काठमाडौं । जुन व्यवसाय गर्न ऋण लिइन्छ, त्यही व्यवसायबाट आम्दानी गरेर त्यो कर्जाको सावाँ र ब्याज भुक्तानी गरिन्छ । बैंकले पनि त्यही व्यावसायिक योजनाकै आधारमा ऋण प्रवाह गर्छ ।
ऋण लिनुअघि ऋणीले पेश गरेको व्यावसायिक योजनालाई अध्ययन गरेर बैंकले ऋण दिन्छ । ऋणीले पेस गरेको योजना मुताविक ऋणको सावाँ ब्याज भुक्तानी गर्न सक्छ कि सक्दैन भन्ने सूक्ष्म विश्लेषण गरेर ऋण दिन्छ ।
तर, कोरोनाको महामारीपछि केही व्यवसायीले आफ्नो व्यावसायिक योजना अनुरुप व्यवसायलाई अघि बढाउनै नसकेपछि आफूसँग भएको जग्गा र सेयर बेचेर ऋण तिर्ने तयारीमा छन् । सेयर बेचेर ऋण तिर्नेमा ठूला व्यावसायिक घरना रहेका छन् ।
कोरोना महामारीले विश्व अर्थतन्त्र चौपट भयो । विश्वका कैयौं मुलुकले व्यवसायीलाई महामारीबाट जोगाइराख्न ठूलो राहतको प्याकेज ल्याए । तर, नेपालले ठोस राहतको प्याकेज नल्याउँदा व्यवसायीले आफूसँग भएको जग्गा तथा सेयर बेचेर बैंकको ऋणको ब्याज तथा सावाँ तिर्ने तयारी थालेका छन् ।
‘व्यवसायका लागि लिएको ऋणले आफैंलाई सिध्याउँला जस्तो भइसक्यो,’ एक उद्योगपतिले क्यापिटल नेपालसँग भने, ‘व्यवसायबाट हुने आम्दानी हेरेर निद्रा लाग्न छाडेको छ । ऋणको ब्याजको मिटर दौडिएको देख्दा अत्यास लागेकाले भएको जग्गा बेचेर ऋण तिर्न आँटेको हुँ ।’
विगत ९ महिनादेखि व्यापार शून्य प्रायः छ । ९ महिनासम्म जेनतेन थेगेँ । अब नसक्ने अवस्था भएपछि अन्तिम विकल्पका रूपमा जग्गा र सेयर बेचेर ऋणबाट मुक्त हुन खोजेको ती उद्योगीले बताए ।
‘अहिलेको व्यवसायबाट भइरहेको आम्दानीले प्रशासनिक खर्चसमेत धान्न सकेको छैन । बैंकको ब्याज नतिरेको ९ महिना भइसक्यो । कति समयसम्म बैंकले समय दिन्छ ?’ ती उद्योगीले भने, ‘ब्याज तिर्न नसक्नु भनेको पनि ऋण थपिनु हो । जति ऋण थप्दै गयो, उति भोलिलाई अप्ठ्यारो पर्ने देखेकाले भएको जग्गा बेचेर ऋण घटाउने सोच बनाएको हो ।’
कोरोना भाइरसको सबैभन्दा ठूलो असर चलचित्र, यातायात, एयरलाइन्स, होटललगायतका क्षेत्र पर्यो । उनीहरूले अहिलेसम्म बैंकको ब्याज तिर्न सकेका छैनन् । त्यही भएर केही व्यवसायीले जग्गा त केही व्यवसायीले सेयर बेचेर ऋण तिर्ने योजना बनाएका हुन् ।
सरकारले कोरोनाबाट अति प्रभावितको सूचीमा होटल, हवाईक्षेत्र, यातायातलगायतलाई राखे पनि त्यस्ता व्यवसायीलाई बचाउन कुनै पनि राहतको प्याकेज नल्याएको उनीहरूको गुनासो छ । पटक–पटक सरकारलाई आफ्नो वास्तविकता सुनाउँदा पनि केही नभएपछि आफूसँग भएको जायजेथा बेच्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ ।
‘सबैसँग जायजेथा हुन्छ भन्ने पनि छैन,’ उनले भने, ‘हुनेले जायजेथा बेचेर भए पनि इज्जत बचाउलान । नहुनेले ऋण तिर्न सक्दैनन् । बैंकले सूचना निकाल्छ । उनीहरूको सम्पत्ति लिलाम गर्छ । अरू के विकल्प छ र ?’ नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म ६१ अर्ब ३० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ ।