऋणीले आरोप लगाए । ‘हामीले बारम्बार यस विषयमा केन्द्रीय बैंकलाई लिखित तथा मौखिक जानकारी गराएका छौं,’ ती ऋणीले भने, ‘तर, केन्द्रीय बैंकले एनआईसी एसियासंग बसेर समस्या समाधान गर्नुस्, भन्दै फर्काउने गरेको आरोप व्यवसायीको छ ।’
‘एनआईसी एसिया सञ्चालक र व्यवस्थापनको मुख्य उद्देश्य भनेकै सुरुमा ऋण दिने र पछि धितो राखेको जग्गा लिलामीमा कसरी लैजान सकिन्छ भन्ने हो,’ वीरगन्जका एक उद्योगीले भने, ‘सस्तो ब्याज देखेर ऋण लियो । लिएको एक महिनामा सम्पूर्ण कर्जा चुक्ता गर्न पत्र आउँछ । रातारात त्यत्रो पैसा कहाँबाट चुक्ता गर्नु ? पछि बैंकले सूचना निकाल्छ र सम्पत्ति आफ्नो नाममा पार्छ ।’