काठमाडौं । कुनै व्यक्तिले आफ्नो जीवनयापन गर्न घरजग्गा अनिवार्य छ । बिलासी र आनन्ददायी जीवन जीउन घर तथा जग्गा खरिद गर्ने तथा बेच्ने कार्य पनि भइरहेको हुन्छ ।
घरजग्गा किन्ने र बेच्नेबीच भएको सहमतिलाई बैधानिकता दिने प्रक्रियामा दुवै पक्षलाई धेरै किसिमका कागजात तयार पार्नुपर्ने हुन्छ । घरजग्गा किनबेच गर्दा कहिलेकाहीँ के–कस्ता कागजात तथा विवरण चाहिने हो भन्ने कुरा धेरैलाई जानकारी नहुन सक्छ ।
यस्ता कागजात सूची र ती प्राप्त गर्ने तरिका थाहा नहुँदा अधिकांश मानिस धेरै पटक मालपोत कार्यालयमा धाउनुपर्ने हुन्छ । त्यतिमात्र होइन्, घरजग्गा किन्ने वा बेच्नेलाई नै कानुनी झन्झट, अनावश्यक दुःख र समय बर्बाद हुनसक्छ । त्यसैले, जग्गा रजिष्ट्रेसन पास गर्दा आवश्यक पर्ने कागजात र ती प्राप्त गर्ने तरिकाबारे यहाँ प्रस्तुत गरेका छौं ।
सक्कल जग्गाधनी प्रमाण पुर्जा
घरजग्गा रजिष्ट्रेसन पास गर्दा किनबेच गर्न लागिएको जग्गाधनी प्रमाण पुर्जा अर्थात् लालपुर्जाको सक्कल र फोटोकपी चाहिन्छ । जग्गाको विवरण हेर्न तथा फाइलमा प्रमाणका रूपमा संलग्न गर्न फोटोकपी भए पनि हुन्छ । यो जग्गा बिक्रीकर्तासँग हुने भएकाले जग्गा पास गर्ने दिन बिक्रेतालाई सक्कली पुर्जा नै ल्याउन अनुरोध गर्नुपर्छ ।
मालपोत कर तिरेको रसिद
घरजग्गा पास गर्दा मालपोतमा कर तिरेको रसिदको फोटोकपी तथा घर समेत भए घरको कर तिरेको कर चुक्ता प्रमाणपत्रको फोटोकपी तथा सक्कलसमेत ल्याउनुपर्छ । हाल यस्तो कर महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाहरूको वडा कार्यालयहरूमा तिर्ने गरिन्छ ।
किन्ने बेच्नेको नागरिकताको सक्कल तथा फोटोकपी
घरजग्गा किन्ने तथा बेच्नेको नागरिकताको प्रमाणपत्र सक्कल तथा फोटोकपी साथमा हुनुपर्छ । फोटोकपीमा सम्बन्धित व्यक्तिले हस्ताक्षर गरी फाइलमा समावेश गर्नुपर्छ भने मालपोत अधिकृत वा कर्मचारीले सम्बन्धित व्यक्ति हो कि होइन भनी सनाखत गर्ने बेलामा आफंै उपस्थित भई नागरिकताको सक्कल फोटोकपी देखाउनुपर्छ ।
घरमा जानेबाटो तथा चार किल्ला सिफारिस
तपाईंले किन्ने वा बेच्ने जग्गाको वरिपरि जग्गा कच्ची, पक्की तथा कति चौडाइकोे बाटोमा रहेको जग्गा हो । त्यहाँ घर छ कि छैन त्यसको चार किल्लामा क–कसको कस्तो जग्गा वा घर छ आदि कुरा खुलाएर सम्बन्धित वडा कार्यालयले सिफारिस दिने गर्छ । जुन सिफारिस जग्गा बिक्रेताले ल्याउनुपर्छ । नियमानुसारको शुल्क लिएर वडा कार्यालयले उक्त सिफारिस उपलब्ध गराउँछन् ।
राजीनामाको लिखत
घर जग्गा पास गर्दा राजीनामाको लिखत पनि आवश्यक छ । घरजग्गाकोे थैली कति राखिएको छ जग्गाको कित्ता नम्बर, क्षेत्रफल, जग्गा रहेको वडा, नक्सा सिट नम्बर, मोठ, पाना नम्बर लगायतका कुरा लिखतमा उल्लेख गर्ने भएकाले पहिलाको लिखतको सक्कल तथा फोटोकपीसमेत आवश्यक पर्छ । सोही बमोजिमको विवरण हुबहू हेरी फरक नपर्ने गरी सरकारी मूल्यांकन तथा चलनचल्तीको बजार मूल्यलाई समेत मध्यनजर गरी खरिदकर्ता र बिक्रीकर्ताको सहमतिमा किन्ने व्यक्तिको नाममा नयाँ लिखत तयार गर्नुपर्छ ।
यदि कम्पनीको हक भए, यी कागजात चाहिन्छ
कुनै घरजग्गाको स्वामित्व कम्पनीको नाममा छ भने त्यो पास गर्दा केही कागजात आवश्यक पर्छ । क्रेता कुनै कम्पनी हो भने त्यस्तो हकमा माथि उल्लेख गरिएका बाहेक केही अतिरिक्त कागजातसमेत आवश्यक पर्छ । पहिलो कागजात हो कम्पनीको प्रबन्धपत्र । जसमा कम्पनीले घरजग्गा खरिद गर्न पाउने व्यवस्था उल्लेख भएको हुनुपर्छ, यदि त्यस्तो व्यवस्था छैन भने संशोधन गरी त्यस्तो व्यवस्था कायम गराउनुपर्छ ।
यस्तै कम्पनी नियमावली, चालू आर्थिक वर्षसम्मको कर चुक्ता, खरिद बिक्रीसम्बन्धी सञ्चालक समितिको निर्णयको माइन्युट, कम्पनी दर्ताको प्रमाणपत्र, कम्पनी प्यान/भ्याट दर्ताको प्रतिलिपि, सञ्चालकहरूको नागरिकताको प्रतिलिपि र सञ्चालकहरूको सेयर लगत एवं मालपोत कार्यालयमा रजिष्ट्रेसन पास गर्ने प्रयोजनका लागि सम्बन्धित व्यक्तिलाई अख्तियारी दिइएको पत्र लगायतका कागजात आवश्यक पर्छन् ।
उल्लेखित कागजात तथा विवरण जुटाएपछि मात्र घरजग्गा रजिष्ट्रेसन पास गर्नका लागि कुनै समस्या पर्दैन ।